बारले भन्यो : राज्यको काम नागरिको ज्यान लिनु होइन

‘राज्यको कार्य नागरिकको ज्यान लिनु होइन, जोगाउनु हो’– नेपाल बार एसोसिएसन

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Bar said: State's job is not to kill citizens

काठमाडौँ — कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन राज्यले नागरिकको ज्यान लिन नमिल्ने टिप्पणी गरेको छ । नेपाल बारका महासचिव केदार कोइरालले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउन अनुरोध गरेको छ।

‘राज्यको कार्य नागरिकको ज्यान लिनु होइन, जोगाउनु हो,’ बारको विज्ञप्तिमा नभिएको छ, ‘पत्रकारलगायत सम्पूर्ण घाइते प्रदर्शनकारीको शीघ्रातीशीघ्र निःशुल्क उपचारको प्रबन्ध होस् । ’

हालै सरकारले सामाजिक सञ्जाल निर्देशिका, २०८० अन्तर्गत दर्ता नभएको सामाजिक सञ्जाल निष्क्रिय बनाएको विषयमा पनि बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।  

‘प्रचलित कानुनको अधिनमा रही सामाजिक सञ्जाल नियमन हुने कुरामा दुई मत हुन सक्दैन । नेपाल सरकारले यस विषयमा समाधानमुखी उपाय अवलम्बन गरी सामाजिक सञ्जालको नियमन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नियन्त्रणले समस्या समाधान नहुने हुँदा नेपाल सरकार र सेवा प्रदायक दुवै संवेदनशील भई यस विषयको सकारात्मक समाधान र सञ्जाल प्रयोगको उचित व्यवस्थापनको लागि तत् तत् निकायहरूलाई हार्दिक अनुरोध गर्दछ ।’

जनताको जीउज्यानको संरक्षणलाई व्यवहारतः प्रत्याभूत गर्न नेपाल सरकारसँग बारले माग गरेको छ ।

विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकारको पूर्ण प्रत्याभूति, विचार र अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शनमार्फत अभिमत व्यक्त गर्न पाउनु पर्ने पनि बारको भनाइ छ ।

जेन–जी पुस्ताबाट भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीको ज्यान गएको र सयौंको संख्यामा प्रदर्शनकारी घाइते हुने गरी सुरक्षा निकायबाट बल प्रयोग भएको घटनाको बारले भ्रर्त्सना गरेको छ।

कान्तिपुर

Link copied successfully