कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

चिकित्सा शिक्षा आयोगले एमबीबीएस नतिजाको त्रुटि सच्यायो

भाद्र १८, २०८१
चिकित्सा शिक्षा आयोगले एमबीबीएस नतिजाको त्रुटि सच्यायो

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटि सच्याउँदै संशोधित नतिजा सार्वजनिक गरेको छ । समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम ‘टाइब्रेक’ का आधारमा कायम गर्नुपर्नेमा रोल नम्बरका आधारमा हुनु गएकाले सच्याएर सुधार गरिएको आयोगले जनाएको छ । 

शुक्रबार सार्वजनिक एमबीबीएसको नतिजामा प्राविधिक त्रुटि भएको आयोगले स्विकारेको छ । ‘समान अंक ल्याउने उम्मेदवारहरूको योग्यताक्रम टाइब्रेकका आधारमा कायम हुनुपर्नेमा प्राविधिक त्रुटिका कारणले रोल नम्बरका आधारमा प्रकाशित हुन गएकाले यसअघि प्रकाशित नतिजालाई आयोगको अभिलेखअनुसार संशोधन गरी चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको संयुक्त बैठकको निर्णयअनुसार टाइब्रेकका आधारसमेत संलग्न गरी प्रकाशित गरिएको छ,’ आयोगका उपसचिव धनबहादुर श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ ।

परीक्षार्थीले समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा मेरिट कायम हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको थियो । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बदनियतभन्दा पनि मानवीय कमजोरीले त्रुटि हुन पुगेको बताए । ‘आयोगले त्रुटि भएको स्वीकार गरेको छ । कमजोरी भएको थाहा हुने बित्तिकै आयोग र परीक्षा समितिको बैठक छाडेर नतिजा सच्याउने काम भएको छ,’ उनले भने ।

नतिजा टाइब्रेकका आधारमा गर्दा करिब ३ हजार विद्यार्थीको नतिजा परिवर्तन भएको अनुमान छ । संशोधित नतिजामा समान अंक प्राप्त गरेका उम्मेदवारहरूको मात्र योग्यताक्रम परिवर्तन भएको आयोगले जनाएको छ । अन्य उम्मेदरवारहरूको योग्यताक्रम यथावत् रहेको र सबै परीक्षार्थीहरूले प्राप्त गरेको प्राप्तांकमा कुनै परिवर्तन नभएको समेत उपसचिव श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ । परीक्षार्थीले परीक्षाको विश्वसनीयता र प्रश्नपत्रमा प्रश्न उठाएपछि इच्छुक विद्यार्थीलाई उत्तरपुस्तिका र ओएमआर सिटसमेत हेर्न दिने निर्णय आयोगले गरेको उपाध्यक्ष अञ्जनीकुमार झाले बताए ।

एमबीबीएसको नतिजामा त्रुटि भएको सार्वजनिक भएपछि आयोगका सहअध्यक्ष तथा शिक्षामन्त्री विद्या भट्टराईले पदाधिकारीसँग छलफल गरेकी छन् । सोमबार आयोगका उपाध्यक्ष झालगायत निर्देशकहरू, परीक्षा समितिका पदाधिकारीसँग सोधपुछ गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । पदाधिकारीले मानवीय कमजोरीका कारण त्रुटि हुन पुगेको जानकारी मन्त्री भट्टराईलाई गराएका थिए । आयोगले सार्वजनिक गरेको जनस्वास्थ्य विषयको नतिजामा पनि त्रुटि भएपछि सच्याइएको थियो ।

उक्त विषयको नतिजामा एउटा विद्यार्थीको रोल नम्बर र प्राप्तांकमा अर्को विद्यार्थीको नाम प्रकाशित भएको थियो ।

प्रकाशित : भाद्र १८, २०८१ ०५:३७
x
×