कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

भीरपहरा फोड्ने हिम्मतिली गौमति

आश्विन १, २०८१
भीरपहरा फोड्ने हिम्मतिली गौमति

Highlights

  • ‘जहाँ कठिन काम पर्छ, सबैले सम्झेका छन् । हामीले गरेको कुनै काममा खोट आएको छैन ।’

म्याग्दी — कालीगण्डकी करिडोर मालढुंगा– बेनी–जोमसोम–कोरोला सडक आयोजनाको सबैभन्दा कठिन र अप्ठ्यारो काम हो– भीरपहरा फोड्ने । अक्करे भीरमा ‘एङ्करिङ’ गरी पर्खाल उठाएर सडक बनाउने कामको नेतृत्व अहिले एक महिलाले गरिरहेकी छन् । र, उनी हुन्– रोल्पा सुनछहरी गाउँपालिकाकी ३८ वर्षीया गौमति बुढा मगर । 

निर्माण मिस्त्री रहेका पति सहवीर घर्तीको पछि लागेर उनी पहिला लमजुङको बेंसीसहर–मनाङ जाने सडक खन्न मनाङ पुगेकी थिइन् । सुरुमा मजदुरी पेसा सुरु गरेकी थिइन् । जस्तोसुकै काम गर्न तम्सिने हिम्मतिली बुढाले मनाङ जोड्ने सडकमा कम्प्रेसर मेसिन (पहरामा होल खोल्ने मेसिन) चलाउन पनि सिकेकी छन् ।

बेनी–जोमसोम–कोरोला सडक आयोजनाले पहिचान गरेको सबैभन्दा जोखिमपूर्ण पहरोमध्येको बैसरी पहिरोमा ‘रक एङ्करिङ’को काम चलिरहेको स्थलमा भेटिएकी साहसी महिला निर्माण व्यवसायी गौमतिले भनिन्, ‘जहाँ कठिन काम पर्छ, सबैले सम्झेका छन् । हामीले गरेको कुनै काममा खोट आएको छैन । काममा लगत र दक्ष मजदुरको टिमले गर्दा मैले महिला भइकन पनि राम्रो काम गर्ने भनी प्रशंसा पाएकी हुँ,’ उनले थपिन, ‘मैले पढ्न त ३–४ कक्षा मात्र पढेकी हुँ, सबै सीप कामसँगै सिकें । अहिले मैले फिल्डको काम हेर्छु, श्रीमान्ले अन्य साइटमा हेडमिस्त्रीसहित लेखा र प्रशासनको काम हेर्नुहुन्छ ।’

अक्करेभीर पहरामा झुन्डिएर फलामको गरुङ्गो कम्प्रेसर मेसिन (जेकम्मर) सजिलै चलाउने, छिटो काम गर्ने र काममा इमानदारिता देखेपछि निर्माण व्यवसायीले बुढालाई काम दिन थालेका थिए । श्रीमान् सहवीर सोही ठेक्कामा मिस्त्रीका रूपमा काम गर्थे । पहरामा मेसिनले ढुंगा फोड्न खप्पिस गौमतिले सोही सडकमा साइड कन्ट्र्याक्ट पाउन थालेपछि श्रीमान–श्रीमति मिलेर स–सानो खण्डको ठेक्का लिन थालेका हुन् ।

मनाङको सडक खनेपछि १३ वर्षअघि उनले म्याग्दीको नारच्याङमा निर्माण भएको घलेम्दी जलविद्युत् आयोजना (५ मेगावाट) मा अक्करे भीरमा ‘पेनस्टक पाइप’ राख्ने काम गरेकी थिइन् । मनाङको भीरमा उनले गरेको काम देखेर प्रभावित ठेकदारले गौमतीलाई ‘हाइड्रो’ कामतिर जोडे । घलेम्दीपछि सोही ठाउँमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनामा पहरामा कम्प्रेसर मेसिन लगाएर ‘होल’ खोल्ने र वाल लगाउने कामको ठेक्का उनले पाइन् । तिनताका उनीसँगै ८०–९० जना मजदुर थिए । अहिले भने उनको साइटमा ३० जना मजदुर छन् । तिनै मजदुरसँगै बस्ने कन्ट्र्याक्ट ठेकेदार गौमतिको कामबाट ठूला व्यवसायी र नियामक निकायका प्राविधिक पनि सन्तुष्ट छन् ।

‘बेनी–जोमसोम सडकको सबैभन्दा कठिन बाँदरजुङ भीरको सडकमा डिलमुनिबाट अक्करेभीरमा एंकर ब्लक राखी वाल उठाएर सडक बनाइएको छ, यो सबै काम गौमति बुढा मेडमको साइट हो, उहाँको टिममा अक्करेभीरमा पनि काम गर्न सक्ने दक्षता र सीप छ, आयोजना उहाँको कामबाट सन्तुष्ट छ,’ बेनी–जोमसोम–कोरोला सडक आयोजनाका साइट हेर्ने सव–इन्जिनियर सोहनजंग कार्कीले भने, ‘कामप्रति जिम्मेवारी, गुणस्तर र दक्ष मजदुरको टिम देखेपछि हामीले बाँदरजुङबाट आयोजनाले रेडजोन घोषणा गरेको बैसरी पहिरोमा रक एङ्करिङको पनि जिम्मा दिएका हौं ।’

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–घाँसाखण्डको पहिरोग्रस्त क्षेत्रको अति जोखिमयुक्त पहिरोमध्यको एक बैसरी पहिरोमा ‘रक एङ्करिङ’ प्रविधिबाट पहिरो रोकथाम गरिएको छ । पहिरोग्रस्त क्षेत्रको केही भाग ढुंगामाटो शून्य बनाएपछि भेटिएको पहरामा १ मिटर गहिरा तीन सय बढी होल बनाई २५ एमएमका रड राखी ९० सेन्टिमिटर चौडाइ भएका एम २० गुणस्तरको वालसहितको ग्याभिन राखेर पहिरो नियन्त्रण गरिएको हो ।

पहिरोग्रस्त भीरको करिब १ सय ५० मिटर डिल भागलाई ढुंगामाटो शून्य बनाएपछि भीरको पत्थरमा रक एङ्करिङ गरी एम २० (एक बोरा सिमेन्टबराबर २ बोरा गिटी र ३ बोरा बालुवा राखेको कडा) भएको दुई मिटर अग्लो कंक्रिट पर्खाल बनाइएको छ । बेसमा कंक्रिट गरेको पर्खालमा बाँकी छोडिएको रडको आड लिएर थप एक मिटर अग्लो जाली राखिएको छ । त्यस्तै, पहिरोमा प्लास्टिक जालीले छोपेर छिटो सर्ने प्रजातिको खिर्रोका हाँगा गाड्काु साथै पहिरोको मुहान क्षेत्रमा पाइप खुसाएर पानी पठाएपछि पहिरो नियन्त्रणमा आएको हो ।

‘बैसरी पहिरोमा हामीले अति जोखिम मोलेर रक एङ्करिङ गरी एम २० प्रविधिको वाल र जाली लगाएपछि बैसरी पहिरो अहिले नियन्त्रणमा छ, यसपालिको झरी र भारी वर्षा हुँदा पनि पहिरो झरेन,’ बैसरी पहिरो नियन्त्रणका ठेक्का लिएको युवराज कन्ट्रक्सनकी प्रमुख गौमतिले भनिन्, ‘बेनी–जोमसोम सडकको काप्रेभिरलगायत जहाँ जहाँ अक्करेभीर र अन्य ठेकदारले काम गर्न नसकेको भनिएको थियो, ती सबै स्थानमा म महिला ठेकदार एक्लैले बनाएकी हुँ, पत्याउनुभएन, फिल्ड हेर्न आउनुस् ।’

प्रकाशित : आश्विन १, २०८१ ०६:०८
x
×