जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १३ को मृत्यु

एभरेस्ट, ट्रमा सेन्टर, सिभिल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

भाद्र २३, २०८२

अर्जुन पौडेल

13 killed in police shooting at Gen-J protest

काठमाडौँ — जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

एभरेस्ट अस्पताल बानेश्वरमा थप ३ को मृत्यु भएको हो । अस्पतालका अधिकारी अनिल अधिकारीले मृत्युको पुष्टि गरे । '५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ । ४ जना गम्भीर अवस्थाका छन्,' उनले भने ।

यस्तै उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको छ । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन् । '१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,' उनले भने, '२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए ।

केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा 'जेन–जी'हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।

अर्जुन पौडेल अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully