कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

बंगलादेश अन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

श्रावण २१, २०८१

भद्रपुर (झापा) — बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल-बंगलादेश व्यापारमासमेत परेको हो । 

गत असारको अन्तिमबाट ठप्प भएको बंगलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो ।

फेरि आजदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशिय नाका फुलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् । त्यस्तै बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन् ।

'बंगलादेशमा फेरी आन्दोलनले उग्र रुप लिएकाले आयात निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन,' उनले भने ।

पारवहन कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/०८२ मा ११ दिनमा एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ रुपैयाँ मूल्य बराबरको सामग्री निर्यात र २० करोड ६५ लाख ६२ हजार ७३ रुपैयाँको आयात भएको छ ।

मेची भन्सार कार्यालय काकरभिट्टाको तथ्याङ्क अनुसार दाल, जडिबुटि, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रंगरोगनका पदार्थ बंगलादेश निर्यात हुन्छ । यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् ।

आन्दोलन चर्किँदै गएपछि बंगलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।

प्रकाशित : श्रावण २१, २०८१ १६:२२
×