सिभिल अस्पतालका घाइते भन्छन्- 'बेथितिविरुद्ध आवाज उठाउँदा सरकारले नै गोली हान्यो'

सरकारको दमनमा घाइते भएका २७ जना युवा सिभिल अस्पतालमा उपचाररत छन् ।

भाद्र २४, २०८२

समर्पण श्री

Injured of Civil Hospital says- 'Government itself shot when raising voice against Bethiti'

What you should know

काठमाडौँ — जेन–जी पुस्ताका गौरव विके नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको शय्यामा गोलीको दुखाइ बोकेर सुतिरहेका छन् । कलेज पोसकामै छन् उनी ।

गौरवको देव्रे हातमा प्लास्टर गरिएको छ । भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेन–जीहरूको आन्दोलनमा सरिक थिए उनी । त्यही क्रममा उनको हातमा अचानक गोली लाग्यो । गौरव बेहोस भए । होस आउँदा उनी सिभिल अस्पतालको शय्यामा थिए ।

‘धेरै रगत गइरहेको थिएँ । मलाई त्यहाँ भएका साथीहरूले ल्याउनुभएको रहेछ । धन्न बाँचेँ,’ अस्पतालमा उपचार गराइरहेको क्रममा उनी भन्छन् । 

अहिले गौरवको आफन्त कोही पनि अस्पताल आइपुगिसकेका छैनन् । बर्दियामा भएका बालाई आन्दोलनमा जानुअघि फोन गरेका थिए । ‘तिमीहरूले गरेको आन्दोलन हो । जाँदा हुन्छ,’ बाले फोनमा भनेका थिए । तर आन्दोलनमा सरकारले ज्यानै लेला भन्ने सोचेका समेत थिएनन् ।

घरबाट कोही आइपुगिनसक्दा गौरवलाई कुरुवाको खाँचो परिरहेको छ । ‘तपाईंको कोही साथीभाइ छ भने बोलाउनुस् न । एकजना त चाहिन्छ नै,’ स्वास्थ्यकर्मीहरुले उनलाई आग्रह पनि गरे ।

सिभिलमै उपचार गराइरहेका अर्का बिरामी अभिषेक गोलेको त गोलीले देव्रे कुम नै छेडेको थियो । उनलाई सम्झना छ, ‘२ बजेको थियो । पछाडि फर्किने बेला मलाई गोली लाग्यो । काँध छेडेर गयो । हातबाट तपतप रगत चुहिन थाल्यो ।’ उनी घिस्रिँदै गइरहेका थिए । त्यही क्रममा अभिषेकलाई मान्छेहरूले स्कुटीमा हालेर लैजाँदै थिए । ‘त्यहीबेलामा अर्कोलाई नि लाग्यो । उसको अवस्था मेरोभन्दा गम्भीर थियो । म ओर्लेर उसलाई चढाएर पठाएँ । पछि मलाई साथीहरूले ल्याए,’ उनी सुनाउँछन् ।

Injured of Civil Hospital says- 'Government itself shot when raising voice against Bethiti'अभिषेक अहिले ललितपुरस्थित आदर्श कलेजमा स्तानक दोस्रो वर्षमा मेजर इङ्लिस पढिरहेका छन् ।  डेढ वर्ष दुबईमा मजदुरी गरेर अब नेपालमै केही गर्छु भनेर उनी फर्किएका थिए । ‘हिजोको अवस्थाले त अब झनै देशमा बस्ने मनै मरेको छ । किनकि राज्यले नै हामीलाई मार्न खोजिरहेको थियो । फर्की भनिरहेको छ,’ अभिशेष दु:खी सुनिन्छन्, ‘भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने कलिला बच्चाहरूलाई मार्ने सरकारबाट पनि कसरी शासित हुन सकिन्छ ?’

१६ वर्षीय कृष गुरुङ कक्षा ११ मा पढ्दैछन् । कहिल्यै घरबाट ननिस्कने उनी यो आन्दोलनमा भने सरिक भए । ‘सरकारले सामाजिक सञ्जाल बन्द गरेर हाम्रो आवाज दबाएको थियो । साथीहरूले पनि  हामी जानुपर्छ भनेर निर्णय गरे । देशका लागि भनेर म पनि निस्केँ,’ कृष सुनाउँछन् ।

कृष कुरिरहेकी फुपू १ बजेपछि पनि खाना खान नआइसकेपछि चिन्तित थिइन् । अचानक ३ बजेपछि अर्कै नम्बरबाट फोनगयो । ‘तपाईं सिभिल हस्पिटल आउनुस् । उसको खुट्टामा चोट लागेको छ,’ फुपू छाँगाबाट खसेजस्तै भइन् । सोचिन्– कुनै दुर्घटनामा पो पर्‍यो कि । जब हतारहतार बानेश्वर आइन्, प्रहरीको गोली लागेको बल्ल थाहा पाइन् । ‘सुरुमा त यो हस्पिटलभित्र छिर्नै दिएन । रुँदै आइरहेको थिएँ । एकजना भाइले सहयोग गरेर लिएर जानुभयो । इएमर्जेन्सीमा खोजेँ भेटिएन । जब भेटेँ ऊ जोखिममुक्त थियो,’ उनी सुनाउँछिन् ।

Injured of Civil Hospital says- 'Government itself shot when raising voice against Bethiti'

कृष कलेज सकेर ११ बजेतिर आन्दोलनमा पुगेका थिए । ३ बजेतिर गोली लाग्दा उनी बेस्सरी चिच्याएका थिए । त्यहाँका साथीहरूले बोकेर ह्विलचियरमा लिएर गए । ‘शान्त माहोल हेर्दा हेर्दै अर्कै भयो,’ कृष हिजोको दिन सम्झन्छन् ।

सन्देश लिम्बु जापनिज भाषा पढिरहेका थिए । सोमबार कन्सल्टेन्सीबाट उनी आन्दोलनतर्फ गए । सन्देशको पनि खुट्टामा गोली लागेको थियो ।

काभ्रेका अनिलबहादुर श्रेष्ठ स्टान्डर्ड चार्टर बैंकका चालक हुन् । उनी अफिसबाहिर झडप देखेर देखेर दिउँसो बाहिर निस्केर हेरिरहेका थिए । त्यही क्रममा अचानक प्रहरीले गरेको फायरिङबाट गोलीले उनको खल्तीभित्रको मोबाइल छेड्दै तिघ्राबाट बाहिर निस्क्यो । ‘यी हेर्नु यो मोबाइल छेडेर पनि तिघ्रा छेड्यो,’ उनी मोबाइल देखाउँदै भन्छन्, ‘रबरको बुलेट भन्छन् । तर त्यो बुलेट रबरको पक्कै थिएन ।’

Injured of Civil Hospital says- 'Government itself shot when raising voice against Bethiti'

सिभिलमा यतिबेला २७ जना घाइतेहरू उपचाररत छन् ।

उनीहरू सबै जोखिममुक्त भएको सिभिल अस्पतलामा खटिएका काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागअन्तर्गत विपद् व्यवस्थापन समितिका स्वास्थ्यकर्मी ऋषि भुषालले बताए । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully