कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

पूर्वी नाकामा चार वर्षपछि हट्यो तेस्रो देशका पर्यटकमाथिको अवरोध 

श्रावण २२, २०८१
पूर्वी नाकामा चार वर्षपछि हट्यो तेस्रो देशका पर्यटकमाथिको अवरोध 

विराटगनर — भारतले करिब चार वर्षपछि पूर्वी नाकाबाट तेस्रो देशका पर्यटकलाई निर्बाध आवागमनका लागि अनुमति खुला गरेको छ । कोभिड महामारीपछि सन् २०२० मा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको बेलादेखि तेस्रो देशका पर्यटकलाई आवागमनमा रोक लगाइएको थियो ।

केही दिनअघिसम्म जारी यो अवरोध अगस्ट १ बाट भारतले हटाएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहनलाल पनेरुले जानकारी दिए । अब तेस्रो देशका पर्यटक आउन नाकामा कुनै समस्या नभएको सीमापारि रानीगन्जस्थिति भारतीय अध्यागमन कार्यालयले मौखिक जानकारी गराएको उनले बताए । उनका अनुसार भारतीय अवरोध हटेपछि बंगलादेशी २, बेलायती १, अमेरिकी ३, स्वीजरल्यान्डका ४ र भुटानी १७ पर्यटक पूर्वी नाकाबाटै प्रवेश गरिसकेका छन् । नर्वेका २, जापानी, स्वीजरल्यान्ड र बेलायती १/१ र २३ जना भुटानी यही नाका प्रयोग गरेर बाहिरिएका छन् ।

यसअघि भारतीय अध्यागमन कार्यालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी तथा भुटानीबाहेकलाई ‘इन्ट्री भिसा’ दिएको थिएन । जसका कारण नेपाल आउन चाहने र नेपालबाट बाहिरिन चाहने हजारौं पर्यटकले सकस ब्यहोर्नु परेको थियो ।

झापा ट्राभल एजेन्ट संघका अध्यक्ष नेत्र कार्कीका अनुसार लामो समयदेखिको नाकाको यो जटिलताका कारण पर्यटकहरुले त सास्ती भोगे नै, सँगै सीमावर्ती क्षेत्रको व्यवसायमा समेत असर परेको दाबी गरे । उनका अनुसार केही समयअघि एक अमेरिकी पर्यटक दार्जिलिङ जान भनी पूर्वी नाका आएका थिए । काठमाडौं हुँदै आएका उनले नजिकैको अध्यागमन कार्यालय पुगेपछि मात्रै थाहा पाए तेस्रो देशका पर्यटकलाई भारतले ‘इन्ट्री’ नदिने कुरा । अन्ततः उनी फर्किएर काठमाडौं पुगे ।

दार्जिलिङ पुग्नै पर्ने कामले गर्दा उनी काठमाडौंबाट कोलकाता हुँदै दार्जिलिङ पुग्नु पर्ने बाध्यता भयो । नाकामा भारतले गरेको त्यो अवरोधबाट उनले अनावश्यक सास्तीमात्रै भोग्नु भोगेनन्, आर्थिक क्षति पनि ब्यहोरे । ‘भारतीय अवरोध हटेपछि अब सीमा क्षेत्रको पर्यटक व्यवसाय पुनः जुर्मुराउने छ,’ ट्राभल व्यवसायी कार्कीले भने, ‘तेस्रो देशका पर्यटक आउन थालेपछि कोभिडअघिको अवस्थामा देश जाने कुरामा हामी ढुक्क छौं ।’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मीमबहादुर लामाले कोभिडअघि भारतले तेस्रो देशका पर्यटकमाथि गरेको अवरोध हटेको बताए । ‘भारतको भिसा लागेका पर्यटकलाई आउन दिने र नेपालको भिसा लागेका तेस्रो देशका पर्यटकलाई निर्बाध जान दिने भारतीय अध्यागमनको निर्देशन छ,’ लामाले भने, ‘यसले पूर्वी नाकामा चहलपहल बढाएको छ ।’ पूर्वी नाकाबाट भारतसहित भुटान, बंगलादेश नजिक पर्छ ।

प्रकाशित : श्रावण २२, २०८१ १८:०१
×