कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

अपराध नियन्त्रणका लागि इमान्दारीपूर्वक काम गर्नेछु : गृहमन्त्री लेखक

अपराध नियन्त्रणका लागि इमान्दारीपूर्वक काम गर्नेछु : गृहमन्त्री लेखक

काठमाडौँ — नवनियुक्त गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा व्यवस्थापन र अपराध रोकथाम तथा नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन् ।राष्ट्रपति भवन शितल निवासमा गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गर्दै लेखकले कानुनको शासन कायम आफ्नो प्राथमिकतामा रहेको बताएका हुन् ।

उनले आफ्ना लागि गृह मन्त्रालय नयाँ रहेको र कार्यप्रकृति र कार्यबोझ, क्षेत्राधिकार अलि फरक रहेको, तर गृहमन्त्रीका रुपमा बस्दा इमान्दारी र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

लेखकले मन्त्री भएर पदभार सम्हालेकै दिन पहिलो निर्णय त्रिशुलीमा २ वटा यात्रुबाहक बस खसेर बेपत्ता भएको घटनाको छानविन गर्न सहसचिव छवि रिजालको संयोजकत्वमा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सडक विभागका प्रतिनिधि सम्मिलित पाँचसदस्यीय समिति गठन गरेका छन् ।

‘अहिले प्राकृतिक प्रकोपले विषम परिस्थिति उत्पन्न गरेको छ, यसलाई सम्बोधन गर्ने हाम्रो पहिलो दायित्व हो, विधिको शासन स्थापना गर्ने, देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने यो मन्त्रालयको काम रहने छ,’ लेखकले पदभार ग्रहणका क्रममा भने, ‘मेरा सबै कामहरु देशमा शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रीत रहने छ । यसका लागि म सचिवलगायत सम्पूर्ण कर्मचारीहरुबाट पर्याप्त सहयोग प्राप्त गर्ने छु भन्ने विश्वास लिएको छु ।'

मन्त्री लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र अर्थतन्त्रमा देखिएको शिथिलता/संकुचनलाई हटाएर अर्थतन्त्र चलायमान बनाउने रहेको बताए । त्यस्तै संविधानको समीक्षा र मुल्यांकनलाई पनि सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताए ।

लेखकले भने, ‘संविधानको समीक्षा र मुल्यांकन गर्ने, मुल्यांकन के प्रयोजनका लागि गर्ने भन्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशिता संविधानका मुल तत्व छन्, त्यसलाई सुदृढ गर्नका लागि बलियो बनाउनेलगायत काम सरकारका प्राथमिकतामा छन् ।’

संसद्‌का दुई ठूला दल कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनेपछि गत साता पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सत्तारुढ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा शुक्रबार (असार २८) गते विश्वासको मत मागेका थिए । तर, प्रधानमन्त्री दाहालका पक्षमा कूल सदस्य २ सय ७५ जना रहेको प्रतिनिधि सभामा दाहालले ६३ मत मात्रै पाए, त्यसपछि सरकार ढलेको थियो ।

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन एमाले र कांग्रेसले शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दावी पेश गरेका थिए । त्यसपछि संविधानको धारा ७६ (२) अन्तर्गत ओली प्रधानमन्त्रीमा नियुक्त भएकामा सोमबार नयाँ मन्त्रिमण्डलका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । अपराध र भ्रष्टाचारका केही ठूला प्रकरणका फाइल खोलिएपछि सरकार नै ढाल्न एमाले–कांग्रेस लागेको भन्दै सदनमा विश्वासको मत लिने दिन प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लगाएका थिए ।

खासगरी नक्कली भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरण, बालमन्दिर, बाँसबारी छाला जुत्ता जग्गा प्रकरणलगायतका फाइल खोलिएपछि सरकार ढालिएको दाहाल र लामिछानेले सदनबाटै आरोप लगाएका थिए । केही भ्रष्टाचार र अपराधमा प्रकरणमा कांग्रेस–एमालेलगायतका नेताहरुको नाम जोडिने गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका संदिग्ध पात्र बेचन झा पक्राउ परेपछि उनीमाथि काठमाडौं परिसरमा अनुसन्धान जारी छ । बालमन्दिर, टिकापुर जग्गा प्रकरण, पतञ्जली जग्गा प्रकरण पनि अख्तियार र नेपाल प्रहरीबाट छुट्टाछुट्टै अनुसन्धान भइरहेका छन् । मन्त्रिमण्डलमै सामेल कतिपय व्यक्ति विवादास्पद पृष्ठभूमिका छन् ।

उनीहरुमाथि यसअघि प्रहरीको अनुसन्धानमा शंकाको घेरामा पनि परेका थिए । परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि अनुसन्धानको सुइ घुमेको र बेचन झा पक्राउ पछि सरकार नै ढालेर एमाले–कांग्रेस एक ठाउँमा पुगेको आरोप लामिछानेले लगाएका थिए ।

विवादमा परेका यी विषयमा प्रहरीबाट आगामी दिनमा नयाँ सरकारले अनुसन्धानलाई प्रभावित बनाउँछ वा निष्पक्ष अनुसन्धान गर्न दिन्छ भन्ने प्रश्न पनि सरकारकै कार्यशैली र व्यवहारमा भर पर्छ । त्यस्तै, सहकारी ठगी प्रकरणमा अब निवर्तमान गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेमाथि हुने अनुसन्धान कसरी अघि बढ्छ भन्ने विषय सरकारको आगामी कार्यशैलीले देखाउने छ ।

सुरक्षा निकायका कामकारबाही, सरुवा/बढुवा, गृह मन्त्रालय र अन्तर्गतका निकायको परिचालन तथा कार्य व्यवस्थापन जस्ता विषय देखि नीतिगत, संरचनागत र प्रशासनिक कार्यसम्पादनमा विगतमा गृहमन्त्रीबाट हुँदै आएका चरम राजनीतिक हस्तक्षेपले जरा गाडेको थियो । लेखकका लागि यो पनि परीक्षाको घडी हुनेछ ।

पदभार सम्हालेलगत्तै उनले शान्तिसुरक्षा र अपराध नियन्त्रणमा इमान्दारीपूर्वकरुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : असार ३१, २०८१ १६:३६
x
×