कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

'जनगायक' पाख्रिनलाई मरणोपरान्त १ लाखको जेबी टुहुरे स्मृति पुरस्कार

भाद्र ११, २०८१
'जनगायक' पाख्रिनलाई मरणोपरान्त १ लाखको जेबी टुहुरे स्मृति पुरस्कार

काठमाडौँ — 'जनगायक' खुसीराम पाख्रिनलाई मरोणापरान्त जेबी टुहुरे स्मृति पुरस्कार प्रदान गरिएको छ । जेबी टुहुरे फाउन्डेसनद्वारा हरेक वर्ष श्रष्टा सम्मान कार्यक्रमअन्तर्गत प्रदान गरिने सो पुरस्कार यस वर्ष गायक पाख्रिनलाई प्रदान गरिएको हो ।

टुहुरेको तेस्रो स्मृति दिवसको सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले १ लाख राशिको पुरस्कार पाख्रिनकी श्रीमती सुकमाया पाख्रिनलाई प्रदान गरेका थिए । स्वर्गीय पाख्रिन संविधानसभा सदस्य पनि हुन् ।

पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री दाहालले वरिष्ठ गायक जेबी टुहुरे र खुसीराम पाख्रिन दुवैले नेपाली समाजको रूपान्तरणमा अतुलनीय भूमिका निर्वाह गरेको स्मरण गरे । कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बरालले जेबी टुहुरे र खुसीराम पाख्रिन जनवादी गीत संगीतमा एकै सिक्काको दुई पाटा भएको बताए ।

२०३८ सालदेखि जनपक्षीय गीत गाउन थालेका गायक पाख्रिनले आफ्नो जीवकालमा एक सयभन्दा बढी गीतमा स्वर दिएका छन्। पाख्रिनका 'सगरमाथाको काखमा नेपाल देश छ’, ' उठ जाग युवाहरू’, 'लाल झुपडीका मान्छेहरू' जस्ता गीत चर्चित छन् ।

ईश्वरचन्द्र ज्ञवाली संयोजकत्वको गठित तीन सदस्यीय सिफारिस समितिले तयार पारेको अन्तिम सूचीमध्येबाट पाख्रिनको नाम चयन गरिएको फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् । जेबी टुहुरे प्रतिष्ठानले २०७९ सालदेखि गीतसंगीतका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विशिष्ट प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारहरुलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गर्दै आएको छ ।

२०७९ सालमा धरानमा आयोजित पहिलो जेबी टुहुरे स्मृति स्रष्टा सम्मान कार्यक्रममा ‘बसाइँ हिंड्नेको ताँतीले’ गीतका रचनाकार लव प्रधानलाई सम्मान गरिएको थियो । यसैगरी २०८० सालमा काठमाडौंको नाचघरमा आयोजित कार्यक्रममा कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेल र २०८१ सालको सम्मान भने पाख्रिनलाई प्रदान गरिएको हो।

२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । उनले गीत संगीतको क्षेत्रबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन महत्त्वपूर्ण योगदान गरेका थिए ।

उनको योगदानको कदर गर्दै २०८० भदौ ६ गतेको मन्त्रिपरिषद बैठकले जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : भाद्र ११, २०८१ ०९:००
x
×