तमोर कोरिडोर निर्माणमा बजेट अभाव

धनकुटा — राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको चतारा–मुलघाट–गणेशचोक सडक (तमोर कोरिडोर)को कालोपत्रे बजेट अभावका कारण प्रभावित भएको छ । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो यो सडक १ सय ५५ किलोमिटर मात्रै छ ।

धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १२ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सुरु भइसकेको छ ।

आयोजना प्रमुख प्रदिप निरौलाका अनुसार पुर्वी पहाडको आर्थिक रणनीतिक महत्वको रुपमा हेरिएको कोरिडोरमा चार अर्ब १६ करोडमा कालोपत्रे गर्न २०७९ कात्तिकमा ठेक्का लागेको थियो । मुलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेवीले २ अर्ब ४० करोडमा र बाँकी खण्ड एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा ठेक्का लिएका छन् ।

कालोपत्रेको काम अघि बढिरहेको उक्त सडकमा मुलघाटदेखि पाँचथरसम्म यातायातका साधन समेत सञ्चालन हुँदै आएका छन् । पूर्वी पहाड र संघीय राजधानी काठमाडौं तथा भारत र चीनसम्म यो सडकले सिधा सम्पर्क जोड्ने हुँदा महत्वको रुपमा लिइएको छ । तर, आवश्यक बजेट विनियोजन हुन नसक्दा राष्ट्रिय गौरवको आयोजनाको निर्माण समेत चुनौतीपूर्ण बनेको छ ।

वर्गीकृत विज्ञापन

काम सकिन २०८२ साल कात्तिकसम्म समयसीमा रहेपनि आवश्यक बजेट विनियोजन हुन नसक्दा कालोपत्रेको काम प्रभावित बन्न सक्ने अवस्थामा पुगेको आयोजना प्रमुख निरौलाले बताए ।

ITPF
Sunrise bank
Nepal Life Insurance

'कम्तिमा २ अर्ब चाहिनेमा ५८ करोड मात्र विनियोजन भयो,' उनले भने, 'निर्माण व्यवसायीलाई २५ करोड भुक्तानी गर्न सकेका छैनौं, आवश्यक बजेट विनियोजन नभए काम अगाडि बढाउन चुनौती देखिएको छ ।'

आयोजनासँग विनियोजित रकम १८ करोड मात्र बाँकी रहेको उनले बताए । निर्माण व्यवसायीले काम गरेको २५ करोड रकम तिर्न बाँकी छ भने निर्माण व्यवसायीलाई काम गरिसकेको रकम भुक्तानी गर्न कठिनाई भएको जनाउँदै आयोजनाले सरकारसँग १ अर्ब २० करोड माग गरेको छ । तर, अर्थ मन्त्रालयले आवश्यक बजेट उपलब्ध गराउन नसकेको सम्बन्धित पक्षको गुनासो छ ।

उता निर्माण व्यवसायीले समेत आवश्यक बजेट उपलब्ध नभए कालोपत्रे कार्य प्रभावित बन्ने चेतावनी दिएका छन् । आवश्यक नगराए काम प्रभावित बन्न सक्ने निर्माण कम्पनि रौता क्षमादेवी जेवीका अजन दाहालले बताए ।

'काम अघि बढाउन बजेटले नै मुख्य रहन्छ,' उनले भने, 'यस्तो जटिल अवस्था आए काम रोकिने सम्भावना पनि हुन सक्छ ।' कालोपत्रे कार्य सुरु भएको १३ महिनाको अवधिमा ३३ प्रतिशत प्रगति भएको आयोजनाका सुचना अधिकारी जयराम अधिकारीले बताए ।

सडक निर्माणसँगै त्यस क्षेत्रमा बढ्दो बसाइसराई नियन्त्रण भएको दाबी समेत गरिएको छ । यस्तै, सडकले आर्थिक गतिविधि र बस्ती विस्तार हुनेक्रम बढेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ बताउँछन् ।

२०६५ सालदेखि थालनी गरिएको मुलघाटदेखि सुभाङसम्म ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो । यसैबीच, तमोर कोरिडोरको मुलघाटदेखि पाँचथरको नावा खोलासम्म अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, पत्रकार महासंघ लगायतले सडकको अनुगमन गरेका हुन् । कतिपय खोला तथा खोल्सामा वैकल्पिक पुल तथा आवश्यक संरचना बन्न नसक्दा यातायात साधन जोखिममा रहेको स्थानीयले बताए ।

प्रकाशित : माघ १५, २०८० १८:१३
×