कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

सिग्देल नेपाली सेनाको प्रधानसेनापति

भाद्र २५, २०८१
सिग्देल नेपाली सेनाको प्रधानसेनापति

काठमाडौँ — प्रधानसेनापतिमा अशोक सिग्देल नियुक्त भएका छन् । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दर्ज्यानी चिह्न प्रदान गरेसँगै सिग्देलले शपथ लिएर मुख्यालय जंगीअड्डा पुगी औपचारिक रूपमा कमान्ड सम्हालेका छन् ।

करिब ९६ हजार फौज कार्यरत सेनामा सिग्देलले २०८४ भदौ २४ सम्म नेतृत्व सम्हाल्नेछन् । प्रभुराम शर्मा तीनवर्षे कार्यकाल पूरा गरी नियमित अवकाशमा गएसँगै सिग्देललाई मन्त्रिपरिषद्को सिफारिसमा भदौ १२ मै प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय भएको थियो ।

उपरथीबाट रथीमा बढुवा हुँदा सिग्देलमाथि नागरिकता र शैक्षिक प्रमाणपत्र ‘गडबड गरेको’ आरोप लागेको थियो । तर तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै त्रुटि नरहेको भन्दै रथीमा बढुवा गर्‍यो । त्यसपछि शर्मापछि वरिष्ठतामा अगाडि रहेका रथी सिग्देललाई केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानसेनापति बनाउने निर्णय गरेको हो । सेनाले पनि विज्ञप्ति निकाल्दै उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नभएको प्रस्ट पारेको थियो ।

प्रधानसेनापति अवकाश हुनु एक महिनाअघि बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति शर्मा बिदामा बसेपछि वरिष्ठतम् रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी साउन २५ बाटै सम्हाल्दै आएका थिए ।

रूपन्देहीको भैरहवा स्थायी घर भएका सिग्देल २०२३ माघ १९ मा जन्मेका हुन् । उनी २०४३ मा नेपाली सेनाको सैनिक अधिकृतमा भर्ना भएका थिए । २०४५ देखि सहायक सेनानी दर्जामा श्री देवीदत्त गणमा नियुक्त भएका थिए । ३८ वर्षदेखि

सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम लिएका छन् । उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनबाट नेसनल डिफेन्स कोर्स (एनडीसी), नेपालको आर्मी वार कलेजबाट ‘हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स’ तथा भारतबाट ‘डिफेन्स म्यानेजमेन्ट कोर्स’ पूरा गरेका छन् ।

उनले पदिक पृतना, बाहिनी र गणको कमान्ड गर्नुका साथै प्रतिविद्रोह तथा जंगल वारफेयर स्कुलको कमान्डेन्टको जिम्मेवारी पनि सम्हालेका छन् । सेनाको महत्त्वपूर्ण मानिने युद्धकार्य विभाग, निरीक्षणाधिकृत, सम्भाररथी र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुख पनि भएका छन् । प्रधानसेनापतिको सैनिक सहायकका रूपमा समेत जिम्मेवारी निर्वाह गरेको अनुभव सिग्देलसँग छ ।

राष्ट्र संघीय शान्ति सैनिकका रूपमा पूर्वयुगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेको अनुभव छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा नेपाली सेनाको संयोजकको भूमिकामा पनि उनी थिए । उनी सैनिक दीर्घपट्टा, सुप्रबल जनसेवाश्री तेस्रोलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक र मानपदवीबाट समेत विभूषित छन् ।

प्रकाशित : भाद्र २५, २०८१ ०५:०८
×