कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सार्क क्रियाशील बनाउन पहल गर्नेछु : प्रस्तावित राजदूत धिताल

भाद्र १७, २०८१
सार्क क्रियाशील बनाउन पहल गर्नेछु : प्रस्तावित राजदूत धिताल

काठमाडौँ — पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताएकी छन् ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रस्तावित राजदूत धितालले सार्कलाई क्रियाशील बनाउन भूमिका निर्वाह गर्ने बताएकी हुन् । संसदीय सुनुवाइका क्रममा सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सार्कको सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई सुचारु गराउने नेपाल सरकारको धारणा अनुसार आफूले पहलकदमी लिने उनले बताइन् ।

सार्कलाई क्रियाशील बनाउने सरकारको धारणा प्रष्ट रहेकाले आफूले सोहीअनुसार काम गर्ने धितालको भनाइ थियो । सार्कका क्षेत्रीय राष्ट्रहरूबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्व रहेको कुरालाई सम्बन्धित राष्ट्रहरूले स्वीकार गरेकाले यसलाई चलायमान बनाएर लैजान जोड दिनुपर्ने उनले बताइन् ।

‘सार्क सम्मेलनका लागि नेपालको धारणा सार्क सम्मेलन २०१६ देखि स्थगन भएको छ । नेपाल सरकारको यसमा धारणा भनेको सार्कलाई चलायमान बनाउने नै हो, राजदुतको रुपमा मेरो पनि पहल त्यही नै रहनेछ । सार्कका धेरै संस्थाहरू सृजना भएका छन् । यसमा गर्न सकिने सहयोगका क्षेत्रहरू आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक क्षेत्रमा हामीले सहयोग अघि बढाउन सक्ने प्रशस्त सम्भावना देखेर नै यो संस्था बनाइएको हो,' प्रस्तावित राजदूत धितालले भनिन्, 'यो संस्थालाई क्रियाशील बनाउनेमा नेपाल सरकारको धारणा अनुरुप नै मेरो पनि पहल हुनेछ । सार्कप्रति नेपालले राखेको महत्व र अहिलेका अध्यक्षको रुपमा नेपालले गर्दै आएको भूमिकालाई फेरि पनि दोहोर्‍याउँदै हरेक दुई पक्षीय भ्रमणमा सार्क बैठकलाई सुचारु गराउने विषय हाम्रो तहको नेतृत्वमा उठने गरेको छ ।'

सार्कलाई अघि बढाउनेमा नेपाल सरकारको प्रष्ट धारणा रहेको उल्लेख गर्दै त्यसलाई क्रियाशील बनाउन पाकिस्तानको राजदूत नियुक्त भएपछि आफूले भूमिका खेल्ने धितालले बताइन् ।

त्यस्तै, प्रस्तावित राजदूत धितालले नेपालको क्रिकेट खेलको विकासमा पाकिस्तानको सहयोगका लागि पनि आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

प्रकाशित : भाद्र १७, २०८१ १९:३२
x
×