कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'एआई दौडले बढ्यो वातावरण प्रदूषण'

असार २५, २०८१
'एआई दौडले बढ्यो वातावरण प्रदूषण'

Highlights

  • गुगल एक्लैको कार्बन फूटप्रिन्ट भनिने कार्बन डाइअक्साइड ग्यास उत्पादन सन् २०२३ मा मात्रै अघिल्लो वर्षभन्दा १३ प्रतिशतले बढेर झन्डै १ करोड ४३ लाख टन पुगेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ — विश्वका ठूला प्रविधि कम्पनीमध्ये एक, गुगलले सन् २०१९ को तुलनामा आफ्ना पूर्वाधारहरूमार्फत हुने हरितगृह ग्यास उत्सर्जन ४८ प्रतिशतले बढेको तथ्य सार्वजनिक गरेको छ । हालै आफ्नो वातावरणीय प्रतिवेदन २०२४ सार्वजनिक गरेको कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पूर्वाधार र डेटा सेन्टरहरूले अत्यधिक ऊर्जा खपत गर्ने गरेको जनाएको छ । 

गुगलले सन् २०३० भित्र नेट जीरोको लक्ष्य हासिल गर्ने घोषणा गरेको भए पनि सो लक्ष्य प्राप्तिमा चुनौती थपिएको कम्पनीले संकेत दिएको छ ।

गुगल एक्लैको कार्बन फुटप्रिन्ट भनिने कार्बन डाइअक्साइड ग्यास उत्पादन सन् २०२३ मा मात्रै अघिल्लो वर्षभन्दा १३ प्रतिशतले बढेर झन्डै १ करोड ४३ लाख टन पुगेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ । गुगलको प्रतिवेदन एक उदाहरण मात्र हो, विश्ववापी रूपमै फैलिएको एआई प्रतिस्पर्धाले ऊर्जाको माग सन् २०३० सम्ममा १६० प्रतिशतले बढ्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

ऊर्जाको अकासिएको मागसँगै विश्वव्यापी जलवायु परिवर्तन कम गर्ने लक्ष्यमा एआई पूर्वाधारहरूले थप्ने चुनौतीको एक झल्कोको रूपमा गत साता सार्वजनिक गुगलको वातावरणीय प्रतिवेदन आएको छ । च्याटजीपीटीजस्ता एआई प्लाटफर्मले प्रयोग गर्ने कम्प्युटिङ पूर्वाधारले साधारण कम्प्युटरको तुलनामा ३३ गुणा बढी ऊर्जा खपत गर्ने र यस्ता कम्पनीहरूको संख्या बढ्दै जाँदा हरितगृह ग्यास उत्सर्जनको चुनौती थपिने मसिन लर्निङकी रिसर्चर साशा लुसिओनीको एक अनुसन्धानले देखाएको छ ।

अन्तराष्ट्रिय ऊर्जा संगठनले सन् २०२२ मा एआईसँग सम्बन्धित डेटा सेन्टरहरूले खपत गरेको ऊर्जा ४६० टेरावाट रहेकोमा सन् २०२६ मै यो संख्या लगभग १००० टेरावाट पुग्नसक्ने अनुमान गरेको थियो । यो संख्या झन्डै १३ करोड जनसंख्या भएको र पूर्वाधारका हिसाबले विकसित जापानले खपत गर्ने ऊर्जा बराबर हुन आउँछ । मार्चमा प्रकाशित एक अध्ययनले बेलायतमा मात्रै आगामी १० वर्षमा ऊर्जाको माग झन्डै ६ गुणाले बढ्ने र त्यसको एक प्रमुख कारण एआई भएको उल्लेख गरेको थियो ।

एआईको दौड गुगल र च्याटजीपीटीमा मात्रै सीमित छैन, विश्वका ठूला सिलिकन भ्याली कम्पनीहरू मेटा, अमेजन, एक्ससँगै चीन र युरोपेली देशका विभिन्न प्रविधि कम्पनीहरू आफ्नै हिसाबले एआई बजारमा प्रभुत्वको दौडमा छन् ।

एआई ल्याङ्वेजको लागि प्रयोग हुने एउटै मोडेलले वार्षिक ६ लाख २६ हजार पाउन्ड कार्बन डाइअक्साइड उत्सर्जन गर्ने अध्ययनले देखाएको छ । यो भनेको ६३ वटा पेट्रोलियम इन्धनले चल्ने सवारीले गर्ने वार्षिक उत्सर्जन बराबर हो ।

यस्तै, एआई कम्पनीका लागि आवश्यक पर्ने भौतिक र अन्य पूर्वाधारसँगै दिनानुदिन बढ्दो लगानी र मागले पनि ऊर्जा र विषालु ग्यास उत्सर्जन बढाउँदै लगेको छ । ऊर्जाको अत्यधिक खपत र उत्सर्जनका कारण अमेरिकाका कतिपय राज्यहरूमा एआई र अन्य कम्पनीहरूलाई दिइँदै आएको कर छुट र अन्य सुविधामाथि पुनर्विचार सुरू भएको समाचार अलास्काको एंकोरेज डेलीले प्रकासित गरेको थियो ।

सन् २०२४ को अन्त्यसम्म एआईको विश्वव्यापी बजार झन्डै १८४ अर्ब अमेरिकी डलर पुग्ने र आगामी ७ वर्षमा त्यो संख्या २० प्रतिशतभन्दा बढीले निरन्तर बढ्ने प्रक्षेपणहरू सार्वजनिक भएका छन् । झन्डै ५० अर्ब अमेरिकी डलरमाथिको एआई बजार रहेको अमेरिकामा धेरैजसो प्रमुख एआई कम्पनी र डेटा सेन्टरहरू रहेकाले ऊर्जाको माग र उत्सर्जनको ठूलो समस्या अमेरिकाकै लागि चुनौती बन्ने रिसर्चर लुसिओनीको आंकलन छ ।

गुगलको प्रतिवेदनले युरोप र अमेरिकाका डेटा सेन्टरले खपत गर्ने ऊर्जा मुख्यतया नवीकरणीय प्रकृतिको भए पनि एसिया, अफ्रिका लगायत क्षेत्रका डेटा सेन्टरहरूले कार्बन उत्सर्जन झन बढाउने संकेत गरेको छ ।

'मानिसहरूले सोचेका नहुन सक्छन् तर एआईमा प्रविष्ट हुने हरेक प्रश्न, क्लाउडमा स्टोर हुने हरेक डेटा र क्रिप्टोकरेन्सीको हरेक गतिविधिले डिजिटल कार्बन फुटप्रिन्ट र ऊर्जाको खपत बढाइरहेको छ,' साशा भन्छिन्, 'डेटा सेन्टरमा प्रयोग हुने ती धातुका ठूला भाँडाहरू अत्यन्तै तातो र खर्चिला हुन्छन् ।' विश्वव्यापी नियमन र बजार व्यवस्थापनसँगै प्रदुषण र अकासिँदो ऊर्जा खपतको वातावरणमैत्री विकल्प सोच्नुपर्ने अर्को चुनौती एआई कम्पनीहरूको सामुन्ने उभिएको छ ।

प्रकाशित : असार २५, २०८१ १६:४०
x
×