खोटाङमा सडक स्तरोन्नति, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार विस्तार र रोजगारी अभावले युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ भने सुविधाको खोजीमा सहरतिर झर्ने क्रम पनि रोकिएको छैन ।
What you should know
खोटाङ — पूर्वको दुर्गम जिल्लाको नामले चिनिन्छ खोटाङ । १ हजार ५ सय ५१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको खोटाङ समुद्री सतहबाट १ सय ५२ मिटरदेखि ३ हजार ६ सय २० मिटरसम्मको उचाइमा अवस्थित छ ।
मध्यपहाडी क्षेत्रका उच्चतम चुचुराहरू साल्पा–सिलिचुङ, लौरेडाडाा, मैयु, मेरुङ, टेम्के, सेल्मे, रूपाकोट जस्ता सुन्दर स्थानले भरिएको जिल्ला हो खोटाङ । रावा, साप्सु, तावा, सावाजस्ता खोलाले बनाएको बेंसीका फााट, सिमसार, हरियाली वन तथा जैविक विविधताले भरिभराउ छ खोटाङ । २०७८ को जनगणना अनुसार खोटाङको जनसंख्या १ लाख ७५ हजार २ सय ९८ छ । जिल्लाको जनसंख्या २०६८ को तुलनामा १ दशमलव ५६ प्रतिशतले घटेको छ । जनसंख्या घट्नुको मुख्य कारण बसाइँसराइ हो ।
शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिमा बाँदर आतंकलगायतका कारण बसाइँसराइ गर्नेको संख्या बढ्दो छ । तथ्याङ्क कार्यालय खोटाङका प्रमुख विकास मल्लका अनुसार २०७८ को जनगणनाका आधारमा २६ हजार ९ सय ६७ जनाले बसाइँ सरेका छन् । वर्सेनि बसाइँसराइको संख्या १५.६ प्रतिशतले ऋणात्मक रहेको मल्लले सुनाए ।
जिल्लाबाट वैदेशिक रोजगारमा जानेको संख्या ३७ हजार ३ सय १७ जना पुगेको छ । वैदेशिक रोजगारमा काम गर्ने संस्था रेमी परियोजनाका संयोजक ओजोनबाबु आचार्यका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९ सय २८, २०७८/७९ मा ७ हजार ८ सय ७०, २०७९/८० मा ९ हजार ८०६, २०८०/८१ मा ८ हजार ५ सय ८३ र २०८१/८२ मा ९ हजार १ सय २८ जना विभिन्न मुलुकमा वैदेशिक रोजगारका लागि गएका हुन् ।
जिल्लामा १ सय ४ माविसहित ५ सय १४ विद्यालय छन् । यसमध्ये कृषि, टेक्निकल गरी ६ विद्यालयमा मात्र प्राविधिक धारको पढाइ हुने शिक्षा विकास समन्वय इकाइ खोटाङका प्रमुख तीर्थ विश्वकर्माले बताए ।
सिटिइभिटी अन्तरगत सरकारको आंगिक रूपमा महुरेगढी बहुप्राविधिक शिक्षालय सञ्चालनमा छ । उक्त शिक्षालयमा डिप्लोमा लेभलको पढाइ हुन्छ । फरेष्ट्री र सिभिल इन्जिनियरिङ गरी ७५ जना अध्ययरत छन् । दिक्तेल टेक्निकल स्कुलमा पनि १८ महिने सिभिल इन्जिनियरिङको पढाइ हुने गरेको छ ।
दुई नगरपालिका र ८ गाउँपालिकासहित १० स्थानीय तह भएको खोटाङका अधिकांश ग्रामीण बस्तीमा सडक पुगेको छ । तर सडक बनाइएका सबै ठाउँमा यातायात सञ्चालन भएको छैन । खेतीयोग्य जमिन, डाँडा, वन क्षेत्रमा अव्यवस्थित रुपमा सडक खनिएको छ । पछिल्लो अवधिमा अधिकांश स्थानीय तहले सडकको स्तरोन्नतिलाई प्राथमिकता दिएका छन् । ‘जिल्लाभर बेहिसाब धेरै सडक खनिएका छन्, पछिल्लो समय नयाँ ट्रयाक खोल्ने भन्दा स्तरोन्नतिमा ध्यान दिएको पाइयो,’ जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले भने, ‘अब नयाँ ट्रयाक खोल्न आवश्यक छैन, खनिएका पुरानै सडकलाई स्तरोन्नति गरे पुग्छ ।’
जिल्लालाई मध्यपहाडी लोकमार्गले छोएको छ । यसले गर्दा सहरसँगको यातायातको सम्बन्ध जोडिएको छ । तर उक्त मध्यपहाडी लोकमार्गमा पर्ने चखेवादेखि सेखुवासम्मको १० किलोमिटर सडक अपूरै छ । उक्त सडक अन्तरगत पर्ने पङखुखोलास्थित पक्की पुल पनि अलपत्र छ । यसबारेमा पटक–पटक सम्बन्धित निकायसमक्ष कुरा गर्दा समेत काम हुन नसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाअध्यक्ष दिनेश कठायतले बताए ।
३१ वर्षअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु गाइघाट–दिक्तेल (सगरमाथा लोकमार्ग) सडक अझै अपूरै छ । पटक–पटक ठेक्का लागे पनि काम छाडेपछि अलपत्र परेको उक्त सडक यो चोटी कालोपत्रको काम धमाधम भइरहेको छ । यस सडक खण्डमै पर्ने फोक्सिङटारस्थित दूधकोशी नदीको पक्की पुल अघिल्लो वर्षको बाढीले बगाएपछि वर्षामा तराईसँगको यातायात सम्बन्ध टुट्ने गरेको छ । उक्त पुल १२ वर्ष लगाएर निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै अघिल्लो असोज १२ मा बगाएपछि जिल्लाबासीमा निरासा छाएको छ । हिउँदमा भने उक्त ठाउँमा बेलिब्रिज लगाउने गरिएको छ ।
हलेसी क्षेत्रको खानेपानी योजना अपूरै छ । करिब १ अर्ब लागनीमा दूधकोशीबाट लिफ्टिङ गरी हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङडाँडाको रिजर्भ ट्याङ्कीमा पानी निकालिए पनि हाउस कनेक्सनको काम बाँकी हुँदा उपभोक्तालाई पानी वितरण गर्न नसकिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । उक्त योजना अन्तरगत दुई वटा ठाउँमा रिजर्भ ट्याङ्कीमा पानी जम्मा गरी वितरण गर्ने योजना छ ।
यसअन्तरगत तुवाचुङडाँडाको रिजर्भ ट्याङ्कीबाट महादेवस्थान, दुर्छिम र मङ्गलटारका उपभोक्तालाई र भुम्जुडाँडाको रिजर्भ ट्याङ्कीबाट बाहुनीडाँडा, बडहरे, डिकुवा र च्यास्मिटारका उपभोक्तालाई पानी वितरण योजना थियो । यसमध्ये भुम्जुडाँडाको रिजर्भ ट्याङ्कीको पानी भने वितरण भइसकेको गिरीले सुनाएका छन् । तुवाचुङडाँडाको ट्याङ्कीको पानी पनि चुनावपछि लगत्तै गर्ने गिरीले जनाए । उक्त योजनाको ठेक्का दिवा–महादेव–खिम्ती जेभीले लिएको थियो ।
५० शय्याको अस्पताल भवन निर्माण अपूरै
जिल्लामा स्वास्थ्य सेवा प्रभावकारी नहुँदा हेलिकोप्टर चार्टर गरेर उपचार गर्न बाध्यता छ । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा सेवा प्रभावकारी नहुँदा अन्यत्र जानुपर्ने बाध्यता आएको हो । जिल्ला अस्पताल खोटाङमा भवन अभावमा ५० शय्याको सेवा विस्तार हुन सकेको छैन । गत असार २२ मा १५ बाट ५० शय्याको अस्पताल उद्घाटन गरिए पनि निर्माणाधीन भवन बेलामा नसकिँदा सेवा विस्तार गर्न नसकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख राईले बताए ।
सेवा विस्तारका लागि प्रदेश सरकारले ४ करोड, आइसीयू सेवा विस्तारका लागि ७७ लाख, ब्लड बैंकका लागि २० लाख, निःशुल्क औषधिका लागि २८ लाख, शववाहनका लागि २० लाख बजेट उपलब्ध गराए पनि भवन नसकिँदा सेवा विस्तार गर्न नसकिएको हो ।
भवन निर्माण बेलामा नसकिँदा १५ शय्याको सेवा संचालन भइरहेको छ । ५० शय्याको अस्पताल निर्माणका लागि संघीय सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँको लागतमा ३० महिनाभित्र सक्ने गरी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले २०७८ असार २४ गते सघन सहरी भवन निर्माण आयोजना ओखलढुंगासँग सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि काम नसकिँदा टहरामा उपचार गर्न बाध्यता आइपरेको हो ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिकाको चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्यबाहेकका विरामी अन्यत्र जानु परेको उक्त गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । बिमासहितको फार्मेसी सञ्चालन भएकाले सामान्य किसिमका विरामीका लागि सहज भएको छ ।
ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच शय्याको सुविधासहित स्वास्थ्य सेवा प्रवाह गरिएको छ । ल्याब, भिडिओ एक्स–रे, एक्स्–रे, २४ घण्डे इमर्जेन्जी सेवा, २४ घण्टे प्रसूति केन्द्र सञ्चालन भइरहेको ऐसेलुखर्क गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सचिन श्रेष्ठले बताए । यहाँ रेबिज भ्याक्सिन समेत सञ्चालन भएकाले सोलुखुम्बुको थुलुङ दूधकोसी र खोटाङकै रावाबेसी गाउँपालिकाबाट समेत सेवा लिन आउने गरेको श्रेष्ठको भनाइ छ ।
हलेसी तुवाचुङ नगरपालिका–५ छापडाँडास्थित नगर अस्पतालले ल्याब, एक्स–रे, भिडिओ एक्स–रे, पाँच शय्याको सेवासहित नागरिकलाई सेवा प्रवाह गरिरहेको उक्त नगरपालिकाका प्रवक्ता गिरीले बताए । स्वास्थ्यकर्मीलाई नगरपालिकाको स्रोतबाटै अस्पताल सञ्चालन गरिएको गिरीले सुनाए ।
त्यस्तै खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित आधारभूत अस्पतालमा एक्स–रे, भिडिओ एक्स–रे, ल्याब सुविधासहित संचालनमा रहेको हेल्थ असिष्टेन्ट सुमन दाहालले बताए । पाँच शय्याको अस्पताल सुविधासहितमा दैनिक २० जनाको हाराहारीमा सामान्य किसिमका विरामीको उपचार हुने गरेको दाहालले सुनाए । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि आधारभूत अस्पताल सञ्चालनमा छ । उक्त पालिकाको वडा १ याम्खास्थित उक्त अस्पतालमा ल्याब, भिडिओ एक्स–रेसहित पाँच शय्याको सेवा प्रवाह हुने गरेको जनस्वास्थ्य निरीक्षक मुरारी सिग्देलले बताए।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले खटाएको कामदारले काम छाडेर गएपछि भवन निर्माण अलपत्र परेको हो । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार निर्माणमा संलग्न कम्पनीले कामदारलाई पैसा नदिएकाले छाडेर हिँडेको हो । कामदारले गत मङ्सिरसम्म काम गरेको तर पैसा नपाएपछि छाडेर हिँडेको गिरीले बताए । उक्त भवनको ठेक्का नमुना हिमालयन जेभी विराटनगरले लिएको हो । संघीय सरकारको ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रूपैयाँ (भ्याटबाहेक) बजेटमा २०८० साउन ७ सम्म सक्ने गरी २०७८ साउन ७ मा उक्त निर्माण कम्पनीले सम्झौता गरेको थियो ।
उक्त भवन बेलामा नबनेपछि पटक–पटक निर्माणअवधि थपिँदै आएको छ । पछिल्लो अवधिमा २०८२ असार २९ को कार्यपालिकाको बैठकले तेस्रो पटक २०८३ साउन ७ सम्मका लागि म्याद थप गरेको छ । उक्त भवनको बेसको पिलर मात्र उठाएको छ । अहिलेसम्म करिब ३४ प्रतिशत बराबरको ४ करोड भुक्तानी भएको हलेसी तुवाचुङ नगरपालिकाका लेखा अधिकृत नवराज कटवालले बताए । उक्त रकम सुरुको रनिङ बिलको भुक्तानी गरिएको हो ।
भवन अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने जग्गादाताहरूले बताएका छन् । अस्पताल बन्छ र उपचार सुविधा पाइन्छ भनेर जग्गा दिएको तर अहिलेसम्म नबकेकोप्रति दुःख लागेको जग्गादाता प्रकाशचन्द्र गिरीले बताए । काम अलपत्र पारेकोप्रति नगरपालिका, वडा र सम्वन्धित निर्माण कम्पनीलाई गुनासो राख्दा बेवास्ता गरिएको गिरीले दुःखेसो पोखेका छन् । यसमा संलग्नलाई कारबाही गर्नुपर्ने समेत गिरीको भनाइ छ ।
काम अलपत्र पारेपछि सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गर्दा समेट अटेर गरेकाले कारबाही प्रक्रिया बढाउने तयारी गरेको प्रवक्ता गिरीले सुनाए । सुरुमा डिपिआर अनुसार फिल्डमा जग्गा नभएकाले डिपिआर परिवर्तन गर्नुपर्ने हुँदा निर्माणमा ढिलाइ भए पनि पछिल्लो समय डिपिआर बनिसकेपछि पनि काम नगर्दा समस्या आइपरेको गिरीले सुनाए ।
यसका साथै भवन निर्माणको थालनीमै पिलरहरू बांगिएको र त्यसलाई भत्काएर अर्को पिलर बनाउन लगाइएको समेत गिरीले जनाए । भवनको तल्लोपट्टिको ६ वटा पिलर बांगिएपछि भत्काएर बनाउन लगाइएको हो । उक्त भवन निर्माण थालेपछि पार्किङ, गेट, शवगृह, क्यान्टिन, फार्मेसीलगायतको संरचना नमिलेपछि डिपिआर परिवर्तन गर्नु परेको गिरीको भनाइ छ । निर्माणमा संलग्न सुशील रेग्मीले भने अब केही दिनमै काम सुरु गर्ने बताए ।
आशाको केन्द्र दूधकोशी जलासय आयोजना
निर्माणाधीन ६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलासययुक्त जलविद्युत आयोजनाले जिल्लावासीमा आशा पलाएको छ । करिब २ खर्ब २० अर्ब लागतमा सुरु भएको उक्त आयोजना १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
उक्त आयोजनाले खोटाङको रावाबेसी गाउँपालिकाका ६ वटा वडा, हलेसी तुवाुचुङ नगरपालिकाका २, ऐसेलुखर्क गाउँपालिकाका ३, ओखलढुङ्गाको चिसङकुगढी गउँपालिकाका ५, सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका १ र नेचा सल्यान गाउापालिकाको १ वटा वडालाई प्रभावित पार्ने छ । उक्त आयोजना अन्तरगत खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको बीचमा पर्ने रभुवास्थित दूधकोशी नदीको पानीलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको धितुङमा लगेर ६ सय ३५ मेगावाट र ओखलढुङ्गाको चिसङकुगढी गाउापालिकाको भोजे क्षेत्रमा ३५ मेगावाट क्षमताको विद्युत उत्पादन हुने छ ।
उक्त आयोजनाको वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । एशियाली विकास बैंकको लिड पार्टनरमा वित्तीय व्यवस्थान भइरहेको दूधकोशी जलासययुक्त जलविद्युत आयोजनाका उपनिर्देशक बासु कलमीले बताए । वित्तीय व्यवस्थापनको काम टुंगो लाग्नासाथ सन् २०२६ को अन्त्यतिर काम सुरु हुने कलमीको भनाइ छ । ‘वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ’ कलमीले भने, ‘व्यवस्थापन हुनासाथ यही सन २०२६ को अन्त्यतिर काम सुरु गर्ने लक्ष्य लिइएको छ ।’
आयोजना सुरु हुनुअघिको काम पनि धमाधम भइरहेको रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । उनका अनुसार रभुवाको बेलिब्रिज, तिर्पाबेसीको पक्की पुल, लैकुखोलाको पक्की पुलको काम धमाधम निर्माणाधीन अवस्थामा छ । यसबाहेक क्याम्प साइटको ४ वटा भवन बनिसकेको छ । साइट बाटो खन्न काम समेत सुरु भएको श्रेष्ठले सुनाए । यसबाहेक जिल्लामा ठूला–साना गरी करिब १ सय ५० भन्दा बढी पूर्वाधार विकासका योजना निर्माणधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ ।
अलैंची र किवीले आस देखाउँदै
जिल्लामा अलैंची, सुन्तला, किबी उत्पादनले किसानलाई हौस्याएको छ । यो वर्ष जिल्लामा १ अर्ब ३५ करोड बढीको अलैंची उत्पादन भएको छ । जिल्लाको १ हजार ६४ हेक्टरमा ५ सय ४२.६४ मेट्रिक टन अलैंची उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दीपक चौहानका अनुसार यो वर्ष १३ हजार ५ सय ६६ मन अलैंची उत्पादन भएको हो । प्रतिमन १ लाख रूपैयाँको दरले १ अर्ब ३५ करोड ६६ लाख रूपैयाा बराबरको अलैंची उत्पादन भएको चौहानले बताए । त्यस्तै जिल्लामा यो वर्ष ३४ करोड १० लाख रुपैयााको ३४ सय १० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लाको ९ सय ८० हेक्टरमा ३४ करोड १० लाख रूपैयाँको सुन्तला उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ चौहानका अनुसार यो वर्ष गत वर्षको तुलनामा १५ हेक्टरमा सुन्तला उत्पादन घटेको चौहानले बताए । ‘गत वर्ष ९ सय ९५ टेक्टरमा सुन्तला उत्पादन भएकोमा यो वर्ष घटेर ९ सय ८० हेक्टरमा मात्र सुन्तला उत्पादन भयो,’ चौहानले भने, ‘उत्पादन भएको ३४ सय १० मेट्रिकटन सुन्तला प्रतिकेजी १ सय रूपैयाँको हिसाबले ३४ करोड १० लाख बराबरको उत्पादन भएको छ ।’
किवी खेतीमा भने यो वर्ष ३० प्रतिशतले उत्पादन घटेको किसानहरूको भनाइ छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का शुभचन्द्र राईका अनुसार यो वर्ष जिल्लाभर करिब १ करोड रूपैयाँको मात्र किवी निकासी भएको छ । खोटाङमा उत्पादित किवी काठमाडौं, विराटनगर, धरानलगायतसम्म जाने गरेको राईले बताए । प्रतिकिलो १ सय ५० देखि २ सय रूपैयाँसम्ममा किवी बिक्री हुने भएको छ । यसका साथै किवीबाट जुस, वाइन, जाम, क्यान्डी, ब्रान्डी, आइक्रिमलगायतका परिकार उत्पादन गर्ने गरेको राईले जनाए ।
प्रसिद्ध हलेसी, मुन्दुम ट्रेल, विभिन्न सांस्कृतिक गतिविधि यहाँको पर्यटन विकासको मुख्य आधार हो । हिन्दू, बौद्ध र किराती समुदायको प्रसिद्ध धार्मिकस्थल हलेसीमा पछिल्लो अवधिमा तिर्थालुको संख्या बढेको छ । यातायातको सुविधा तथा प्रचार–प्रसारका कारण विभिन्न देशका तिर्थालु आउने गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीको भनाइ छ ।
अघिल्लो वर्ष ६ लाख ७५ हजार तिर्थालु आएकोमा यो वर्ष ७ हजार बढी तिर्थालु आउने अनुमान गरिएको गिरीले सुनाए । यसका साथै मुन्दुम ट्रेल पनि पर्यटनको केन्द्र मानिन्छ । यसबाहेक खोटाङ किराती समुदायको सघन बसोबास भएकाले विभिन्न किरात राईहरूको सांस्कृतिक पक्षहरूको अध्ययन गर्न आउने भएकाले यसलाई पनि पर्यटन विकासको रूपमा लिन सकिने किरात संस्कृतिविद् चतुरभक्त राईले बताए । पर्यटन प्रबर्द्धनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी वैसाखमा रेडपाण्डा र थार सम्मेलन गर्ने तयारी समेत गरेको छ ।
पूर्वाधारकै अभाव झेलिरहेको कालीकोट
बर्दियामा सधैंको चुनावी एजेन्डा: मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण र मल-बीउको व्यवस्थापन
आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको दोबाटोमा झापा
‘विपन्न’को परिचय फेरिने पर्खाइमा बाजुराबासी
सुनसरीका दुई मुहार: विकसित सहर, पछाडि परेका गाउँ
रामेछापमा जनसंख्या घट्दै, विकासका पूर्वाधार अधुरै
बझाङ: सम्भावनाको खानीभित्र समस्याले जेलिएको जिल्ला
रोजगारी र पूर्वाधार अभावले रित्तिँदै गोरखाका गाउँ
बसाइँसराइ कम हुने डोल्पामा जडीबुटी र पर्यटनको सम्भावना
सुक्खा बन्दरगाह र महाकाली करिडोरले आस देखिरहेको कञ्चनपुर
खेतीमा बाँदरको अवरोध खेपिरहेको बागलुङ मासु चीन निर्यात गर्ने तयारीमा
पूर्वाधारकै अभावमा प्रदेश राजधानी सुर्खेत
बाँदर आतंक र पूर्वाधार अभावले रित्तिँदै स्याङ्जाका गाउँ
विकासका पूर्वाधार बढिरहेको मकवानपुरमा युवा टिकाउन सकस
लुम्बिनीको राजधानी दाङमा विकास अपुग
