कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

एसियालाई सुन्दर बनाऔं

मंसिर २०, २०८०
एसियालाई सुन्दर बनाऔं

सन् २०१३ मा एसियाको जटिल एवं परिवर्तनशील वातावरण र विभिन्न देशको अपेक्षालाई मनन गरी चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी देशहरूसँगको आत्मीय, इमानदार, उपकारी र समावेशी चिनियाँ कूटनीतिक अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

१० वर्षयता चीन यस महत्त्वपूर्ण अवधारणालाई व्यवहारमा उतार्न लागिपरेको छ र यसैका आधारमा छिमेकी देशहरूसँग मैत्रीपूर्ण सहयोगी सम्बन्ध विकास गर्दै गएको छ । फलस्वरूप दुई पक्षबीच राजनीतिक विश्वास निरन्तर रूपमा बढ्दै गएको छ, आपसी हित हुने समन्वयात्मक सम्बन्ध गहिरिँदै गएको छ । छिमेकी देशहरूबीच सुमधुर सम्बन्ध विकास हुनुका साथै सहयोग र द्विपक्षीय जितको वातावरण पनि बन्दै गइरहेको छ ।

छिमेकी आत्मीय भयो भने विकासको शक्ति सञ्चय हुन जान्छ । छिमेकी देशहरूसँग असल मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नु चिनियाँ कूटनीतिको पहिलेदेखिको सिद्धान्त हो । १० वर्षयता आपसी सहयोग आदानप्रदानका क्रममा चीनको नेपाललगायतका छिमेकी देशहरूसँग समझदारी अझ बढ्दै गइरहेको छ । आपसी सहयोगमा देश निर्माणका कार्यहरू पनि बढ्दै गएका छन् ।

सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चीन सरकार र चिनियाँ जनताले अविलम्ब ठूलो स्केलमा उद्धार एवं राहत कार्यको सुरुआत गरेका थिए, महाभूकम्पपछिको पुनर्निर्माणमा पनि सहयोग पुर्‍याएका थिए । सन् २०१९ मा कोभिड–१९ को महामारी प्रारम्भ भएपछि चीन र नेपालले एकसाथ मिलेर त्यसविरुद्ध संघर्ष गरी साझा भाग्यको समष्टिको स्पिरिटको जीवन्त व्याख्या गरेका थिए । हालै नेपालको कर्णाली प्रदेशमा शक्तिशाली भूकम्प गएपछि चीन सरकारले नेपाललाई १ करोड ५० लाख चिनियाँ युआन बराबरको मानवतावादी सहयोग तुरुन्तै उपलब्ध गराएको थियो ।

इमानदारीपूर्ण व्यवहार गर्दै रहेमा आपसी सहकार्यको स्तरोन्नति हुने हुन्छ । १० वर्षयता चीनले आफ्नो वचनमा अडिग रही सबैसँग समान व्यवहार गरी छिमेकी देशहरूसँग व्यापक रूपमा सहकर्मी सम्बन्ध स्थापना गर्दै आएको छ । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभएको थियो । त्यस बेलादेखि चीन र नेपालको सम्बन्ध विकास तथा समृद्धितर्फ अघि बढ्ने पुस्तौंपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहयोग सहकर्मी सम्बन्धमा स्तरोन्नति गरिएको थियो ।

हालै प्रधानमन्त्री प्रचण्डले चीनको सफल औपचारिक भ्रमण गर्नुभएको थियो । भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले उहाँसँग हार्दिक भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई देशका नेताहरूले चीन–नेपालको परम्परागत मैत्री, आपसी हित हुने सहकार्य तथा विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे गहन छलफल गर्नुभएको थियो र कतिपय विषयमा सहमति पनि भएको थियो । यसै वर्ष मात्र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य, छोङछिङ सहरका पार्टी सचिव युवान च्या चवीन, स छुवान प्रान्तका पार्टी सचिव वा सियाउ होई, तिब्बत स्वशासित क्षेत्रका पार्टी सचिव वाङ च्विन चङले नेपालको भ्रमण गर्नुभएको थियो । दुई देशका राजनीतिक पार्टी, सरकारी तथा स्थानीय निकायहरूबीच भ्रमण आदानप्रदानले आपसी राजनीतिक विश्वासमा निरन्तर अभिवृद्धि हुँदै गएको छ । अर्काको उपकार हुने कार्यहरूद्वारा सहयोगमा अभिवृद्धि हुने हुन्छ ।

चीनले पहिलेदेखि नै अर्काको उपकार गर्ने सिद्धान्तअनुरूप छिमेकी देशहरूसँग सहकार्य बढाउँदै आएको छ । सन् २०१७ मा नेपालले चीनसँग ‘बीआरआई’ सम्झौतापत्रमा हस्ताक्षर गरेदेखि दुई देशबीचको सहकार्यमा ठोस उपलब्धिहरू भएका छन् । चिनियाँ कम्पनीहरूको सहभागिता भएको उपल्लो मर्स्याङ्दी ए, उपल्लो तामाकोशी, उपल्लो त्रिशूली ३ ए जलविद्युत् गृहबाट विद्युत् उत्पादन भइसकेको छ । उपल्लो त्रिशूली १, सान्जेन खोला जलविद्युत् गृहको निर्माण कार्य चलिरहेको छ ।

चीन–नेपाल सीमावरिपरि अप्टिक फाइबर सञ्जाल निर्माण सम्पन्न भई प्रयोगमा आइसकेको छ । चिनियाँ कम्पनीले ठेक्का लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भई प्रयोगमा आइसकेको छ, वीच्याट पेमेन्टले नेपालमा औपचारिक मान्यता पाएको छ । दुई देशबीचको ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता कार्यान्वयन भएपछि तेस्रो देशबाट आयात गरिएको पहिलो समूहको मालसामान चीनको भूमि हुँदै नेपाल आइपुगेको छ । नेपालको पशु आहार हरियो घाँस पहिलो पटक चीनमा निर्यात गरिएको छ । यस वर्ष जनवरीदेखि अगस्टसम्म नेपालबाट चीनमा गरिएको निर्यात एक वर्षअघि सोही समयावधिको भन्दा ११८.३ प्रतिशतले अभिवृद्धि भएको छ ।

खुलापन र समावेशी नितिले क्षेत्रीय सहकार्यलाई बढाउँछ । १० वर्षयता चीनले हृदय खेलेर क्षेत्रीय सहकार्यलाई अघि बढाइरहेको छ, सच्चा बहुलवादलाई व्यवहारमा उतारिरहेको छ र खुला समावेशी मित्रमण्डलीको निर्माण गरिरहेको छ । चीनले जनशक्ति प्रशिक्षण, गरिबी निवारण, उध्दार कार्य, व्यापार, सांस्कृतिक आदानप्रदान आदि क्षेत्रमा दक्षिण एसियाका विभिन्न देशसँग सहकार्य गर्दै आएको छ ।

चीनले चीन–दक्षिण एसिया एक्स्पो, चीन–दक्षिण एसिया सहयोग फोरम, चीन–दक्षिण एसिया विकास संवाद सामेलन आदि दक्षिण एसियासँग सम्बन्धित फोरमहरूको सिर्जना गरेको छ । चीन र दक्षिण एसियाली देशहरूबीच गरिबी निवारण र विकास सहकार्य केन्द्रहरू सञ्चालन भइसकेका छन् । पहिलो ‘जीवन्त गाउँ’ नमुना परियोजना नेपालमा औपचारीक रूपमा प्रारम्भ गरिएको छ । चीन वैचारिक विकास प्रस्तावनालाई सक्रिय रूपमा कार्यान्वयन गर्न चाहन्छ । त्यस्तै, गरिबी निवारण, आधुनिक कृषि, उद्योग स्तरोन्नति, स्वच्छ ऊर्जा आदि क्षेत्रमा दक्षिण एसियाका देशहरूसँग आपसमा सिक्दै सहयोग उत्पादन शृंखलालाई जनताको सुख–समृद्धिको खुड्किलोका रूपमा विकास गर्न चाहन्छ ।

आजको एसियाको मूलधार शान्ति र विकास हो, एसियाली जनताको मुख्य चाहना विकास र समृद्धि हो । भविष्यमा चीन छिमेकी देशहरूसँगै मैत्रीपूर्ण सहयोग सहकार्यको जगेर्ना गर्दै आत्मीय, इमानदार, उपकारी र समावेशी नीतिको संयुक्त रूपमा प्रचारप्रसार गर्न चाहन्छ र यसमा नयाँ विषयवस्तुहरू थप्दै लगी शान्तिपूर्ण समृद्धिशाली सुन्दर मैत्रीपूर्ण सहअस्तित्वमुक्त एसियाको निर्माण गर्न चाहन्छ ।

-छन नेपालका लागि चीनका राजदूत हुन् ।

प्रकाशित : मंसिर २०, २०८० १०:०६
×