कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

परराष्ट्रमन्त्री राणा-जयशंकर भेटवार्ता : द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल

परराष्ट्रमन्त्री राणा-जयशंकर भेटवार्ता : द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल

काठमाडौँ — भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र  भारतीय विदेशमन्त्री एस. जयशंकर बीच नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।

राणा र जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भएको द्विपक्षीय कुराकानीमा ‘नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको’ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

साथै, बैंठकपछि एक्समा लेख्दै परराष्ट्रमन्त्री राणाले जयशंकरसँगको भेटवार्ता फलदायी रहेको बताइन् । उनले उक्त भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल भएको उल्लेख गरेकी छन् । यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु,’ मन्त्री राणाको भनाई छ ।

भेटवार्तापछि एक्समा जयशंकरले राणाको पहिले औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

जयंशकरकै औपचारिक निमन्त्राणमा राणा दिल्ली गएकी हुन् । ‘ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भएको थियो,’ जयशंकरले पोष्ट गरेका छन्,‘नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोशेढुंगा हो ।’ गत वर्ष तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका दौरान भारतले नेपालबाट १0 हजार मेगावाट विद्युत् आयात गर्ने सहमति गरेको थियो ।

जयशंकरले भारतको छिमेकी पहिलो नीति र लामो जनस्तर तथा सांस्कृतिक सम्बन्धले भारत र नेपालको सम्बन्धलाई अघि बढाउने उल्लेख गरेका छन् ।

द्विपक्षीय भेटवार्तामा नेपालको तर्फबाट राणा, भारतका लागि नेपालका कार्यवहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना लगायत थिए भने भारतको तर्फबाट मन्त्री जयशंकर, विदेश मन्त्रालयका सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत थिए ।

द्विपक्षीय भेटवार्तापछि जयंशकरले राणालाई दिवाभोज दिएका थिए । राणाले सोमबार बेलुकी ७ : ३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित : भाद्र ३, २०८१ १६:४१
x
×