ट्रमा सेन्टरमा मैले जे देखें

अस्पताल छिरेसँगै अस्पतालबाहिर अश्रुग्यास प्रहार गरेको आवाज सुनें । अस्पतालभित्रका अन्य बिरामीका कुरुवा पनि अत्तालिए । अस्पतालको एउटा भित्तामा त्यहाँ ल्याइएका ४९ बिरामीको सूची टाँसिएको थियो ।

भाद्र २३, २०८२

विवेक पोख्रेल

What I saw at the trauma center

What you should know

काठमाडौँ — जेन जी पुस्ताको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या बढेको र धेरै घाइतेहरु ट्रमा सेन्टर लगिएको थाहा पाएपछि साँझ ६ बजेतिर म ट्रमा सेन्टर पुगेको थिएँ । ट्रमा सेन्टर वरपर प्रहरीको बाक्लो उपस्थिति थियो । यो कुनै अस्पताल नभएर प्रहरी कार्यालय जस्तो देखिन्थ्यो ।

सधैं अस्पताल जाँदा सजिलै पार्किङ गरेर भित्र पुग्ने म आज भने गेटमै रोकिएँ । प्रहरीले अस्पताल छिर्नसमेत अवरोध गरिरहेका थिए । पत्रकारको परिचय दिँदा पनि प्रहरीले मलाई अस्पतालमा ल्याइएका घाइते भेट्न दिएनन् । घाइते लिएर आएको एम्बुलेन्ससँगै म लुसुक्क भित्र छिरें । अस्पतालभित्र पनि धेरै संख्यामा प्रहरी तैनाथ थिए । अस्पताल छिरेसँगै अस्पतालबाहिर अश्रुग्यास प्रहार गरेको आवाज सुनें । अस्पतालभित्रका अन्य बिरामीका कुरुवा पनि अत्तालिए । अस्पतालको एउटा भित्तामा त्यहाँ ल्याइएका ४९ बिरामीको सूची टाँसिएको थियो ।  
म इमर्जेन्सीको गेट पुगें । भीडले गर्दा त्यहाँ भित्र पनि छिर्न सकिएन। उपचार गरेर फर्किन खोजेका केही घाइते भेटें । बाग्लुङ घर भएका सोम शर्माको खुट्टामा गोली लागेको थियो । उनले बानेश्वरको अकासे पुलमा उभिएका बेला गोली लागेको बताए । बागलुङकै इमान मगरको पनि हातमा गोली लागेको रहेछ । टाउकोमा गोली लागेका गोर्खाका रोनिस रेग्मीलाई पनि मैले त्यहीँ भेटे । 

अस्पतालको पछाडिपट्टि असरल्ल पारेर शवहरु राखिएको परैबाटै देखें । त्यहाँ आठ वटा शव लस्करै राखिएका थिए । ती मृतक सबै प्रदर्शनकारीका हुन् भनेर एक जना कर्मचारीले सुनाए । मृतकको शव राखिएकै एक छेउबाट इमर्जेन्सीभित्र घाइतेहरुको उपचारमा कुदाकुद गरेका चिकित्सक पनि देखें । 

त्यसपछि मैले अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड बद्री रिजालसँग भेटें । उनले अस्पतालमा ६६ जना घाइतेको उपचार भइरहेको र ८ जनाको मृत्यु भइसकेको बताए । जसमध्ये तीन जनाको परिचय खुलेको थिएन । रिजालबाटै मैले थाहा पाएँ, मृत्यु हुनेहरुमध्ये एक जनाबाहेक सबै जना १९ देखि २९ वर्ष उमेर समूहका थिए ।

मैले अस्पतालमा मृतकका एकै जना पनि आफन्त भेटिनँ । किनकि मृतकमध्ये कतिपयको परिवारलाई सायदै यस घटनाबारे जानकारी थियो  । 

अस्पतालबाट साढे सात बजे निस्कँदै गर्दा पनि गेटमा प्रहरीको ठूलो उपस्थिति थियो । अस्पतालबाहिर पनि प्रदर्शनकारीको उपस्थिति बढ्दो थियो । एम्बुलेन्समा बिरामी ल्याउने क्रम त्यति बेला पनि रोकिएको थिएन ।

यो पनि पढनुहोस

लाइभ अपडेट : [LIVE] जेन-जी प्रदर्शन : मृतकको संख्या बढ्दै

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully