कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

हिमाली जिल्लाहरूमा हवाई उडान ठप्प

हिमाली जिल्लाहरूमा हवाई उडान ठप्प

Highlights

  • खराब मौसम र प्राधिकरणको नयाँ व्यवस्थाले यात्रुलाई सास्ती, डोल्पामा १७ दिन र मुगुमा ५ दिनदेखि जहाज उडेका छैनन्

सुर्खेत,मुगु — हिमाली जिल्ला डोल्पा र मुगुमा हवाई उडान ठप्प भएका छन् । डोल्पामा १७ दिन र मुगुमा ५ दिनदेखि उडान बन्द भएका हुन् । खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नयाँ व्यवस्थाले उडान प्रभावित भएको छ । ‘बिहान यहाँ कहिल्यै मौसम खुल्दैन, दिउँसो साढे १२ बजेपछि आन्तरिक उडान बन्द गर्न प्राधिकरणले निर्देशन गरेको छ,’ स्थानीय गोविन्द शाहीले भने, ‘हामीलाई त जहाज चढ्दै मुस्किल भयो ।’

डोल्पामा समिट एयरलाइन्सले सोमबारबाहेक ६ दिन, तारा एयरलाइन्सले ३ दिन र नेपाल एयरलाइन्सले २ दिन नियमित उडान गर्दै आएका थिए । मुगुस्थित रारा विमानस्थलमा पनि नियमित उडान हुँदै आएका थिए । मनसुन सिजनमा हवाई दुर्घटना न्यूनीकरण गर्न साउन दोस्रो सातादेखि साढे १२ बजेपछि आन्तरिक उडान नगर्न प्राधिकरणले जहाज कम्पनीलाई निर्देशन दिएको हो । जसका कारण हिमाली जिल्लामा उडान हुन मुस्किल भएको छ ।

‘अहिले दिनहुँजसो वर्षा भइरहेको छ, बिहान त कहिल्यै मौसम सफा हुँदैन,’ रारा विमानस्थल प्रमुख रुमन भट्टराईले भने, ‘जब मौसम खुल्छ, प्राधिकरणको नयाँ व्यवस्थाले समस्या भयो ।’ उनका अनुसार यसअघि रारा विमानस्थलमा दैनिक ५ वटासम्म उडान हुने गरेका थिए । उडान ठप्प भएपछि रारा घुम्न आउने आन्तरिक पर्यटक, जरुरी कामका लागि बाहिर जानेहरू र बिरामी बढी समस्यामा परेको उनको भनाइ छ । उनका अनुसार दैनिक करिब ५० यात्रु विमानस्थलमा आउने गरे पनि उडान नभएपछि निराश हुँदै फर्किने गरेका छन् ।

वर्षाका कारण सडक यात्रा जोखिमपूर्ण हुँदा हवाई यात्राको भर पर्नुपरेको स्थानीय स्वास्थ्यकर्मी कल्पना बुढाले बताइन् । उनी लोक सेवा आयोगको परीक्षा दिन सुर्खेत जान लागेकी हुन् । ‘जहाज कुर्दाकुर्दै ५ दिन बितिसक्यो, अब ५ दिनमा सुर्खेत पुगिएन भने परीक्षा नै छुट्छ,’ उनले भनिन्, ‘बिहान नेपालगन्ज र सुर्खेतमा मौसम खुल्दा यहाँ खुल्दैन, यता खुल्दा उता खुल्दैन, त्यसमा पनि १२ बजेपछि उडान नहुने रहेछ ।’

प्राधिकरणको नयाँ नियमले रारा आउने झन्डै ५० यात्रु नेपालगन्ज र काठमाडौंमा रोकिएको पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए । ‘पर्यटकको फ्लाइट दिनदिनै क्यान्सिल भइरहेको छ,’ उनले भने, ‘रारा घुम्ने उपयुक्त सिजनमै जहाज नचल्दा सबैलाई सास्ती भयो ।’

‘सडक सञ्जाल नजोडिएकाले यहाँ त एक दिन उडान नभए पनि ठूलो असर पर्छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले भने, ‘खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानीमा जहाजकै भर छ ।’ उनका अनुसार प्राधिकरणको नयाँ व्यवस्थाले २ साताअघिसम्म दैनिक कम्तीमा ५ वटा उडान हुने सिमकोट विमानस्थलमा मौसम खुला भए पनि दिनमा एउटा जहाजले एक वटाभन्दा बढी उडान गर्न सक्ने अवस्था छैन । ‘बिहान कहिल्यै मौसम खुल्दैन, मौसम खुले पनि १२ बजेपछि उडान रोकिएको छ,’ उनले भने, ‘पर्याप्त उडान नहुँदा दैनिक ५० भन्दा बढी यात्रु अलपत्र परिरहेका छन् ।’ उनले हुम्लाका लागि आपत्कालीन उद्धार, खाद्यान्न, औषधि, निर्माण सामग्रीको ढुवानीलगायतमा हवाई सेवाको विकल्प नभएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय सिमकोटमा अहिले १ हजार ७ सय क्विन्टल चामल मात्र मौज्दात छ । त्यो चामल आपत्कालीन अवस्थाका लागि राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार हुम्लाका सर्केघाट, श्रीनगर, खार्पुनाथ, देउली, छर्पेला र बालुकन डिपो तथा बिक्री केन्द्रहरू पनि चामल अभावले रित्तिएका छन् ।

प्राधिकरणको नयाँ नियमअनुसार हेलिकोप्टरलाई पनि साढे १२ बजेपछि उडान नगर्न निर्देशन दिएको छ । प्राधिकरणले आफ्नो कमजोरी ढाकछोप गर्न हेलिकोप्टरलाई पनि जहाजकै जस्तो नियम बनाइदिएको एक हेलिकोप्टर व्यवसायीले बताए । ‘अब उद्धारमा जान, विकास निर्माण सामग्री ढुवानी गर्न र चार्टर उडान गर्न समस्या भएको छ,’ उनले भने, ‘नियामक निकायले हामीसँग समन्वय नै नगरी व्यवसाय नै धरापमा पर्ने सिर्जना गर्‍यो ।’ उनले यस विषयमा प्राधिकरणको ध्यानाकर्षण गराए पनि बेवास्ता भएको बताए ।

खराब मौसमका कारण हुन सक्ने हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न प्राधिकरणले कर्णालीसहितका २९ वटा विमानस्थलमा जुलाईदेखि सेप्टेम्बरसम्म दिउँसो साढे १२ बजेपछि व्यावसायिक र चार्टर उडान गर्न नपाइने नियम लागू गरेको सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजनराज ढुंगेलले बताए । उनका अनुसार बढ्दो हवाई दुर्घटना रोक्न प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

प्रकाशित : श्रावण २५, २०८० ०७:५८
×