कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

धेरै दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टर बनाउन छलफल भइरहेको छ : मन्त्री दाहाल

भाद्र २३, २०८१
धेरै दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टर बनाउन छलफल भइरहेको छ : मन्त्री दाहाल

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

धेरै सडक दुर्घटना भइरहका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरुसँग पनि छलफल भइरहेको उनले बताए ।

मन्त्री दाहालले दुर्घटनामा तत्काल उद्धार नहुँदा मानिसहरुले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको बताए । उनले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानुनहरु नबनाइएको भन्दै सरकार अब फास्ट ट्रयाकबाट कानुन बनाउने गरी अघि बढिरहेको पनि बताए ।

उनले भने, ‘रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको छ । गठन आदेशबाट निर्माण भएको छ । यसको कानुन बनाउनै बाँकी छ । हाम्रो तर्फबाट हुने ऐन, कानुन निर्माण गर्नेकुरा बाँकी छ । ऐन कानुन बनाउने सन्दर्भमा हामी एकदमै यसलाई फास्ट ट्रयाकबाट कसरी लैजान सकिन्छ भनेर सोचिरहेको अवस्था छ । हाम्रो तयारी विभिन्न एक्सिडेण्ट भइरहने ठाउँहरुमा ट्रमा सेन्टरको अवधारणामा काम गरिरहेका छौँ । अरु मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । छिटो रेस्क्यु नहुँदा मान्छेको मृत्यु भएको गुनासो छ, यसलाई कसरी व्यवस्थित गर्ने भन्नेमा हामी गम्भीर छौँ । खाल्डाखुल्डीरहित नेपाल बनाउने अभियानमा हामी लागेकै अवस्था छ ।’

मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाउने भन्दै खाल्डाखुल्डीरहित नेपाल बनाउन आफूहरुले प्रयास गरिरहेको बताए ।

प्रकाशित : भाद्र २३, २०८१ १५:०४
x
×