२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा ५३ को मृत्यु

एजेन्सी

इस्लामाबाद — पाकिस्तानको बलुचिस्तानमा शुक्रबार भएको बम विस्फोटमा प्रहरी अधिकारीसहित ५३ जनाको मृत्यु भएको छ । पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार बलुचिस्तानको मस्तुङ जिल्लामा विस्फोट भएको हो ।

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा ५३ को मृत्यु

घटनामा डीएसपी नवाज गसगुरीको समेत मृत्यु भएको छ, करिब ५० जना घाइते भएका छन् । प्रहरी अधिकारीले आत्मघाती बम विस्फोट भएको आशंका गरेका छन् ।

जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रसिद शाहीका अनुसार अल फलाह रोडस्थित मदिना मस्जिदमा धार्मिक कार्यक्रमका लागि स्थानीय जम्मा भएको समयमा विस्फोट भएको हो । मस्जिद नजिक स्थानीय बासिन्दा इद उल मिलादको उत्सव मनाउने र जुलुस निकाल्ने तयारीमा थिए । डीआईजी मुनिर अहमदका अनुसार आक्रमणकारीले प्रहरीको सवारीनजिक विस्फोट गरेका थिए । सहिद नबाब गौस बख्स रायसानी मेमोरियल अस्पतालका प्रमुख कार्यकारी डा. सइद मिरवानीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए । उनका अनुसार २० भन्दा बढी घाइतेलाई थप उपचारका लागि क्वेटा रेफर गरिएको छ ।

हालसम्म घटनाको कसैले जिम्मेवारी लिएका छैनन् । पाकिस्तानका गृहमन्त्री सरफराज बुग्तीले घटनाको निन्दा गरेका छन् भने बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मिर अली मर्दन खान डोमकीले घटनाको जाँच गर्न आदेश दिएका छन् । ‘घटनामा संलग्न जोसुकै भए पनि दयाका पात्र हुने छैनन् । शान्तिपूर्ण जुलुसलाई निसाना बनाउनेविरुद्ध कडा कदम चालिनेछ,’ उनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, शुक्रबार नै पाकिस्तानको खैबर पख्तुनख्वाको हंगुस्थित दोआबा प्रहरी स्टेसनमा दुईवटा विस्फोट हुँदा एक प्रहरी अधिकारीसहित कम्तीमा ५ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् ।

पहिलो विस्फोट प्रहरी स्टेसनको प्रवेशद्वारमा भएको जिल्ला प्रहरी अधिकारी निसार अहमदले बताए । त्यसपछि घटनास्थलमा स्थानीय जम्मा भएका थिए । लगत्तै प्रहरी स्टेसनको परिसरस्थित मस्जिदमा अर्को विस्फोट भएको थियो ।

पाकिस्तानमा आगामी जनवरीको अन्तिम साता चुनाव हुने घोषणा गरिएको छ । त्यसअघि विस्फोट, सुरक्षाकर्मीमाथि आक्रमण र झडपका घटना बढिरहेका छन् । यस महिनाको सुरुवातमै मस्तुङमा भएको विस्फोटमा जमायत उलेमा–ए–इस्लाम पार्टीका नेता हाफिज हम्दुल्लाहलगायत ११ जना घाइते भएका थिए । गत मेमा उक्त जिल्लामै पोलियो खोप कार्यक्रममा सहभागी टिममाथि अज्ञात समूहले आक्रमण गरेको थियो, जसमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

यस्तै, गत वर्षको अक्टोबरमा पनि उक्त जिल्लाको पहाडी क्षेत्र काबुमा विस्फोट हुँदा ३ जनाको मृत्यु र ६ जना घाइते भएका थिए । सोही जिल्लामा सन् २०१८ जुलाईमा आत्मघाती बम विस्फोटमा बलुचिस्तानी अवामी पार्टी (बीएपी) का नेता नबाबजादा सिराज रायसानीसहित १ सय २८ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए ।

प्रकाशित : आश्विन १२, २०८० १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?