कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

कांग्रेस उपसभापति गुरुङमाथि सहकारी रकम दुरुपयोगको आरोप

कांग्रेस उपसभापति गुरुङमाथि सहकारी रकम दुरुपयोगको आरोप

Highlights

  • गुरुङकी श्रीमती मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको आरोपमा सीआईबीमा उजुरी

काठमाडौँ — सत्तारूढ कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ भने संसद्मा समेत प्रश्न उठेको छ । 

ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको भनी उक्त रकम उठाउने वातावरण बनाइदिन प्रहरीमा उजुरी गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङले बताए । ज्योतिलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरी नेपाल ल्याएर उनको सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरणको माग गर्दै उजुरी दिएको उनले बताए ।

धनराज र ज्योति मिलेर रकम हिनामिना भएको चाल पाएपछि सहकारीका बोर्ड सदस्य मिलेर दुवैसँग छलफल गरी कागज गराएको प्रमाण सहकारीसँग रहेको अध्यक्ष कुम्भराजको भनाइ छ । ‘सहकारीको रकम अपचलन भएको चाल पाइसकेपछि सञ्चालक समिति सदस्यमा रहेका ९ जना, धनराज र उनकी श्रीमतीबीच मिटिङ गरेको हो । यो हामी जसरी पनि फिर्ता गर्छौं, मिलाउछौं भनेका छन्,’ उनले भने, ‘त्यो सहमति सुरक्षित छ । सीआईबीमा पठाएका छौं ।’

सीआईबीले भने उजुरी दर्ता गर्न आलटाल गरेको छ । ‘स्थानीय तहमा दर्ता भएको सहकारीको हकमा सम्बन्धित स्थानीय तहले, प्रदेशमा दर्ता भएको हकमा प्रदेश सरकारले र संघमा दर्ता भएको हकमा सहकारी डिभिजन कार्यालयले र छानबिन जाँचबुझ समितिबाट अनुसन्धान भई आएको हकमा तालुक निकायका उजुरीका आधारमा सीआईबीले जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाउँछ । यसको हकमा कुनै पनि प्रक्रिया पूरा नगरीकन आएकाले दर्ता नगरिएको हो,’ सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले भने, ‘यद्यपि उजुरीको स्क्रिनिङ गरेर कुन ठाउँमा अनियमितता भएको हो, त्यस ठाउँको प्रहरीलाई सीआईबीले अवगत गराउँछ ।’

गुरुङमाथि सत्ताको आडमा अनुसन्धान नभएको भन्दै संसद्मा पनि प्रश्न उठेको छ । सोमबार संसद्को बैठकमा रास्वपा सांसद गणेश पराजुलीले गुरुङमाथि छानबिन हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् । ‘सहकारीको बचत अपचलन छानबिनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यही संसद्मा चर्को नाराबाजी गर्नेमध्येका एक माननीयविरुद्ध सहकारीमा ठगी अनुसन्धान गर्न सीआईबीमा उजुरी परेको आज मिडियाहरूमा छ्यापछ्याप्ती देख्न पाइएको छ । उजुरी नै अन्तिम सत्य त होइन तर उजुरी नपर्दा, प्रमाण नहुँदा पनि रास्वपाका सभापति रवि लामिछानेलाई सदनमा के–के सम्म गरियो ? संसारले प्रस्टसँग देखेको छ, हामीले भोगेर आएका छौं । तर मितेरी सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनुभएको रहेछ,’ पराजुलीले भने, ‘गुरुङका बारेमा छानबिन हुन्छ कि हुँदैन ? भनेर यस सदनमार्फत कांग्रेसका सांसदहरूलाई सोध्न चाहन्छु ।’

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ मा पनि मितेरीका अध्यक्ष गुरुङले बयान दिएका थिए । बयानका क्रममा पनि आफूले सहकारी बचत अपचलनको सबै विषय राखेको बताए । समिति सभापति सूर्य थापाले मितेरी सहकारीका विषयमा सीआईबीमा छानबिन चलिरहेको छ भन्ने जानकारी पाएपछि अध्यक्ष गुरुङलाई बोलाएर सोधपुछ गरिएको जानकारी दिए ।

कांग्रेस उपसभापति गुरुङले भने आफूमाथि लागेको आरोपको खण्डन संसद्‍बाटै गर्ने र छानबिनको माग गर्ने बताएका छन् । मितेरी सहकारीमा आफू साधारण सदस्य रहेको र त्यहाँबाट घर बनाउन ऋण लिएको उनले बताए । ‘१ करोड जति ऋण घर बनाउँदा लिएको हो । पटक–पटक गरेर ऋण तिरेको हो । मैले अवैधानिक तरिकाबाट लिएको पनि होइन,’ उनले भने ।

श्रीमतीले लिएको ऋणको विषयमा जानकारी नभएको र उनीसँग २०७६ फागुनमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेको उनले बताए । त्यसपछि भेट नभएको र कहाँ छिन् भन्ने जानकारी पनि आफूलाई नरहेको धनराजको भनाइ छ ।

‘आफू फस्ने भयो भनेपछि अनेक षड्यन्त्र गरेर मेरो विरुद्धमा यस्तो आरोप लगायो । सञ्चालक समिति अध्यक्ष र प्रबन्धक जेल जाने भएपछि मलाईसमेत मुछेर निवेदन दिएछन्,’ उनले भने, ‘नक्कली कागजपत्रहरू बनाएको छ रे, त्यसको छानबिनको माग गर्छु ।’ गुरुङले सोमबार साँझ विज्ञप्ति जारी गर्दै सहकारीसँग जोडेर आफ्नाबारे आएका समाचारमा सत्यता नरहेको दाबी गरेका छन् ।

प्रकाशित : भाद्र २५, २०८१ ०५:२६
×