अखिल क्रान्तिकारीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

विज्ञप्तिमा गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग गर्दै नैतिकताको आधारमा मार्गप्रशस्त गर्न भनिएको छ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

All revolutionaries demanded the resignation of the Prime Minister and Home Minister

काठमाडौँ — जेन जीले स्वत:र्स्फुत गरेको आन्दोलनमा सरकारले हस्तक्षेप गरेर हिंसात्मक बनाएको भन्दै माओवादीनिकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपपकड गरेकोमा निन्दा गरेका छन् ।

‘सामान्य बल प्रयोगको सिद्धान्तलाई नजरअन्दाज गर्दै गाली प्रहार गर्ने प्रहरी, आदेश दिने नालायक गृहमन्त्री र यसको संरक्षणकर्ता प्रधानमन्त्रीले तत्काल नैतिकताको आधारमा राजीनामा दिई मार्गप्रशस्त गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भएको छ ।

प्रहरीले गोली लागेर १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन । क्रान्तिकारीका अध्यक्ष सापकोटाले घाइतेहरूलाई रगतको अभाव हुन नदिन मातहतका विद्यार्थीलाई तयारी अवस्थामा समेत रहन निर्देशन दिएका छन् । घाइतेहरूको  निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ ।  

कान्तिपुर

Link copied successfully