कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

आश्विन १, २०८१
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ — सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई सिफारिस गरिएको छ । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । परिषद सदस्य राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राउतको नाममा सर्वसम्मत निर्णय भएको जानकारी दिए । 

यसअघि प्रधानन्यायाधीश सिफारिस गर्नकै लागि गत शुक्रबार बसेको परिषद बैठक निर्णयमा पुग्न सकेको थिएन । सोमबारको बैठक अघिल्लै बैठकको निरन्तरता हो । बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओलीले बैठकमा प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए ।

न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि ८ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये वरिष्ठतम् न्यायाधीश राउतलाई संवैधानिक परिषद्ले सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन् । संविधानको धारा २८४(३) ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै परिषदले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

प्रधानन्यायाधीशका लागि सिफारिस भएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका हुन् । उदयपुरमा जन्मिएका राउत २०६३ मा नेपाल बार एसोसिएसनका अध्यक्ष थिए ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरे पछि राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । प्रधानन्यायाधीश नियुक्त भएपछि राउतले १३ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।

प्रकाशित : आश्विन १, २०८१ ०६:२७
x
×