भ्रष्टाचारविरुद्धको ‘जेन–जी’ को सोमबारको प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंसहित सुनसरी, कास्की र रुपन्देही जिल्लामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।
What you should know
काठमाडौँ — भ्रष्टाचारविरुद्धको ‘जेन–जी’ को सोमबारको प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंसहित चार जिल्लामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।
जिल्ला प्रशासन काठमाडौंले दिउँसो साढे १२ बजेदेखि नै माइतीघर, बानेश्वर, तीनकुने र शंखमूल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु लगाइएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासन कार्यालयहरुले उल्लेख गरेका छन् । काठमाडौंमा बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म राति १० बजेसम्म भेला, जुलुस, प्रदर्शन गर्न नपाइने आदेश गरिएको छ ।
सोमबार दिउँसो प्रदर्शन उग्र बनेपछि सुनसरीको इटहरीमा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्म इटहरीको मुख्य चोक आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चौकभित्र, पूर्वतर्फ मिलन चौकदेखि जुटविकास भित्र, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेटोल पम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रभित्र र पश्चिमतर्फ कलंकी मोडदेखि जनता बस्ती क्षेत्रमा कर्फ्यु लगाइएको हो । उक्त क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला जुलुस, प्रदर्शन सभा, बैठक र घेराउ गर्न नपाइने प्रशासनले जनाएको छ ।
जेन–जीहरूको प्रदर्शनका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन कास्कीको पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । दिउँसो २ बजेदेखि चार किल्लाभित्र पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी जुलुस, धर्ना र प्रदर्शन निषेध गरिएको छ । पूर्वतर्फ वाईचोक, पश्चिमतर्फ बैदामको फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणतर्फ राष्ट्र बैंकलाई निषेधित क्षेत्र कायम गरिएको छ । जेन–जी प्रदर्शनकारीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि दिउँसो स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले अश्रुग्यास, गोली र पानीको फोहारामार्फत प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।
रुपन्देहीका बुटवल र भैरहवामा आन्दोलन चर्किन थालेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवल र भैरहवा क्षेत्रमा चार किल्ला तोकेर तोकिएको सीमाभित्र कसैले पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यु आदेश जारी गरेका हुन् । जिल्ला प्रशासनका अनुसार बुटवल क्षेत्रमा पूर्वमा धागो कारखाना पुलसम्म, पश्चिममा बेलबास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलपुरसम्म कर्फ्यु लगाइएको छ । भैरहवामा पूर्व रोहिणी खोला पुलसम्म, पश्चिम बेथरी पुलसम्म, उत्तरमा बुद्ध चोकसम्म र दक्षिणमा मेउडिहवासम्म कर्फ्यु लगाइएको छ । यसबाहेक बुटवल–बेलहिया व्यापारिक मार्गको दायाँ बायाँ एक सय मिटरसम्म कुनै पनि प्रदर्शन र भेला आयोजनामा रोक लगाइएको प्रशासनले सूचना गरेको छ ।
