कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बनाउने भनिएका २७ सुरुङमा दुई मात्र निर्माणाधीन

कार्तिक २७, २०८०
बनाउने भनिएका २७ सुरुङमा दुई मात्र निर्माणाधीन

Highlights

  • राजनीतिक दबाबमा बजेटमा राखिए पनि दुई दर्जन सुरुङ अध्ययनमै सीमित, फास्ट ट्र्याकमा भने सुरुङको काम धमाधम 

काठमाडौँ — पछिल्लो ५ वर्षयता राजनीतिक दबाबमा नयाँ–नयाँ ठाउँमा अध्ययन गर्ने भन्दै प्रत्येक बजेटमा नाम थपेर सुरुङको संख्या मात्र २७ पुर्‍याइएको छ । निर्माण भने दुई सुरुङको मात्र अघि बढाइएको छ । नागढुंगा–सिस्नेखोला र पाल्पाको सिद्धबाबा सुरुङको निर्माण थालिए पनि आसलाग्दो प्रगति छैन । समयभित्रै निर्माण सक्ने भन्दै अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङको काम अझै सकिएको छैन । 

मुख्य सुरुङ २.६८८ किमिमध्ये २ सय मिटर खन्न बाँकी छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २.५५७ किमि दूरी रहेको उक्त आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ । यो सुरुङमा यातायात चल्न भने अझै एक वर्ष लाग्नेछ । पटकपटक म्याद थप्दा पनि यसको काम सकिएको छैन । एक महिनाभित्र मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भए पनि फिनिसिङको काम सक्न समय लाग्ने आयोजनाले जनाएको छ ।

सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने हो । यसको निर्माण ०७६ कात्तिकबाट सुरु भएको हो । ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाख १३ सम्म मात्र थियो । सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि ०८० साउन ४ सम्म म्याद थप गरियो । उक्त समयभित्र पनि काम नसकिएपछि दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । अहिले थप भएको समयभित्र पनि काम नसकिने भएकाले थप ६ महिना समय लाग्ने आयोजना प्रमुख नवीनमान श्रेष्ठको भनाइ छ । सुरुमा कोभिड र पछिल्लो समय स्थानीयका कारण निर्माणमा ढिलाइ हुन पुगेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए ।

‘कोभिडका बेला पनि सावधानी अपनाएर कामलाई रोकिएन । तर पनि कोभिडको प्रभाव भने निर्माण सामग्रीदेखि कर्मचारी व्यवस्थापनसम्ममा परिरह्यो,’ उनले भने, ‘पछिल्लो केही समययता स्थानीयले मुआब्जा, खानेपानी र सुरुङ निर्माणस्थल नजिकै भ्वाङ परेपछि विरोध गर्दै आएकाले निर्माणमा केही ढिलाइ भएको हो ।’ उनका अनुसार दैनिक ५ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ । अर्को ठेक्का सम्झौता भएको सिद्धबाबा सुरुङमा पोर्टल (प्रवेशद्वार) बनाएर काम अघि बढाउने तयारीमा रहेको उनले सुनाए । ‘सुरुङ खन्ने काम थालिएको छैन,’ उनले भने, ‘अबको एक महिनाभित्र निर्माणको काम थालिनेछ ।’

यसको डिजाइनको काम थालेको एक वर्ष बढी भयो । डिजाइनका लागि ठेक्का सम्झौताअनुसार ९ महिना समय दिइएको हो । तर निर्माण सम्पन्न गर्नुपर्ने समय भने ठेक्का सम्झौता भएको मितिबाट ५ वर्ष रहेको छ । ‘अहिलेसम्म निर्माणमा ढिलाइ नभए पनि बर्खाको समयमा काम हुन सकेन,’ उनले भने, ‘तिहारपछि कामले गति लिनेछ ।’ यो इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत ठेक्का भएकाले यसको डिजाइनको काम ठेक्का लिने कम्पनीले नै गरेको हो । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।

१.१ किमि दूरी रहेको सुरुङमार्गको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ । त्यस्तै ३ सय मिटर आपत्कालीन सुरुङ निर्माण गरिनेछ । अन्य सुरुङ अध्ययनका क्रममा रहेको निर्देशक शाक्यले बताए । धरान–लेउती सुरुङमार्गको अध्ययन गर्न भन्दै सरकारले तीन आर्थिक वर्षदेखि बजेटमा राख्दै आएको छ । यसको सम्भाव्यता अध्ययनबाहेक केही काम भएको छैन । निर्माणमा जान बजेट धेरै लाग्ने उनको भनाइ छ ।

‘अन्य सुरुङको निर्माण थालिएको छैन,’ उनले भने, ‘अध्ययनका काम मात्र भइरहेका छन् ।’ काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने टोखा–छहरे सुरुङमार्गलाई चालु आर्थिक वर्षको बजेटमा राखिए पनि काममा प्रगति छैन । निर्माणका लागि पहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्नुपर्छ । तर प्रारम्भिक अध्ययनबाहेक केही काम भएको छैन । तर अर्थमन्त्री प्रकाशशरण महतले यही वर्ष निर्माण थाल्ने भन्दै १ अर्ब २५ करोड रुपैयाँ छुट्याएका छन् । ०७६ फागुनमा २० जनाको चिनियाँ टोलीले यस सुरुङको प्रारम्भिक अध्ययन गरेको थियो ।

मन्त्रिपरिषद्ले ०८० साउन ३० मा डीपीआर संशोधन गर्न स्वीकृति दिएसँगै काठमाडौं/तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को ललितपुर खोकनादेखि बाराको निजगढसम्मको दूरी ७०.९७७ किमि कायम भएको छ । डीपीआर संशोधनपछि कुल दूरीमा १.५२३ किमि घटेको हो । डीपीआर संशोधन गरेर ३ सुरुङबाट ६ वटा बनाइएको छ । उक्त मार्गको महादेवटारमा ३.३५५ किमि, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किमिका ३ वटा सुरुङ निर्माणाधीन छन् ।

डीपीआर संशोधनपछि थपिएका सुरुङ निर्माण गर्ने स्थानमा देवीचौर १, सिसौटार ०.३९ र चन्द्राम भीर २.२५ किमि छन् । समग्र आयोजनालाई ११ वटा प्याकेजमा विभाजन गरेर ठेक्का गरिएको छ । ८ नम्बर प्याकेजको ‘ख’ र १० नम्बर प्याकेजमा जमिनको बनावट बलियो नभएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको हो ।

फास्ट ट्र्याकमा सबैभन्दा बढी प्रगति सुरुङ निर्माणमा रहेको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले बताए । निर्माण थालिएको ६.४१ किमि सुरुङमध्ये ३.१५३ किमि खन्ने काम सकिएको छ । महादेवटार सुरुङ ३.३५५ मध्ये १.४९० किमि, धेद्रे १.६३० मध्ये ८०६ मिटर र लेनडाँडामा १.४३० किमि मध्ये ८५७ मिटर सुरुङ खन्ने काम सकिएको सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले जनाए ।

‘थप भएका सुरुङको चालु आर्थिक वर्षभित्र नै ठेक्का गरेर निर्माणको काम अघि बढाइनेछ,’ प्रवक्ता भण्डारीले भने, ‘खोकना (६.५ किमि खण्ड) बाहेकको खण्डमा चालु आर्थिकभित्र नै ठेक्का व्यवस्थापनको काम सक्ने तयारी छ ।’ तर समग्र आयोजना निर्माणमा भने सन्तोषजनक प्रगति छैन ।

प्रकाशित : कार्तिक २७, २०८० ०८:१५
x
×