‘म नाच्दै थिएँ । सँगै साथीहरू पनि नाच्दै थिए । सडकको साइटमा थियौं । निषेधित क्षेत्र पनि बिथोलिएको थिएन । सुरुमा वाटर गन हान्यो ।’
काठमाडौँ — सिभिल अस्पतालको चौरमा भेटिएका धादिङका रुपेन्द्र दाहाल (२२ वर्ष) आफ्नो आँखा छेउमा लागेको घाउको प्रभाव नगरी हातको क्यानुलासहित अस्पतालको चौरबाट संसद् भवनको दृश्य हेर्दै थिए । लगातार अश्रुग्याँस र गोलीका आवाज सुनिँदै थियो ।
राज्यले हामीमाथि किन दमन गरेको होला ? उनले प्रश्न गर्दै भने,‘म नाच्दै थिएँ । सँगै साथीहरू पनि नाच्दै थिए । सडकको साइटमा थियौं । निषेधित क्षेत्र पनि बिथोलिएको थिएन । सुरुमा वाटर गन हान्यो । मैले बोतल होला भनेको आँखामा लागेपछि थाहा भयो ।’
उनलाई लगत्तै साथीहरूले अस्पतालमा ल्याए थिए । चिकित्सकले तत्काल आराम गर्न आदेश दिए पनि उनी साथीहरूको मृत्यु र प्रहरीले चलाएको गोलीले आवाजले अस्पतालमा तर्सिरहेका छन् ।
स्वयम्भूमा भाडाको घरमा बसेर कानुन विषय पढ्दै गरेका उनी हरेक क्षेत्रको चरम निरासाका कारण आफू सडकमा आएको बताउँछन् । ‘भ्रष्टाचार, बिदेसिन बाध्य, स्वास्थ्य, शिक्षाको अधिकार नहुनुलगायतका धेरै कुराले म सडकमा आएको हुँ,’ उनले भने,‘सामाजिक सञ्जाल खोल्नु र बन्द हुनु मुख्य विषय हैन । हामी सिस्टम र व्यवस्थाको विषय लिगेर सडकमा आएको हुँ ।’
