जेन–जीको विरोध प्रदर्शनमाथि निर्मम र र बर्बर दमनले नागरिकमा भएको सार्वभौमिकता राज्य सत्ताबाट अपहरित भएको एसोसिएसनले जनाएको छ ।
काठमाडौँ — सर्वोच्च अदालत बार एसोसिएसनले जेन–जीको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ ।
बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गरी घटनामा राज्य प्रशासनको निरंकुश छवि उजार भएको बताउँदै यस्तो प्रकारको निरंकुशता स्वीकार्य नभएको जनाएका छन् । ‘यो घटानाले राज्य प्रशासनको निंरकुश छवि उजागर गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसन कुनै पनि प्रकारको निरंकुशतालाई सहन गर्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।
जेन–जीको विरोध प्रदर्शनमाथि निर्मम र र बर्बर दमनले नागरिकमा भएको सार्वभौमिकता राज्य सत्ताबाट अपहरित भएको एसोसिएसनले जनाएको छ । सरकारको दमनकारी नीति र कार्यको भर्त्सना गरिएको छ । स्थिति थप प्रतिकूल हुन नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन आग्रह गरिएको छ ।
‘विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार हो । राजकीय सत्ता र सर्वाभौम सत्ता सम्पन्न नेपाली नागरिक जेन–जीको विरोध प्रदर्शनमाथिको निर्मम र बर्बर दमनले नागरिकमा भएको सार्वभौमिकता राज्य सत्ताबाट अपहरित भएको/गरिएको ठानी सरकारको दमनकारी नीति र कार्यको घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
सर्वोच्च बारले मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न साथै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध स्थगन गर्न सरकारसँग माग गरेको छ ।
