जेन-जीले किन बोके खोपडी र हड्डीको चित्र भएको पोस्टर ?

पछिल्लो समय जापानबाहिर अमेरिका, युरोप र एसियाका विद्यार्थी आन्दोलनहरूमा यो झन्डा देखिन थालेको छ ।

भाद्र २३, २०८२

सजना बराल

Why did Jen-ji carry a poster with a picture of a skull and bones?

What you should know

काठमाडौँ — सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र करको दुरुपयोगको विरोधमा जेन-जीले गरेको विरोधमा एउटा फरक झन्डा प्रयोग भइरहेको छ ।

काठमाडौँको माइतीघरमा भेला भएका युवा पुस्ताले हातमा पोस्टरमात्र नभएर एक विशेष झन्डा बोकेका छन् । कालो पृष्ठभूमिमा खोपडी र हड्डीको चित्र भएको त्यो झन्डाको आफ्नै कथा छ । 

यो झन्डा जापानी एनिमे तथा मांगा ‘वान पिस’ बाट लिइएको हो । जेन-जीमा लोकप्रिय यस एनिमेका मुख्य पात्र मन्की डी लुफीले नेतृत्व गर्ने ‘स्ट्र ह्याट पाइरेट्स’ समूहलाई यो झन्डाले चिनाउँछ । खोपडीमाथि टोपी भएको यो चिह्नलाई एनिमेमा स्वतन्त्रता, विद्रोह र साहसको प्रतीक मानिन्छ । यही कारणले आन्दोलनरत युवाहरूले झन्डामा ‘जेन जी नेपो बेबिज’ लेखेर प्रदर्शन गरिरहेका हुन् । 

प्रदर्शनीमा सहभागी निर्जला थापा भन्छिन्,  ‘यसले अबको पुस्ता नेपोटिजम र पावरफुलहरूले मात्रै अवसर पाउने इन्जस्टिसविरुद्ध उठेको जनाउँछ ।’ उनी कलेजका साथीभाइसँग मिलेर झोलामा किताब, कपी बोकेर प्रदर्शनमा आइपुगेकी छन् । 

Why did Jen-ji carry a poster with a picture of a skull and bones?

समुद्री डाकुहरूले प्रयोग गर्ने ‘जली रोजर’ झन्डाबाट प्रभावित भई वान पिसमा यो झन्डालाई थोरै परिष्कृत गरेर विभिन्न समूहको परिचयका रूपमा राखिएको छ । वान पिसको झन्डा इन्टरनेट र पप-कल्चर आन्दोलनसँग जोडिएर विभिन्न देशका आन्दोलन वा विरोध कार्यक्रममा प्रयोग हुँदै आएको छ ।

पछिल्लो समय जापानबाहिर अमेरिका, युरोप र एसियाका विद्यार्थी आन्दोलनहरूमा यो झन्डा देखिन थालेको छ । सन् २०१९ मा हङकङको प्रो-डेमोक्रेसी प्रोटेस्ट, सन् २०२५ मा इन्डोनेसियामा भ्रष्ट कुलिन र सांसदलाई आवास भत्ताको विरोधमा भएको आन्दोलनमा पनि प्रदर्शनकारीहरूले संसद भवनअगाडि यो झन्डा बोकेर विरोध गरेका थिए ।

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully