कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

थामे क्षेत्रको बस्तीलाई सरकारले सुरक्षित स्थानमा सार्नुपर्छ : सांसद शेर्पा

थामे क्षेत्रको बस्तीलाई सरकारले सुरक्षित स्थानमा सार्नुपर्छ : सांसद शेर्पा

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं राष्ट्रिय सभाका सदस्य सोनामगेल्जेन शेर्पाले शुक्रबार सोलुखुम्बुको थामेमा गएको बाढीले ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराएका छन् । उनले थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न समेत सरकारले पहल लिनुपर्ने माग गरे ।

आइतरबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद शेर्पाले भने, 'सोलुखुम्बुको थामेमा भीषण बाढीका कारण घरहरु क्षतिग्रस्त भएको, एकजना बेपत्ता भएको, पशुचौपायाको लागत आउन बाँकी छ, विद्युत् र सञ्चार क्षेत्रमा पूर्ण रुपमा क्षति भएको छ । यथाशीघ्र यसको विवरण सङ्कलन गरी थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ ।'

सांसद शेर्पाले सरकारले स्थलगत अध्ययन गरी आवश्यक मात्रामा पीडितहरुलाई राहत वितरण गरेकोप्रति सरकारको प्रशंसा गरे । उनले नेपालमा पछिल्लो समयमा वातावरण परिर्वतनको असर देखिन थालेको बताउँदै वातावरण र जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा राखे ।

जलवायु परिवर्तनबारे नेपालमा भएगरेका अध्ययन/अनुुसन्धानबारे जनता सुसूचित गर्न नसकिएको सांसद शेर्पाले बताए । 'थामे नजिकै रहेका पोखरीहरु कति खतरामा छन् भन्नेबारे विभिन्न सङ्घसंस्थाले अध्ययन गरिरहेका छन् तर सरकारसँग तथ्याङ्क प्राप्त भएको छैन', उनले भने । उनले नेपालमा गरिने सबै अनुसन्धानको तथ्य सरकारले राख्नुपर्ने माग गरे ।

सरकारले मुलुकमा हुने अध्ययन अनुसन्धानका लागि छुट्टै रकमको व्यवस्था गर्नुपर्ने भन्दै सोलुखम्बुका विभिन्न स्थानमा बाढीको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन समाधानका उपाय अपनाउनुपर्नेमा सांसद शेर्पाले जोड दिए । उनले विद्युत् नहुँदा सोलुखुम्बुका धेरै स्थानमा उद्योगहरु बन्द भएको सुनाउँदै तत्काल विद्युत्को समस्या समाधान गर्नुपर्ने बताए ।

सांसद शेर्पाले भने, 'थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्नका लागि सरकारले पहल लिनुपर्छ साथै त्यहाँ रहेका चारवटा पोखरीको जोखिमबारे अध्ययन गरी समाधानका उपाय निकाल्नु जरुरी छ ।' आगामी दिन सरकारले हिमाली क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

प्रकाशित : भाद्र २, २०८१ १७:१४
x
×