सरकारले सामाजिक सञ्जाल बन्द गरेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएकोलगायतका मुद्दा उठाउँदै उनीहरूले वान–स्टप मल अगाडि नाराबाजी गरेका हुन् ।
What you should know
काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन–जी काठमाडौंबाहिरका सबैजसो ठूला सहरमा प्रदर्शनमा उत्रिएका छन् ।
पूर्वको बिर्तामोडदेखि पश्चिम धनगढीसम्मका ठूला सहरमा सोमबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । झापाको बिर्तामोडमा झरीकाबीच जेन–जीले प्रदर्शन गरेका छन् ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएकोलगायतका मुद्दा उठाउँदै उनीहरूले वान–स्टप मल अगाडि नाराबाजी गरेका हुन् ।
सुनसरीको धरान र इटहरीमा पनि जेन–जीको प्रदर्शन भइरहेको छ । इटहरीमा भेला भएका प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । कलेज छुट्टी हुने बित्तिकै बिहान ११ बजेदेखि इटहरी उपमहानगरपालिकाको कार्यलय अगाडि भेला भएका विभिन्न कलेज तथा विद्यालयका छात्रछात्राले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
इटहरीसहित दुहबी, झुम्का, इनरुवा, सुन्दरहरैचा लगायतका ठाउ“बाट भेला भएका किशोर किशोरीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
विभिन्न प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले ‘भ्रष्ट नेता मुर्दावाद, वी वान जस्टीस’ भन्दै नगर परिक्रमा गरिरहेका छन् । उनीहरुको प्रदर्शनमा विभिन्न क्षेत्रका अगुवाहरुले पनि साथ दिएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा पनि सरकारविरुद्ध चर्को नाराबाजी गर्दै जेन–जीले चोक परिक्रमा गरे । चन्द्रपुरको पुरानो बजारमा भेला भएका अधिकांश किशोरकिशोरी कलेज पोशाकमा थिए ।
पोखराको सभागृह चोकमा बिहान ९ बजेदेखि जेन–जीको आन्दोलन जारी छ । सहभागीले भ्रष्टाचारका सबै काण्ड छानबिन हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन् ।
बाक्लो उपस्थिति बीच युवा–युवती आन्दोलनमा उत्रिएपछि सडक अवरुद्ध भएको छ । प्रहरीले सभागृहचोक हुँदै न्यूरोड, चिप्लेढुंगा जाने सवारी चलाउन रोक लगाएको छ ।
बुटवलमा सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि बिहान ९ बजे राजमार्ग चौराहाबाट स्वतःस्फूर्त भेला भएका जेन–जीहरू बुटवल बहुमुखी क्याम्पसमा पुगेर प्रदर्शन समापन गरे । उनीहरुले सडकमा अन्दोलनसहित नाराबाजी गरेका थिए ।
आन्दोलनमा सहभागी बिन्दु भुसालले देशलाई डुबाएर रमाइरहेको सरकारले नागरिकलाई दुःख दिएको बताइन् । उनले आफूहरू स्वतः स्फूर्त सडकमा आएर अहिलेको भ्रष्टाचारी सरकार र उसको क्रियाकलापबारे आवाज उठाएको बताइन् ।
पूर्वी नवलपारासीको सदरमुकाम कावासोतीमा पनि विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी भ्रष्टाचारको विरोधमा उत्रिएका छन् । कावासोतीको मध्यबिन्दु, कुमारवर्ती र लुम्बिनी कलेजमा अध्ययनरत विद्यार्थी कावासोतीस्थित महेन्द्र राजमार्गमा प्रर्दशनमा छन् ।
काठमाडौंमा भइरहेको आन्दोलनको सर्मथनमा कावासोतीमा पनि प्रर्दशन गरिएको विद्यार्थी नेता सुदीप चापागाईले जानकारी दिए । सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा पनि जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि बिहान ११ बजेदेखि जेन–जीले प्रदर्शन गरिरहेका छन् । यस्तै भरतपुरमा पनि करिब एक घण्टा प्रदर्शन गरिएको छ ।
काठमाडौं उपत्यका बाहिरका शहरमा शान्तिपूर्ण रुपमा भइरहेको छ । तर काठमाडौंमा भने आन्दोलन तनावग्रस्त बनेको छ । काठमाडौं प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ ।
