कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

भाद्र २६, २०८१
पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

विराटनगर — कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न ९ बुँदे माग राख्दै मंगलबारदेखि सुरु गरेको अनशन बुधबार राति तोडेका छन् । 

कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनशन तोडिएको हो । सहमतिअनुसार कार्कीका अनशनप्रति प्रदेश सरकारले गम्भीर ध्नाकर्षण भएको जनाउँदै जायज मागहरु पूरा गर्ने र कतिपय माग प्रदेश सरकारको आर्थिक वर्ष २०८१/२०८२ को बजेटमा उल्लेख गरी रकमसमेत विनियोजन भइसकेको र कार्यान्वयनको तहमा रहेको उल्लेख छ । सम्बोधन हुन नसकेका मागहरुलाई सरकारले पूरा गर्ने जनाएको छ ।

नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापा, नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ, नेपाल कांग्रेस मोरङका कार्यवहाक सभापति भक्तिनाथ माझी लगायतको रोहवरमा भएको सहमतिपछि कार्कीले अनशन तोडेका हुन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा कार्यक्रम बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घ्यू तथा धोलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी मोरङ केशलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायतका जनप्रिय कार्यक्रम घोषणा गरेका थिए । तर, गत वैशाखमा सत्ता परिवर्तन भएपछि कार्यक्रम कटौती भएको भन्दै आमरण अनशन सुरु गरेका थिए ।

विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि अपराह्न अनशनमा वसेका उनलाई राति नै प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएको थियो । तर, कार्कीले पुनः देवकोटा चोकमा राति नै अनशन जारी राखेका थिए ।


प्रकाशित : भाद्र २६, २०८१ २१:५०
×