मंगलबार बिहानैदेखि सुरु भएको प्रदर्शन झनै चर्किदै गएको छ । भ्रष्टाचार, बेथिती र अनियमितता विरुद्ध जेन–जी ले सोमबार गरेको प्रदर्शनमा सरकारी दमनमा परी १९ जनाको मृत्यु भएको थियो । सोमबारदेखि सुरु भएको जेन-जी प्रदर्शन कहाँसम्म जाला ? अनि नयाँ विकसित परिस्थिती कस्तो बन्ला ? निरन्तर अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
113 Updates
सिंहदरबार प्रवेश गरेका प्रदर्शनकारीहरुले सिहंदरबारको मुख्य भवनमा आगो लगाएका छन् । भुकम्पका बेला चर्किएको उक्त भवनको पुननिर्माण गरेर प्रयोगमा ल्याइएको थियो ।
यो भवनको इतिहास १ सय १५ वर्षभन्दा पुरानो छ ।
आगलागी तत्काल नियन्त्रणमा आउने सम्भावना देखिदैन् । किनकी त्यहाँ सरकारको उपस्थिती देखिन्न ।
काठमाडौं बाहिरका जिल्लाहरुमा पनि प्रर्दशन, आगजनी र तोडफोड जारी देखिएको छ । स्थानिय तहका भवन, सडक संरचनाहरु र प्रहरी लगायतका अन्य सरकारी भवनमा आगजनी भएको खबरहरु जिल्लास्थित कान्तिपर संवाददाताहरुबाट प्राप्त भएका छन् ।
काभ्रेको बनेपा नगरपालिकामा आगजनी भएको छ भने सिरहा नगरपालिकाका मेयर नवीन यादवको घर आन्दोलनकारीले कब्जामा लिएर तोडफोड गरेका छन् । वीरगन्जको घडिअर्वास्थित आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी भएको छ ।
देशैभर कहाँ कसरी प्रर्दशन भइरहेको छ र जिल्लामा के कस्ता घटनाहरु भएका छन् भन्नेबारे अपडेट हुनुहोस ।
रास्वपा सभापती रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको छ ।
ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार जेनजी आन्दोलनका क्रममा लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको हो ।
विस्तृत समाचार : रवि लामिछानेलाई नक्खु कारागारबाट निकालियो
कांग्रेस सभापती शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा घाइते भएका छन् ।
उनीहरुलाइ बुढानिलकन्ठस्थित घरभीत्रै घाइते अवस्थामा उद्धार भएको भिडियो फुटेज सामाजिक संजालमा सार्वजनिक भएको देखिन्छ । निजी निवासमा प्रर्दशनकारीहरु छिरेको र उनीहरुलाइ लछारपछार गरिरहेको उक्त फुटेजमा देख्न सकिन्छ ।
सुरक्षा स्रोतका अनुसार उनिहरुलाई उद्दार गर्न सेनाको हेलीकप्टर त्यहाँ पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष बुझाएका राजीनामापत्रमा मुलुकमा उत्पन्न असामान्य परिस्थितिका कारण राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले बुझाएको राजीनामापत्रमा लेखिएको छ, हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको छु ।
सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।
सोमबार राती गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । मंगलबार बिहान कृषिमन्त्री रामनाथ अधिकारी र दिउँसो स्वास्थ्य मन्त्री प्रदिप पौडेलले राजीनामा दिए ।
आन्दोलन चर्किदै जाँदा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिएका छन् । कांग्रेसकै तीन तीन जना मन्त्रीले राजीनामा दिइसक्दा पनि कांग्रेस सभापती शेरबहादुर देउवा भने सरकार छोड्ने मुडमा छैनन् ।
देशभर प्रर्दशन चर्किदै गएपछि र एकपछि अर्को मन्त्री र उच्चपदस्थ अधिकारीहरुको घरमा आगजनी र तोडफोड सुरु भएपछि नेपाली सेनाले भैसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरुलाइ सार्न सुरु गरेको छ ।
उच्च सुरक्षा अधिकारीहरुका अनुसार संसद भवनको सुरक्षामा पनि सेनालाइ खटाइएको छ । त्यस्तै उच्च पदस्थ पदाधिकारीहरु सैनिक ब्यारेकमा सुरक्षा दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भने जारी परिस्थितीबारे मन्त्रीहरुसँग छलफलमा जुटेका छन् ।
शंखमुलस्थित एमाले नेता प्रदीप ज्ञवालीको घरभीत्रै छिरेर प्रर्दशनकारीहरुले आगजनी गरेका छन् । उनीहरुले पौडेलको घरभीत्र रहेका खाट, दराज र कागजपत्रहरु नै सडकमा ल्याएर जलाएका छन् ।
भ्रष्टचार,अनियमितता र वेथितीका बिरुद्धमा सोमबारदेखि सडकमै ओर्लिएर जेनजीहरुले प्रर्दशन गरेका थिए । जसमा १९ जनाको मृत्यु भएको थियो । त्यसैको विरोधमा मंगलबार बिहानैदेखि देशभर प्रर्दशन जारी छ ।
शंखमुलस्थित कांग्रेस नेता प्रदीप पौडेलको घरमा तोडफोड भएको छ । प्रर्दशनकारीहरुले उनको घर बाहिर पुगेर तोडफोड सुरु गरेका हुन् ।
भ्रष्टचार,अनियमितता र वेथितीका बिरुद्धमा सोमबारदेखि सडकमै ओर्लिएर जेनजीहरुले प्रर्दशन गरेका थिए । जसमा १९ जनाको मृत्यु भएको थियो । त्यसैको विरोधमा मंगलबार बिहानैदेखि देशभर प्रर्दशन जारी छ ।
*सच्याइएको ।
भ्रष्टचार, अनियमितता र बेथितीका विरुद्धमा जेनजीले गरेको आन्दोलनका क्रममा मृत्यु भएकाहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरीले १६ वटा शव पोस्टमार्टमका लागि अस्पताल ल्याइएको जानकारी दिए । उनले बाँकी ३ वटा शव पनि पोस्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको बताए ।
जेनजी प्रदर्शनमा बल प्रयोग गरेपछि आन्दोलन चर्किँदै गएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
उनले साँझ ६ बजे बैठक डाकेका छन् । उनले सार्वजनिक अपिल गर्दै शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्नुपर्ने पनि बताएका छन् ।
काठमाडौंका विभिन्न प्रहरी चौकीमा आगजनी तथा तोडफोड भएको छ । कान्तिपुर संवाददताहरुका अनुसार प्रहरी वृत्त बौद्द, प्रहरी प्रभाग थली, प्रहरी चौकी जोरपाटी, प्रहरी चौकी साँखु, प्रहरी चौकी मुलपानी, प्रहरी चौकी जम्मुडाँडा,प्रहरी प्रभाग कपनमा कतै आगजनी तथा कतै तोडफोड भएको छ ।
भ्रष्टचार, वेथिती र अनियमितता विरुद्ध जेन जीले सोमबार गरेको प्रर्दशनका क्रममा सरकारले गरेको दमन पछि १९ जनाको ज्यान गयो । त्यसैको विरोधमा आज विहानैदेखि देशभर प्रर्दशन जारी छ ।
बेथितिविरुद्ध आवाज उठाउने क्रममा सरकारले गोली चलाएको आन्दोलनका घाइतेहरूले बताएका छन् । सिभिल अस्पतालमा २७ जना युवा उपचाररत छन् । उनिहरुले कान्तिपुरसँग कुरा गर्दै सरकारले चरम दमन गरेको बताए ।
अस्पतालमा घाइतेहरुको उपचार कसरी भइरहेको छ र उनिहरु के भन्छन भन्नेबारे विस्तृतमा बुझ्न : सिभिल अस्पतालका घाइते भन्छन्- 'बेथितिविरुद्ध आवाज उठाउँदा सरकारले नै गोली हान्यो'
सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरु सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयभित्र प्रवेश गरेका छन् ।प्रदर्शनहरुले गेटबाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
विस्तृत समाचार : सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयभित्र प्रदर्शनकारी पसे
भ्रष्टचार, वेथिती र अनियमितता विरुद्ध जेन-जीहरुले सुरु गरेको आन्दोलनमा सत्ताको दमन भएपछि आन्दोलनकारीहरुले नेता र मन्त्रीका घर अगाडी प्रर्दशन थालेका छन् ।
कांग्रेस सभापती शेरबहादुर देउवाको बुढानिलकन्ठ निवास, नैकापस्थित रमेश लेखकको निवास, अर्थमन्त्री विष्णु पौडेलको भैंसेपाटीस्थित निवास र खुमलटारस्थित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको निवास बाहिर प्रर्दशन भएका छन् । बिहानै संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवास बाहिर पनि प्रर्दशन भएको थियो ।
प्रहरी स्रोतका अनुसार नेता र मन्त्रीहरुको निवास अघि प्रर्दशन बढेपछि सरकारले सुरक्षाकर्मीको संख्या बढाएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार गोली प्रहार भएको छ । सोमबारको प्रदर्शनका क्रममा भएको दमनविरुद्ध मंगलबार जेन–जी पुस्ताको विरोध प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सोही क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीसमेत जलाएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले दर्जनौं हवाई फायर गरेको छ । घटनाको विवरण आउन बाँकी छ। चन्द्रनिगाहपुरको अवस्था अहिले तनावग्रस्त बनेको छ।
सोमबारको प्रहरी दमन र हत्यापछि डोटीमा पनि जेन–जी पुस्ताले सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार, वेथिति र अनियमितताविरुद्ध युवाहरुको गरेको प्रदर्शनका कारण डोटीको मुख्य व्यापारीक केन्द्र पिपल्ला बजार, राजपुर बजार र शिलगढी बजारमा बन्द भएका छन् । यस्तै यातायात पनि बन्द भएको छ । सरकारमा जुनसुकै दल र नेता गए पनि भ्रष्टाचार नियन्त्रण नभएको भन्दै युवाहरूले तीव्र असन्तुष्टि पोखेका छन्।
जेन–जी प्रदर्शनका क्रममा भएको हताहती र प्रहरी दमविरुद्ध धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर डाक्टर र विद्यार्थीहरुले मंगलबार बिहान सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिष्ठानका आवासीय एमबिबिएस डाक्टर (जेआर) र अध्ययनरत विद्यार्थीहरुले हातमा प्लेकार्ड बोकी प्रांगणभित्रै नाराबाजी गरेका थिए । उनीहरुले लोकतान्त्रिक व्यवस्थामा विद्यार्थीको आवाज सुन्नुपर्ने ठाँउमा उल्टै हत्या गरिएको घटनाले सरकारको असंवेदनशीलता प्रष्ट पारेको उनीहरुले बताएका छन् ।
युवा विद्यार्थीहरुले जिल्लाका विभिन्न ठाउँमा मंगलबार बिहानैदेखि प्रदर्शन गरेका छन् । सोमबार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भएको प्रहरी दमनको विरोधमा घोराहीका विभिन्न कलेजका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । सहरका विभिन्न ठाउँबाट युवाहरू स्वस्फुर्त पनि सडकमा निस्किएका छन् । उनीहरूले सरकार र प्रहरीविरूद्ध चर्का नारा लगाएका थिए । राष्ट्रिय झण्डा र प्लेकार्ड बोकेका युवाहरूले बजार परिक्रमा गरे । शोकमा जिल्लाका सबै निजी विद्यालय बन्द छन् । केही सामुदायिक विद्यालय भने खुलेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । 'यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,' उनले भने, 'राजीनामा दिँदैछु ।'
झापाका विभिन्न शहर विहानैदेखि तनावग्रस्त बनेका छन् । विर्तामोड, कनकाईलगायतका मुख्य क्षेत्रमा प्रदर्शनकारीले आगजनी समेत गरेका छन भने मेचीनगरतर्फ पूर्व–पश्चिम राजमार्ग नै बन्द गर्ने प्रयास भइरहेको छ ।
प्रदर्शनकारीले टायरलगायत वस्तु बालेर सडक अबरुद्ध पारेका छन् । विर्तामोडको मुक्तिचोक, कनकाईको सुरुङ्गा लगायत क्षेत्र धुँवा र अशान्त वातावरणका कारण तनावग्रस्त बनेको छ । मेचीनगरतर्फ भने समूहगत रुपमा सडकमा अवरोध गर्ने र सवारी साधन बन्द गर्ने प्रयास भइरहेको छ ।
प्रहरी प्रधान कार्यलयले मानव स्रोत विभाग प्रमुख एआइजी दानबहादुर कार्कीलाई उपत्यका प्रहरी कार्याल जिम्मेवारीमा पठाएको छ ।
एआइजी टेकबहादुर तामाङ अवकासमा गएपछि उपत्यका प्रहरी कार्यालय नेतृत्व विहिन थियो । सोमबार जेन-जीमाथि राज्य निर्मम रुपमा प्रस्तुत हुँदा उपत्यका प्रहरी नै नेतृत्व विहिन थियो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनिश्चतकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार जिल्लामा जेनजी प्रदर्शनका क्रममा प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको बताएका छन् । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेको छ । वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्रअन्तर्गत पूर्वमा भैंसेबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार–गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तलको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओरालो क्षेत्रमा कर्फ्यु लागू हुनेछ । यसैगरी वडा नं २ सानेपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्रमा पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरतर्फ चक्रपथ सडककको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र, दक्षिणतर्फ इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु जारी भएको हो । वडा नं. ९ को च्यासल क्षेत्रअन्तर्गत पूर्वमा मनोहरा खोलाको करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल खेलमैदान, उत्तरमा मनोहरा खोला र दक्षिणमा मल पोखरी जाने बाटोमा कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार राति ९ बजे देखि मंगलबार बिहान ९ बजे सम्मका लागि उक्त कर्फ्यु आदेश जारी गरेको छ ।
यसअघि काठमाडौं, सुनसरी, कास्की र रुपन्देहीका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरीसकेका छन् ।
विस्तृत समाचार : वीरगन्ज महानगर क्षेत्रमा राति ९ देखि बिहान ९ बजेसम्म कर्फ्यु
जेन–जीले गरेको प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ ।
यसबारे विस्तृतमा पढन : जेन–जीको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय
कांग्रेस पदाधिकारी बैठकले सामाजिक संजाल तत्काल खोल्न दबाब दिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण यसमा कुनै निर्णय हुन सकेन् । प्रधानमन्त्री ओली अझै सामाजिक संजाल खोल्न नहुने पक्षामा छन् ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री रमेश लेखकले आफ्नो राजीनामा बुझाउँदै सामाजिक संजाल खुलाउने बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गराएका थिए । स्रोतका अनुसार उनले भनेका थिए, 'धेरै मान्छेको ज्यान गयो । त्यसप्रति नैतिक जिम्मेवारी लिदै मैले राजीनामा दिएको छु । सामाजिक संजाल खुलाउने बिषयमा पार्टीले निर्णय गरेको छ । यसमा प्रधानमन्त्रीको ध्यानआकर्षण गराउँछु ।'
बैठकमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले पनि सामाजिक संजाल खुलाउनुपर्ने बिषयमा अडान लिएका थिए । मन्त्रीपरिषद्ले निर्णय नगरेपछि कांग्रेस सभापती शेरबहादुर देउवा ओलीलाइ भेटन वालुवाटार जाँदैछन् ।
चौतर्फी आलोचनापछि अन्तत: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
उनले १४ महिना गृहमन्त्रालयको नेतृत्व सम्हाले ।
विस्तृत समाचार : गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
साँझ ६ बजेतिर म ट्रमा सेन्टर पुगेका कान्तिपुर संवाददाता विवेक पोख्रेलले त्यहाँ कस्तो दृश्य देखे ?
उनले अस्पतालको इमर्जेन्सीमा कुदाकुद गरिरहेका डाक्टर र घाईतेको लश्कर देखे । आन्दोलनका क्रममा ज्यान गुमाएका ८ जनाको शव पनि देखे । अनि अस्पताल बाहिर भइरहेको प्रर्दशनबाट तर्सिरहेका बिरामी र आफन्ती देखे ।
विस्तृतमा पढन : ट्रमा सेन्टरमा मैले जे देखें
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल खुला गर्न आग्रह गरेका छन् ।
कांग्रेस पदाधिकारी बैठकपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका तत्काल खारेज पनि आग्रह गरेका छन् ।
विस्तृत समाचार : कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भने : तत्काल सामाजिक सञ्जाल खोल्नुहोस्
सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ३ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् ।
कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।
विस्तृत समाचार : राजीनामा दिने तयारीमा गृहमन्त्री लेखक
सोमबार भएको घटनालाइ लिएर कांग्रेस पदाधिकारीको बैठक बुढानिलकण्ठस्थित पार्टी सभापती शेरबहादुर देउवाको निवासमा बसिरहेको छ । पार्टीभीत्र सरकार छोडनुपर्ने व्यापक दबाब परिरहेका बेला यस बिषयमा पार्टीको औपचारिक धारणा बनाउन बैठक बसेको हो ।
स्रोतका अनुसार पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बिषयमा कुरा उठेको छ ।
रास्वपाले वर्तमान सरकारको जनप्रतिवाद हुने चेतावनी दिएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै सोमबार जेन-जीको प्रदर्शनमा सरकारले गरेको दमनको भर्त्सना गरेको छ ।
रास्वपाले भनेको छ, 'आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।' रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै ताजा जनादेश(अर्ली इलेक्सन) को माग पनि गरेको छ ।
विस्तृत समाचार :रास्वपाले भन्यो : प्रधानमन्त्री राजीनामा देऊ, 'अर्ली इलेक्सन' गर
जेन-जीहरूको आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ५ जनाको मात्रै सनाखत भएको छ । काठमाडौंमा मात्रै प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छ ।
इटहरीमा पनि २ जनाको मृत्यु भएको थियो ।
विस्तृत समाचार : ट्रमा सेन्टरमा मृत्यु भएका ५ जनाको सनाखत
एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले बानेश्वरमा जेन-जीको प्रदर्शनमा भएको दमन हत्या भएको बताएकी छिन् । ‘आजको बानेश्वर काण्ड कुनै भवितव्य होइन, यो हत्या हो । निहत्था बाल – बालिकाहरूको हत्या,’ उनले आफ्नो फेसबुकमा लेखेकी छन्,‘यो हत्याको बदला समयले तिमीहरूलाई अवश्य लिने छ ।’
‘१८ नकटेका, कलेजबाट आफ्नो पुस्ताको आन्दोलनमा सहभागी हुन हिँडेका, कलेज ड्रेसका केटाकेटीलाई गोलीले भुट्ने अधिकारको यो देशको शासकलाई थिएन,’ उनले लेखेकी छन्,‘संसद् भवन जलेको भए मूल्य ५ अर्ब हुन्थ्यो होला । आज १६/१६ जना युवायुवतीको जिन्दगीको मूल्य कस्तो फुली लगाएको ? कति बलियो सत्तासीनले तिर्न सक्छ ?’
भ्रष्टाचारविरोधी जेन-जी प्रदर्शनमा दर्जनौँ घाइते भएपछि विभिन्न अस्पतालमा रगतको उच्च माग रहेको छ । नेपाल रेडक्रम सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबाट वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा मात्र २ सय पिन्ट रगत पठाइएको छ । घाइतेहरूको संख्या उच्च भएपछि विभिन्न अस्पतालमा स्वत:स्फुर्त रूपमा रक्तदान गर्नेहरूको लाइन लागेको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादीले जेन–जीको आन्दोलनमा दमन गर्दा डेढ दर्जन युवाहरुको मृत्यु र दुई सयभन्दा बढी घाइते भएको घटना गम्भीर रहेको भन्दै सरकारको औचित्य सकिएको बताएको छ ।
गोरखाको आरुघाटमा मध्यपहाडी राजमार्ग अभियान स्थगित गरी आकस्मिक रूपमा पदाधिकारी बैठक बसी माओवादीले सरकारको औचित्यमाथि प्रश्न उठाएको हो ।
विस्तृत समाचार : माओवादीले भन्यो : यो सरकारको औचित्य सकियो
दमक नगरपालिकास्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा ढुंगामुढा भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको थियो । यसअघि दमकमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा करिब १० जना घाइते भएका छन्।
विस्तृत समाचार : दमकस्थित प्रधानमन्त्री ओलीको घरमा ढुंगामुढा
सोमबारको प्रदर्शन नियन्त्रणमा लिन भन्दै काठमाडौंसहित सुनसरी, कास्की र रुपन्देहीका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासन कार्यालयहरुले उल्लेख गरेका छन् ।
विस्तृत समाचार :काठमाडौंसहित देशका चार जिल्लामा कर्फ्यु
काठमाडौं लगायत देशैभर जारी जेन जी आन्दोलनबारे विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् ।
भारतको इकोनमिक टाइम्स, इन्डिया टुडे, टाइम्स अफ इन्डिया लगायतले पनि यस घटनाको कभरेज गरेका छन् । इन्डिया टुडेले प्रत्यक्ष प्रसारण गर्दै सरकारले सामाजिक सञ्जाल एपहरू निस्क्रिय बनाएकाले जेन–जी आन्दोलन सुरु भएको जनाएको छ । समाचार संस्था एएफपीले हजारौँ युवाहरूले काठमाडौँमा प्रदर्शन गरेको जनाएको छ ।
विस्तृतमा पढन : जेन-जी आन्दोलनबारे के लेख्दै छन् विदेशी सञ्चार माध्यम ?
प्रहरीको गोली लागी मृत्यु हुने आन्दोलनकारीको संख्या १४ पुगेको छ ।
कान्तिपुरले संकलन गरेको विवरण अनुसार ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा २ जना, एभरेष्ट अस्पतालमा ३ जना र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १ जना गरेर, टिचिङ अस्पतालमा १ जना गरेर १४ जनाको मृत्यु भएको हो ।
विस्तृत समाचारका लागि : जेन-जी प्रदर्शन : १४ को मृत्यु, २ सयभन्दा बढी घाइते
दर्ता हुन नआएको भन्दै सरकारले २६ वटा सामाजिक संजाल प्लाटफर्महरू निस्क्रिय पार्ने काममा सक्रिय बनेको संचार मन्त्रालयले सोमबार भएको जेन-जीको प्रदर्शनबारे टिप्पणी गर्न अस्विकार गरेको छ ।
कान्तिपुरको प्रश्नमा मन्त्रालयका एक उच्च अधिकारीले भने, 'मन्त्रिपरिषद्को प्रस्तावपछि मन्त्रालयले यो निर्णय लिएको थियो । यत्रो आन्दोलन भयो, आजै मन्त्रिपरिषद् बैठक बस्दै छ, मन्त्रिपरिषद्ले टिप्पणी गर्ला, हामीले गर्न मिल्दैन ।’
अनुप पौडेल (कास्की)
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेन–जीले पोखरामा सरकारी गाडी तोडफोड गरेका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नजिकै मिलनचोकमा सोमबार दिउँसो बा २ झ ४२२ नम्बरको गाडी तोडफोड भएको हो ।
मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेपछि प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट लखेटेको थियो । त्यसपछि प्रदर्शनकारी भाग्ने क्रममा गुड्दै गरेको सरकारी गाडीबाट चालकलाई निकालेर तोडफोड भएको प्रत्यक्षदर्शी पत्रकार सुभाष पौडेलले बताए । उक्त गाडी कुनै कार्यालयको हो भन्ने खुलिनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले बताइन् । पोखरामा प्रदर्शनले उग्र रुप लिएपछि दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनका क्रममा मृत्यु हुनेको सख्या १३ पुगेको छ ।
ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, एभरेष्ट अस्पतालमा ३ जना र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १ जना गरेर, टिचिङ अस्पतालमा १ जना गरेर १३ जनाको मृत्यु भएको हो ।
विस्तृत समाचार: जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १३ को मृत्यु
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनका क्रममा घाइते भएका ३५ जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको र १ जनाको मृत्यु भएको जानकारी दिए ।
मानवअधिकारकर्मीहरूले जेन-जी समूहको खबरदारी कार्यक्रममा भएको बल प्रयोग र सरकारले सामाजिक सञ्जालमाथि लगाएको रोक दुवै गलत कदम भएको टिप्पणी गरेका छन् । जवाफदेही निगरानी समूहले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गरेर उल्टो नागरिकलाई नै दण्डित गर्ने कार्य खेदजनक भएको जनाएको छ । उनीहरूले सरकारलाई उक्त निर्णय तत्काल सच्याउनसमेत अनुरोध गरेको छ ।
सूचीकरण नगरेको नाउँमा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयप्रति जवाफदेहिता निगरानी समिति गहिरो खेद प्रकट गरेको छ । नियमन तथा व्यवस्थापनका लागि मानवअधिकारमैत्री रचनात्मक उपायहरू खोज्नेतर्फ नलागी आफ्नै नागरिक दण्डित हुने परिस्थिति निम्त्याउने गरी हठात् सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने यो कदम लोकतन्त्र र मानवअधिकारका मूल्य–मान्यता विपरीत भएको उनीहरूको तर्क छ ।
फेसबुक, मेसेन्जर, युट्युबलगायतका लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्न सरकारले आड लिएको 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' ले वैधानिकता गुमाइसकेको तथ्यलाई सरकारले पूर्णतः बेवास्ता गरेको उनीहरूको आरोप छ । संविधानले प्रत्याभूत गरेका शिक्षा, स्वास्थ्य, श्रम, खाद्य, उपभोक्ता हित, संस्कृति र सामाजिक न्यायसम्बन्धी मौलिक हकसमेत कुण्ठित हुन पुगेका विज्ञप्तिमा उल्लेख छ ।
समूहका तर्फबाट राजुप्रसाद चापागाई (संयोजक), राजन कुइँकेल (सहसंयोजक), रुकमनी महर्जन (सहसंयोजक), सदस्यहरू: चरण प्रसाई, गौरीशंकरलाल दास, मन्दिरा शर्मा, दिनेश त्रिपाठी, सुमन अधिकारी/ देवी सुनुवारले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
जेन-जी पुस्ताले गरेको आन्दोलनमा सरकारले अध्याधिक बल प्रयोग गर्दा पनि मानव अधिकार आयोग भने मौन छ। मानव अधिकार हनन्का घटनामा अनुगमन गर्ने निकाय किन मौन भनेर प्रश्न उठेको छ। तर आयोगले सोमबार अपरान्हसम्म पनि कुनै प्रतिक्रिया जनाएको छैन।
आयोगको टोली भने फिल्डमै खटिएर मानव अधिकारको अवस्था अनुगमन गरिरहेको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए ।
उनको अनुसार आयोगको टोली आफैँ आक्रमणमा परेका छन्। बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा आयोगको सवारी साधन र अनुगमनमा खटिएका मानव अधिकार रक्षकहरुमाथि पनि आक्रमण भएको र उनीहरुको रेस्क्यू चलिरहेको उनले जानकारी दिए । ‘आयोगबाट खटिएको एउटा टोली फिल्डबाट फर्केको छ र अर्को टोली गएको छ । तर प्रदर्शनस्थलमा आयोगका रक्षकहरु नै घाइते भएका छन् ’ पोखरेलले भने, ‘उनीहरुको उद्दारमा छौँ । दिनभरको अनुगमन प्रतिवेदन केही बेरमा सार्वजनिक गर्छौ ।’
भ्रष्टाचार अनि सामाजिक सञ्जालमा रोक लगाएको विरोधमा जेएनजी पुस्ताले विरोध प्रदर्शन गरेका थिए त्यस क्रममा सरकारका तर्फवाट बल प्रयोग हुदै गोली समेत चलेको थियो । गोली लागेर हालसम्म एक जनाको मृत्यू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनालाई थप उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको छ ।
आन्दाेलनकारीले दमक नगरपालिकाकाे कार्यालय कब्जामा लिन खाेजेपछि प्रहरीले बल प्रयाेग गरेकाे जनाएको छ।
अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार देब्रे खुट्टामा गोली लागेर अस्पताल ल्याइएका २६ वर्षीय युवकको अवस्था गम्भीर भएपछि बिएण्डसी अस्पताल रिफर गरिएको हो ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरबाट सुरु भएको आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
प्रहरीको बल प्रयोगबाट घाईते भएका ४८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । अस्पताल स्रोतबाट प्राप्त विवरणहरुका अनुसार मृत्यु हुनेमा धेरैलाइ गोली लागेको छ ।
विस्तृत समाचार: ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो
दिक्तेलमा जेन–जीले प्रदर्शन गरेका छन्। सोमबार मध्यान्ह १२ बजे त्रिवेणी चौकबाट सुरु प्रदर्शन हाटडाँडा–त्रिवेणीचौक, बेसक्याम्प, रत्नपार्क हुँदै किरातचौकसम्म प्रदर्शन गरेका हुन् ।
'भ्रष्ट्राचारी मुर्दावाद, सामाजिक सञ्जाल बन्द होइन, नियमन गर, युवाको भविष्य सुनिश्चित गर' लगायतका नाराबाजी गर्दै दिक्तेल बजारमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विद्यालयका बालबालिका, शिक्षक लगायतको पनि सहभागिता थियो ।
जिल्ला प्रशासन कार्यालय पोखराले जेन-जीहरूको प्रदर्शनका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गरेको छ । प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ।
विस्तृत विवरण : पोखरामा पनि अनिश्चितकालीन कर्फ्यू आदेश
कास्कीको पोखरामा पनि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले जेन-जीहरूको प्रदर्शनका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गरेको हो।
सोमबार दिउँसो २ बजेदेखि चार किल्लाभित्र पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी जुलुस, धर्ना र प्रदर्शन निषेध गरिएको छ।
पूर्वतर्फ वाईचोक, पश्चिमतर्फ बैदामको फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणतर्फ राष्ट्रबैंकलाई निषेधित क्षेत्र कायम गरिएको छ । यो क्षेत्र सरकारी कार्यालय भएको क्षेत्र हुन्।
जेन–जी प्रदर्शनकारीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले अश्रुग्यास, गोली र पानीको फोहोरमार्फत प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।
जनकपुरधाममा टायर बालेर जेन–जी पुस्ताले प्रर्दशन गरेको छ । अहिले जनक चोकमा टायर बालेर सरकारविरुद्ध प्रर्दशन भइरहेको छ।
उनीहरुले 'सरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे, जेन–जी हाय/हाय अरु सबै बाई बाई' लगायतको नाराबाजी गरेका थिए । इन्ड करप्सन, आइएम वीथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट’ लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको घटनालाइ लिएर ६ बजे मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
मन्त्रीपरिषद् बैठक बस्नुअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने तयारी भइरहेको सरकारका एक मन्त्रीले बताए । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भइसकेको छ । दर्जनौं घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ ।
ष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ट्रमा सेन्टर पुर्याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो ।
विस्तृत समाचार : ट्रमा सेन्टरमा मात्रै ४ को मृत्यु, मृतकको संख्या ६ पुग्यो
जेन-जी मुभमेन्ट नेपालले सुचना जारी गर्दै आन्दोलनमा घुसपैठ भएको जनाएको छ । ‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले प्रभावित भयो । तर स्पष्ट पार्न चाहन्छौं, यो हाम्रो मुल उद्देश्य कहिल्यै थिएन,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, जेन-जीले शान्तिपूर्ण संघर्ष गर्ने जनाएको छ। ‘जेन-जी को आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्था विरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघात विरुद्ध हो,’ सुचनामा थप भनिएको छ, ‘सम्पूर्ण नागरिक नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ । केही व्यक्तिहरुका कार्यलाई यो पुस्ताको आवाज ठान्ने गल्ती नगर्नुहोस्। हाम्रो आवाज चोइटिन सक्दैन । नत अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौं । हामी न्यायका पक्षमा छौं । हामी भविष्यको पक्षमा छौं ।’
बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका घाइतेले नजिकका दुई अस्पताल भरिभराउ भएका छन् । सिभिल र एभरेस्ट अस्पतालमा दर्जनौं एम्बुलेन्सले घाइते ओसारेका छन् ।
विस्तृत समाचार: सिभिल अस्पताल घाइतेले भरियो, स्वास्थ्यकर्मी र स्वयंसेवकलाई भ्याइनभ्याइ
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनका क्रममा भरतपुरमा स्थिति तनावपूर्ण बनेको छ ।
प्रर्दशनकारीहरुले भरतपुर महानगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ । जेन–जी सम्बद्ध एक समूहले सोमबार बिहान एक घण्टा प्रदर्शन गरेका थिए ।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले जेन-जीले भनेजस्तै सामाजिक सञ्जाल खोल्ने माग पुरा नगरे यसको गन्तव्य यसै भन्न नसकिने बताएका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘कुनै पनि आन्दोलनलाई अन्डरमाइन गर्न मिल्दैन । यो आन्दोलनले सरकारलाई दबाब पुयो होला । अब माग सम्बोधन गर्न ढिलाइ गर्न हुँदैन ।’
उनले जेन-जीको प्रदर्शन दुरुपयोग हुने कुरामा सचेत हुनुपर्ने बताउँदै भने, ‘राजनीतिक उद्देश्यका लागि दुरुपयोग हुने संभावना देखिन्छ । यसमा ठूलो सचेतनाको आवश्यकता छ ।’ विस्तृत सामाग्री : जेन-जीको दैनिकी बनेको सामाजिक सञ्जाल तुरुन्त खोल्नु नै निकास : प्राध्यापक खनाल
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनमा घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यलयका अनुसार सिभिल र वीर अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।
निरन्तरको अपडेट जारी छ ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहन रेग्मीले उपचारका क्रममा एक जनाको अस्पतालमा मृत्यु भएको पुष्टि गरे । उनले भने, 'अस्पतालमा दर्जनौं घाइते छन् ।'
जेन जी समूहले दाङका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । घोराही, तुलसीपुरलगायत मुख्य-मुख्य सहरमा युवाहरू भेला भएर नाराबाजी गरेका छन् ।
उनीहरूले भ्रष्टाचार र सामाजिक सन्जालमा भएको प्रतिबन्धको विरोधमा नारा लगाएका छन् । राष्टिय झण्डा र प्लेकार्ड बोकेका युवाहरूले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको गेट अगाडिसमेत प्रदर्शन गरेका थिए ।
भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै इटहरीमा बिहान ११ बजेदेखि प्रदर्शनमा उत्रिएका जेन–जी र प्रहरी बीच दिउँसो झडप भएको छ ।
इटहरी उपमहानगर कार्यालय अगाडि भएको प्रदर्शन उग्र बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो । झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते भएका छन् ।
अश्रुग्यास प्रहारपछि केहीबेर प्रदर्शनकारी तितरबितर भए पनि फेरि प्रदर्शन भइरहेको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलन झडपमा परिणत भएसँगै सरकारले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरेको छ । यसअघि सरकारले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरीसकेको छ ।
माइतीघरबाट प्रर्दशनकारीहरु बानेश्वरको संसद भवन क्षेत्रमा पुगेपछि प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरेको थियो ।
बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। अहिलेसम्म कति प्रदर्शनकारी घाइते भएका छन भन्नेबारे एकिन तथ्यांक आइसकेको छैन् । कान्तीपुर संवादाताहरुका अनुसार घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्।
घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको अभियन्ता रोनेश प्रधानले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र दमकमा प्रहरीले गोली चलाएको छ । जेन–जीहरूको प्रदर्शन उग्र बनेको भन्दै प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । जेन–जी प्रदर्शनका कारण अहिले दमक तनावग्रस्त बनेको छ ।
भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवा पुस्ताको आन्दोलन भड्किएर संसद् भवनभित्र प्रवेश गर्न लागेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली चलाएपछि संसदीय समितिमा पुगेका गृहमन्त्री रमेश लेखक आकस्मिक बैठकका लागि भन्दै समितिबाट बाहिरएका छन् ।
जेनजी संसद् भवन छिरेपछि संसदीय समिति बैठक छाडेर गृहमन्त्री लेखक बाहिरएको गृहमन्त्रीको सचिवलायले जनाएको छ । गृहमन्त्री लेखक नेपाल प्रहरी ऐनको संशोधनमाथि छलफल थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए । पछिल्लो अवस्था बारे छलफल गर्न उपत्यकाका आकस्मिक सुरक्षा बैठकका लागि उनी समितिको बैठकबाटै बाहिरिएका हुन् ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उत्रिएका प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद् भवनको पर्खालमा प्वाल बनाएका छन् ।
प्रदर्शनकारीले बानेश्वर चोकबाट मीनभवन जाने बाटो र पुरानो बानेश्वर जाने बाटोमा रहेको संसद् भवनको पर्खालमा प्वाल बनाएका हुन् । केही मान्छेसमेत छिर्न सक्ने भ्वाङ बनाइएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा पूर्वको बिर्तामोडदेखि पश्चिम धनगढीसम्मका ठूला सहरमा सोमबार बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
राजधानी बाहिरका सबैजसो ठूला सहरहरुमा प्रदर्शनमा जारी छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएकोलगायतका मुद्दा उठाउँदैप्रदर्शनमा भइरहेको हो । विस्तृत : उपत्यकाबाहिरका ठूला सहरमा पनि जेन–जीको प्रदर्शन
सन् १९९७ देखि २०१२ भित्र जन्मिएका जेन-जी सोमवार कोशी प्रदेशको राजधानी विराटनगरमा सडकमा उत्रिएका छन् । सरकारको भ्रष्टाचारविरुद्ध आक्रोश र सामाजिक सञ्जाल बन्दीकरणको विरोध गर्दै उनीहरूले प्रदर्शन गरे ।
प्लस–२ र कलेज तहका विद्यार्थीहरूको भनाइमा, सामाजिक सञ्जाल अब उनीहरूको पढाइ, विचार आदानप्रदान, र स्वतन्त्र अभिव्यक्तिको महत्त्वपूर्ण माध्यम बनिसकेको छ। तर सरकारले आलोचनात्मक स्वर दबाउन नेटवर्क बन्द गरेपछि उनीहरूलाई आफ्नो आवाज बुलन्द गर्न सडक रोज्न बाध्य भएको उनीहरूको दाबी छ। 'देश भ्रष्टाचारले थिलोथिलो भएको छ, तर आवाज उठाउन दिइएको छैन। हाम्रो पुस्ताको अध्ययन, सोच, र भविष्यमा सरकारकै नीतिले हस्तक्षेप गरिरहेको छ,' एक प्रदर्शनकारी विद्यार्थीको भनाइ थियो।
उनका अनुसार, यो आन्दोलन सरकारविरुद्धको असन्तोष मात्र होइन, अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुरक्षित राख्नको लडाइँ पनि हो। उनीहरूले चेतावनी दिएका छन् कि यदि सरकार युवाप्रति संवेदनशील नभए आन्दोलन अझ चर्किनेछ ।
बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई प्रहरीले चलाएको गोली लागेको छ ।
बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो।
विस्तृत समाचार: कान्तिपुरका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ। माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो।
विस्तृत समाचार : कर्फ्यू : माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि
जेन-जीको विरोध प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ।
सोमबार अपरान्ह १२:३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गरेका हुन्।
यी हुन् कर्फ्यू आदेश जारी भएको क्षेत्र
१. बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
२. बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
३. बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
४. बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म
प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।
केही प्रदर्शनकारी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरेका छन् । प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ ।
भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । बानेश्वर चोकबाट प्रहरीहरु पछी हटेका छन् ।
प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए ।
भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको जेन-जीको भीड नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।
माइतीघरबाट गएको र्यालीले बानेश्वरमा राखिएको ब्यारीगेड तोडेपछि प्रहरी रक्षात्मक बनेको हो। प्रहरीले सुरुवातमा पानीको फोहरा फ्याँकेको थियो भने त्यसले पनि भीड नियन्त्रण नभएपछि अश्रुग्यास प्रहार गरेको हो। प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ।
सन्जु पौडेल/तिलोत्तमा
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयका विरुद्व जेन-जीहरूले बुटवलमा पनि प्रदर्शन गरेका छन्।
सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि सोमबार स्वत:स्फूर्त जेन-जीहरू भेला भएका थिए। बिहान ९ बजे राजमार्ग चौराहाबाट सुरु भइ बुटवल बहुमुखी क्याम्पसमा पुगेर प्रदर्शन समापन भएको थियो। प्रदर्शनमा ४ सयभन्दा बढीको सहभागिता रहेको थियो। आन्दोलनमा सहभागी बिन्दु भुसालले देशलाई डुबाएर रमाइरहेको सरकारले नागरिकलाई दु:ख दिएको बताइन्। उनले आफूहरू स्वत: स्फूर्त सडकमा आएर अहिलेको भ्रष्टाचारी सरकार र उसको क्रियाकलापबारे आवाज उठाएको बताइन्।
आन्दोलनमै सहभागी युवराज काफ्लेले युवा पुस्तामा अहिलेको सरकारप्रति बढिरहेको बितृष्णा नै आन्दोलनको पहिलो रुप भएको बताए। उनले सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने सरकार ढुङ्गे युगमा नागरिकलाई लैजाने प्रयासमा रहेको जनाए । उनले भने, 'आन्दोलनलाई मजाक सोच्ने सरकारलाई युवाले छोडदैनन्। युवाले सडकमा अन्दोलनसहित नाराबाजी गरेका थिए।
बिर्तामोडमा सिमसिमे झरीका बीच जेन-जीले स्वतःस्फूर्त प्रदर्शन गरेका छन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएको लगायतका मुद्दा उठाउँदै उनीहरूले वान–स्टप मल अगाडि नाराबाजी गरेका हुन्।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र करको दुरुपयोगको विरोधमा माइतीघरमा भेला भएका जेन-जीले एउटा फरक झन्डा प्रयोग गरिरहेका छन् ।
उनीहरुको हातमा पोस्टर प्लेकार्ड मात्रै छैन, एक विशेष झन्डा पनि देखिन्छ । कालो पृष्ठभूमिमा खोपडी र हड्डीको चित्र भएको त्यो झन्डाको आफ्नै कथा छ । त्यो कथा के हो र यसको आन्दोलनसँग के साइनो छ भनेर बुझ्न इकान्तिपुरमा प्रकाशित समाचार पढनुहोस : जेन-जीले किन बोके खोपडी र हड्डीको चित्र भएको झन्डा ?
पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झनै गति लियो । फलत: जेन-जीहरु सोमबार माइतीघर मण्डलामै भेला भए ।
‘टिकटक’, ‘रेडिट’ जस्ता सामाजिक सञ्जालबाट फैलिएको यो ट्रेन्ड कहाँबाट कसरी सुरु भयो ? अनि नेपालमा यो आन्दोलनमा को को कसरी जोडिएका छन र उनिहरुले के कस्ता मागहरु अघि सारिरहेका छन् ? विस्तृतमा बुझ्नु ईकान्तिपुरमा प्रकाशित समाचार पढनुहोस : भ्रष्टाचारविरुद्ध जेन–जी : डिजिटलदेखि सडकसम्म
काठमाडौँको माइतीघरमा भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा भइरहेको प्रदर्शनका कारण माइतीघर-बानेश्वर सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।
माइतीघरबाट थापाथली, पुतलीसडक र बानेश्वरतर्फ जाने तीन वटै सडक जेन-जीले ढाकेका छन्। ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले करिब ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् ।
'कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,' उनले भने, 'उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्नेछैनौं ।'
नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्मलाई सरकारले निष्क्रिय बनाउने घोषणा त सरकारले गरेको छ । तर यसको प्रभाव कहाँ कहाँसम्म कसरी फैलिन्छ भन्नेमा सरकारले अनदेखा गरिरहेको देखिन्छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता वा दैनिक उपभोगसँग मात्र जोडिएको नभएर यसले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध र विभिन्न सूचकमा प्रभाव पार्ने विषयमा पनि विज्ञले चिन्ता जनाएका छन् ।
विज्ञहरुले पछिल्लो कदमले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि धूमिल पार्ने, विश्वका ठूला बहुराष्ट्रिय कम्पनीसँगको सम्बन्ध र हजारौं ‘कन्टेन्ट क्रिएटर’को जीवनमा प्रत्यक्ष प्रभाव पार्ने जस्ता गम्भीर असरहरु देखिनेछन् । अभिव्यक्ति स्वतन्त्रता, ई–गभर्नेन्स, इन्टरनेट स्वतन्त्रता र व्यवसायिक सूचकहरूमा नेपाल तल झर्ने जोखिम पनि उत्तिकै छ ।
यसबारे विस्तृतमा बुझ्न यो समाचार पढनुहोस: सामाजिक सञ्जाल निष्क्रिय पारेपछि अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध र सूचकहरूमा कस्तो असर पर्छ ?
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा भेला भएका जेन-जीको प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले करिब ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् । 'कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,' उनले भने, 'उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्नेछैनौं । बानेश्वरको निषेधित क्षेत्रसम्म उहाँहरु जान पाउनुहुन्छ ।'
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ। सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरिरहेका छन्। पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । उनीहरूले 'आवर फ्युचर इज नट फर सेल', से नो टु करप्सन, जेन-जी हेयर-फ्युचर क्लियर' जस्ता नारा उल्लेखित प्ले-कार्डहरू बोकेर प्रदर्शन गरिरहेका छन्।
तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
कावासोतीमा पनि विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी भ्रष्टाचारको विरोधमा उत्रिएका छन् । कावासोतीको मध्यविन्दु, कुमारवर्ती र लुम्बिनी कलेजमा अध्ययनरत विद्यार्थी कावासोतीस्थित महेन्द्र राजमार्गमा प्रर्दशनमा छन् । भ्रष्ट सरकार मुर्दावाद, हाम्रो कर फिर्ता गर, भ्रष्टाचारी सार्वजनिक गर, जेन-जी आन्दोलन हाइहाई जस्ता नारा उनीहरुले लगाएका छन् । काठडौंमा आजदेखि सुरु भएको जेन-जीको आन्दोलनको सर्मथनमा कावासोतीमा पनि प्रर्दशन गरिएको विद्यार्थी नेता सुदीप चापागाईले जानकारी दिए ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा उत्रिएका जेन-जीले काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले 'आवर फ्युचर इज नट फर सेल', 'से नो टु करप्सन', 'जेन-जी हेयर-फ्युचर क्लियर' जस्ता प्ले-कार्ड बोकेका छन् । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो।
![[LIVE] What is happening in the movement? What is happening where?](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/burning-parliament-0992025125948-1000x0.jpg&w=1001&h=0)


























































![Jen-G's performance begins at the funeral home [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gen-z-2-0892025061359-1000x0.gif&w=701&h=0)

