कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

एसईईपछि के ?

असार २६, २०८०
एसईईपछि के ?

एसईईपछि उच्च शिक्षा अध्ययनका लागि कुुन विषय, कहाँ, किन पढ्ने भन्नेबारे विद्यार्थी र अभिभावकमा खुलदुली हुनु स्वाभाविकै हो । भरखरै एसईई उत्तीर्ण विद्यार्थीहरूले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ‘वल्लो घाट न पल्लो तीर’ भएर हन्डर खाएका उदाहरण धेरै छन् ।

श्रमबजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौतीहरू थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न समयको माग अनुसार अध्ययन गर्ने विषयको छनोट होस पुर्‍याएर गर्नुपर्छ । कुन विषय किन र कहाँ पढ्ने भन्ने जिज्ञासामा अभिभावक र अनुभवीहरूको सल्लाह र सुझाव मार्गदर्शन हुन सक्छ ।

विद्यार्थीलाई नै थाहा हुन्छ, आफ्नो वास्तविक खुबी । १ देखि १० कक्षासम्मको आफ्नो पढाइको स्तर हेरेर उच्च शिक्षाका लागि विषय छान्नुपर्छ । कुनै पनि विषय सानो हुँदैन । आफूले पढेको विषयमा सतही ज्ञान होइन कि विशेषज्ञता हासिल गर्नुपर्छ । पढ्ने विषय रोज्दा आफ्नो रुचि क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि पक्षमा विशेष ध्यान दिनुपर्छ । शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसियरमा लेखिएका कुरालाई मात्रै विश्वास नगरी शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता र पारदर्शितासमेतलाई वस्तुनिष्ठ भएर प्रत्यक्ष अवलोकन गर्नुपर्छ । भविष्यमा अपनाउने पेसा, त्यसका लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताका बारेमा यथार्थपरक भएर गम्भीर विश्लेषण गर्नुपर्छ । अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनोट गर्नु बुद्धिमानी हुन्छ ।

अभिभावकलाई विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरूलाई भन्दा बढी थाहा हुन्छ । छोराछोरीको इच्छाविपरीतका विषय जबर्जस्ती पढ्न लाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्यासमेतका अप्रिय घटना हुने गरेको पाइन्छ । त्यसकारण छोराछोरीको क्षमता र रुचि अनुसारको विषय छनोट गर्न बाबुआमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूको भावनाको कदर गर्दै विषयगत उपलब्धिहरूका आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहित गर्नुपर्छ, ताकि उनीहरू आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न सक्षम होऊन् । छोराछोरीको विगतको शैक्षिक उपलब्धि, पृष्ठभूमि जान्न शिक्षण संस्थासँग सम्पर्क गर्नुपर्छ । अभिभावकले आफ्नो आर्थिक हैसियतलाई ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचारप्रसारको वास्तविक धरातलसमेतको अध्ययन–अवलोकन गरे पछुताउनु पर्दैन ।

अर्कातर्फ, शिक्षा प्रदान गर्ने सामाजिक एवं परोपकारी दायित्व लिएका शिक्षण संस्थाहरूले आफ्नो साधनस्रोत र शैक्षिक उपलब्धिबारे पारदर्शी रूपमा, इमानदारीपूर्वक जानकारी गराउनुपर्छ । मानवीय संसाधन विकास गर्ने अभिभारा लिएका संस्थाहरूले नै हेलचेक्य्राइँ गर्नु भनेको व्यक्ति, समाज र अन्ततोगत्वा देशलाई नै धोका दिनु हो । शिक्षण संस्थाले क्षणिक लाभका लागि गरेको बेइमानी प्रकारान्तरले उसैका लागि आत्मघाती हुन सक्छ । भनिन्छ, बाली लगाउन कम्तीमा ६ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन १ सय वर्षको योजना बनाउनुपर्छ । देखासिकी गरी धुरी चढ्नुको साटो संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भाव्यताको अध्ययन–अनुसन्धानपछि मात्र शिक्षणसंस्था सञ्चालन गर्नु फलदायी हुन्छ । संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासिल गर्न सेवाग्राहीको विश्वास जित्नुपर्छ । विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रका रूपमा संस्थालाई स्थापित गर्ने लक्ष्य राख्नुपर्छ । विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरि मान्नुपर्छ ।

त्यस्तै, राज्य पक्षले शिक्षण संस्थाहरूको संख्यात्मकतथा गुणात्मक अवस्थाको अनुगमन–निरीक्षणलाई सशक्त बनाउनुपर्छ । तोकिएका सेवासर्त अनुसार ती सञ्चालन भएका छन् कि छैनन् ? निरन्तर अनुगमन अपरिहार्य हुन्छ । शुल्कको पारदर्शिता एवं औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ । तिनलाई विद्यार्थीको उपलब्धिप्रति जवाफदेह बनाउनुपर्छ ।

अन्त्यमा, विद्यार्थीले कहरले भन्दा पनि रहरले पढ्ने विषय र शिक्षण संस्था छान्नुपर्छ । जे विषय जहाँ पढे पनि केही मानवीय र अत्यावश्यक साझा गुणको विकास गर्न भने चुक्नु हुन्न । सृजनशील, लगनशील, सीपयुक्त, ऊर्जावान्, लगनशील, नेतृत्व क्षमता भएको, टिम वर्क गर्न सिपालु, प्रभावकारी सञ्चार कला भएको, समयको व्यवस्थापन गर्न सक्ने उत्साही तथा आत्मविश्वासी व्यक्तिले हरेक क्षेत्रमा सफलता चुम्न सक्छ ।

कार्की शिक्षा मन्त्रालयका पूर्वउपसचिव हुन् ।

प्रकाशित : असार २६, २०८० ०७:०९
×