कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

त्रिविको ३० पदमा २५८ प्राध्यापकको आवेदन

आश्विन १, २०८१
त्रिविको ३० पदमा २५८ प्राध्यापकको आवेदन

Highlights

  • ८ संकाय र संस्थानका डिन, १७ वटा क्याम्पस प्रमुख र ७ सहपरीक्षा नियन्त्रक नियुक्ति गरिँदै

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा डिन, क्याम्पस प्रमुख र सहपरीक्षा नियन्त्रक बन्न २ सय ५८ जना प्राध्यापकले आवेदन दिएका छन् । ८ संकाय/संस्थानका डिन, १७ वटा क्याम्पस प्रमुख र ७ सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि त्रिविद्वारा गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको थियो ।

समितिका सचिवालयहरूले सोमबार दिएको जानकारीअनुसार डिन, क्याम्पस प्रमुख, सहपरीक्षा नियन्त्रक, योजना र अनुसन्धानको निर्देशकलगायत ३० पदमा नियुक्तिका लागि २ सय ५८ जनाले दरखास्त दिएका हुन् ।

छुट्टाछुट्टै समितिका अनुसार आवेदनमाथि रुजु र छानबिनको प्रक्रिया जारी छ । आवेदकहरूमध्येबाट नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ का आधारमा प्रतिस्पर्धा गराएर नियुक्ति दिइने उपकुलपति केशरजंग बरालले बताए । ‘छनोट समितिले नियुक्तिका लागि सिफारिस गरेपछि कार्यकारी परिषद्ले डिन, क्याम्पस प्रमुखलगायतका पदमा नियुक्ति दिन्छ,’ बरालले भने ।

चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन बन्न सबैभन्दा धेरै १३ जना प्राध्यापकले आवेदन दिएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विज्ञान, प्रविधि अध्ययन संस्थानको डिनका लागि ११–११ जनाको आवेदन परेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायको डिनको लागि ९, वन विज्ञान अध्ययन संस्थान र शिक्षा संकाय डिनका लागि ८–८ जना प्राध्यापकले दरखास्त दिएका छन् ।

व्यवस्थापन संकायको डिन बन्न ६ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनका लागि ५ जनाको आवेदन परेको छ । चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानको डिन आकर्षक पद मानिन्छ । यसअघि पनि यी संस्थानमा डिन बन्न पहुँचका आधारमा राजनीतिक लबिइङ हुँदै आएको छ ।

त्यस्तै, पाटन संयुक्त क्याम्पस र भैरहवा क्याम्पस प्रमुख बन्न १३ जनाले आवेदन दिएको छनोट समितिले जनाएको छ । पृथ्वीनारायण र रामस्वरूप रामसागर क्याम्पस जनकपुरको प्रमुखका लागि ९–९ जना प्राध्यापकले आवेदन दिएका छन् । सानोठिमी र सुर्खेत बहुमुखी क्याम्पस प्रमुखका लागि ८–८ जनाको आवेदन परेको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लागि ७, रत्नराज्य लक्ष्मी (आरआर) काठमाडौं र बुटबल बहुमुखी क्याम्पस प्रमुखका लागि ५–५ जनाले दरखास्त दिएका छन् ।

ललितकला क्याम्पस कीर्तिपुर, भोजपुर बहुमुखी क्याम्पस, सूर्यनारायण सत्यनारायण क्याम्पस सिराहा र विश्वभाषा क्याम्पस काठमाडौंको प्रमुखका लागि ४–४ जनाको दरखास्त परेको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा ३, वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा २ सहित डोटी बहुमुखी र जुम्ला क्याम्पस प्रमुखका लागि १–१ जनाको मात्र दरखास्त परेको छ ।

त्रिवि परीक्षा नियन्त्रण केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयसहित ६ जना सहपरीक्षा नियन्त्रकका लागि ६२ जनाले आवेदन दर्ता गराएका छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुमा २ जना तथा क्षेत्रीय कार्यालयहरू विराटनगर, पोखरा, नेपालगन्ज र मधेश प्रदेश कार्यालयका लागि १–१ जना सहपरीक्षा नियन्त्रकका लागि आवेदन माग गरिएको थियो । त्यस्तै, त्रिवि योजना निर्देशनालयको निर्देशक र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को अनुसन्धान निर्देशकका लागि ८–८ जनाको आवेदन परेको छनोट समितिले जनाएको छ ।

विश्वविद्यालयले ९ डिन कार्यालयमध्ये कानुनबाहेक अन्य संकायको डिन नियुक्तिका लागि ३–३ सदस्यीय छनोट समिति गठन गरेको छ । छनोट समितिले दुई साताको म्याद दिएर सार्वजनिक सूचना जारी गरी इच्छुकहरुबाट आवेदन माग गरेका थिए । पद रिक्त भइसकेका र पुससम्म रिक्त हुने पदका लागि आवेदन माग गरेर नियुक्ति प्रक्रिया थालिएको रेक्टर खड्ग केसीले जनाए । माग गरिएका पदमध्ये अधिकांश यसअघि नै रिक्त छन् । विनियममा तोकिएको मापदण्डअुनसार छनोट तथा सिफारिस समितिले एक सय पूर्णाङ्कका लागि आवेदकहरुबीच प्रतिस्पर्धा गराएर नियुक्तिका लागि सिफारिस गर्ने उनले बताए ।

डिन नियुक्तिपछि उनीहरुकै संयोजकत्वको छनोट समितिको सिफारिसमा सहायक डिनहरुसमेत नियुक्त गर्ने व्यवस्था छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व शान्ति तथा विकास अध्ययन, सामाजिक कार्य र लैंगिक अध्ययन विभागमा १० जनाको आवेदन परेको रेक्टर कार्यालयले जनाएको छ । पदअनुसार प्रशासनिक, प्राज्ञिक अनुभव, अनुसन्धानसम्बन्धी लेख, प्रविधि, अनुसन्धानमूलक पुस्तक, पाठ्यक्रम निर्माण, परीक्षा तथा मूल्यांकनसम्बन्धी दक्षता र योजनामा छुट्टाछुट्टै अंक तोकी कुल एक सय पूर्णाङ्कमा प्रतिस्पर्धा हुने मापदण्ड तोकिएको छ । अन्त्यमा अन्तर्वार्तासहित मूल्यांकन गरि ‘मेरिट’ का आधारमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने मापदण्ड छ । राजनीतिक दलको सदस्यता लिएको, भ्रष्टाचारमा संलग्न, नैतिकतामा प्रश्न उठेको र तोकिएको कार्यकालभन्दा निवृत्त हुने समय अघि भएमा नियुक्त नहुने व्यवस्था विनियममा गरिएको छ ।

डिन छनोटका लागि चिकित्सामा प्राध्यापक केके ओलीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरिएको छ । इन्जिनियरिङमा जीवराज पोखरेल, शिक्षाशास्त्रमा हेमराज ढकाल, मानविकीमा नवराज कँडेल, कृषिमा कैलाश प्याकुरेल, व्यवस्थापनमा प्रेमराज पन्त, वन विज्ञानमा पीके झा र विज्ञानमा तुलसी पाठकको संयोजकत्वमा समिति गठन गरिएको छ । आंगिक क्याम्पसहरूमा क्याम्पस प्रमुख नियुक्तिका लागि प्राध्यापक माधव दाहाल, विभाग र अनुसन्धान केन्द्रहरूमा प्रमुख नियुक्त गर्न प्राध्यापक हेमराज सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

त्रिविमा २०४६ यता राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने अभ्यास सुरु भएको प्राध्यापकहरु बताउँछन् । २०६२/०६३ पछि थप तीव्रता पाएर अधिकांश पदमा कांग्रेस, एमाले र माओवादीबीच राजनीतिक भागबन्डाका आधारमा नियुक्ति दिन थालिएको थियो । उपकुलपति, रेक्टर, रजिस्ट्रारदेखि सहायक क्याम्पस प्रमुख र क्याम्पसका विषयगत विभागहरुमा समेत पदहरु बाँडीचुडी नियुक्ति दिने गरिएको थियो ।

गतवर्ष उपकुलपति बराल, रेक्टर केसी र रजिस्ट्रार केदार रिजाल प्रतिस्पर्धाका आधारमा नियुक्त भएपछि उनीहरुमाथि अन्य पदमा पनि प्रतिस्पर्धा गराउनुपर्ने दबाब बढेको छ । उनीहरुले प्रतिस्पर्धाकै आधारमा नियुक्ति अघि बढाउने प्रतिबद्धता पनि जनाउँदै आएका छन् । प्रतिस्पर्धा भने पनि विनियमको छिद्रबाट राजनीतिक भागबन्डाकै आधारमा नियुक्ति हुन सक्ने जोखिम भने कायमै रहेको प्राध्यापकहरुको भनाइ छ ।

प्रकाशित : आश्विन १, २०८१ ०६:०६
x
×