जेन-जी आन्दोलनबारे के लेख्दै छन् विदेशी सञ्चार माध्यम ?

नेपालमा पहिलोपटक जेन-जीले नेतृत्व गरेको विरोध प्रदर्शनका विषयमा विभिन्न विदेशी सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

What are foreign media writing about Gen-Ji movement?

काठमाडौँ — समाचार संस्था एएफपीले हजारौँ युवाहरूले काठमाडौँमा प्रदर्शन गरेको जनाएको छ । व्यापक झाँगिएको भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन गर्न युवाहरू आन्दोलित भएको उल्लेख छ ।

भारतको इकोनमिक टाइम्स, इन्डिया टुडे, टाइम्स अफ इन्डिया लगायतले पनि यस घटनाको कभरेज गरेका छन् । इन्डिया टुडेले प्रत्यक्ष प्रसारण गर्दै सरकारले सामाजिक सञ्जाल एपहरू निस्क्रिय बनाएकाले जेन–जी आन्दोलन सुरु भएको जनाएको छ ।

‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएको भन्दै सेप्टेम्बर ४ मा फेसबुक, ट्विटर, ह्वाट्सएप, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल प्लाटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि जेन जीको नेतृत्वमा यो आन्दोलन सुरु भएको हो,’ समाचारमा भनिएको छ ।

इकोनमिक टाइम्समा युवाहरूले प्रहरीको ब्यारिकेड भत्काएर निषेधित क्षेत्र तोडेको उल्लेख छ । झडप बढ्दै जाँदा प्रहरीले धेरै ठाउँमा गोली चलाएको र काठमाडौँमा कर्फ्यु लागेको समाचार टाइम्सले सम्प्रेषण गरेको छ । एएफपीले जेन-जी प्रतिनिधिहरूलाई उदृत गर्दै नेपालमा भ्रष्टाचार संस्थागत भएकाले विरोध गर्नुपरेको भनेको छ ।

‘नेपालले यसअघि पनि चर्चित अनलाइन प्लाटफर्महरू प्रतिबन्ध गरेको थियो,’ टाइम्सले थप लेखेको छ, ‘अनलाइन ठगी र मनी लाउन्डरिङ बढेको भन्दै गत जुलाईमा सरकारले टेलिग्राम पनि बन्द गरिदिएको थियो । गत वर्ष अगस्टमा नौ महिना लामो प्रतिबन्धपछि नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाएको थियो ।’   

कान्तिपुर

Link copied successfully