प्रधानमन्त्री र गृहमन्त्री राजीनामा देऊ : नेकपा एस

सरकारको निर्मम दमन र गोली प्रहारबाट करिब दुई दर्जन युवाको मृत्यु हुनुका साथै सयौं व्यक्ति घाइते भएको अवस्थामा सरकारलाई अब सत्तामा बसिरहने नैतिक अधिकार नभएको नेकपा एसले जनाएको छ ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister and Home Minister should resign: CPN S

What you should know

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले डेढ दर्जनभन्दा बढीको मृत्यु र साढे दुई सयभन्दा बढी घाइते हुने गरी भएको सोमबारको दमनको विरोध गर्दै सरकारको राजीनामा माग गरेको छ ।

‘सरकारको निर्मम दमन र गोली प्रहारबाट करिब दुई दर्जन नागरिकको हत्या भएको छ । सयौं व्यक्तिहरु घाइते भएका छन् । यति धेरै जनताको ज्यान लिने हत्यारो सरकारलाई अब सत्तामा बसिरहने नैतिक अधिकार छैन,’ नेकपा एसको सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘सरकारले आफ्नो वैधानिकता गुमाइसकेको छ । त्यसकारण हाम्रो पार्टी प्रधानमन्त्री र गृहमन्त्रीको तत्काल राजीनामाको माग गर्दछ । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजिनामा देऊ ।’

समाजवादीले युवाहरु (जेन–जी)को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका जायज मागहरुको समर्थन गरेको छ ।

‘कुशासन र बेरोजगारीका लागि सडकमा आवाज उठ्नु स्वाभाविक हो र त्यसको सम्मान गर्दै अब राज्य जनतालाई सुशासन र रोजगारी दिने दायित्वबाट भाग्न पाउँदैन,’ उसले भनेको छ, ‘आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लगेर आन्दोलनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरुपयोग हुन नदिन आन्दोलनकारी युवाहरुलाई अपिल गर्दछौं ।’

उसले पार्टी कार्यालयमा भएको तोडफोडको पनि विरोध गरेको छ । ‘केही अराजक व्यक्तिहरुले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ढुंगामुढा प्रहार गरी ठूलो भौतिक क्षति पुर्‍याइएको छ । यो घटनाप्रति दुख व्यक्त गर्दै त्यस्ता अराजक तत्वहरुलाई तत्काल कारबाही गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ,’ उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जारी गरको विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully