कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं : पुन

भाद्र १७, २०८१
सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं : पुन

नेपालगञ्ज — माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा रहँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृतिविरुद्ध संघर्ष गरेको बताएका छन् । उनले वर्तमान एमाले र कांग्रेसको गठबन्धन सरकार जनताको पक्षमा नरहेको पनि बताए । 

नेपालगञ्जमा आयोजित अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै पुनले माओवादी केन्द्र संसद् र सडकबाट जनताको पक्षमा काम गर्ने बताए । प्रतिपक्षले सरकारलाई खबरदारी निरन्तर गरिरहने उनको भनाइ थियो ।

माओवादी केन्द्र सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृतिविरुद्ध संघर्ष गरेको पुनले बताए । 'हामीले सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं । माओवादीले सरकार छाडेपछि पनि हाम्रो पार्टीपंक्ति किन उत्साहित छ र उच्च मनोबल किन छ भन्दा सामाजिक न्याय र सुशासन लागि जनताको आकांक्षा अनुसार काम गरेका छौं ।’ दाहाल नेतृत्वको यसअघिको सरकारले जनताको पक्षमा काम गरेकै कारण सरबारबाट बाहिरिँदा पार्टी पंक्तिको मनोबल उच्च भएको पुनको दाबी थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा कांग्रेससहितको सरकार सुशासनको पक्षमा काम गर्नेहरू विरुद्धमा भएको पुनले बताए । सुशासनको विरुद्धमा रहेको प्रवृत्तिलाई पराजित गर्न लाग्नुपर्ने उनले बताए ।

माओवादी केन्द्रको सातवटै प्रदेशका परामर्श बैठक सकिँदै गर्दा पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको पुनले बताए । पार्टी एकताबद्ध भएर सडक र संसदबाट संघर्षमा जाने उनको भनाइ थियो । ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ । हामी जनताको एजेन्डामा एकजुट भई सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौं, संघर्ष गर्छौं,’ उनले भने ।

माओवादी सरकारबाट बाहिरिएपछि पुराना संसद्वादी पार्टीहरू एकातिर र माओवादी लगायतका दलहरू अर्कोतिर भएको पुनको भनाइ थियो । माओवादी पनि एमाले र कांग्रेसजस्तै भयो भन्ने पार्टीभित्रको गुनासो पनि सकिएको उनले बताए । ‘अब हामीलाई पुराना पार्टीहरूभन्दा फरक हौं भनेर पुष्टि गर्ने मौका आएको छ । आफ्नो धार बोकेर अगाडि बढेका छौं । सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित वर्गको आवाज र एजेन्डाको नेतृत्व हामी गर्छौं,’ उनले भने ।

कांग्रेस र एमालेको गठबन्धन बनेर ओलीको नेतृत्वमा सरकार गठन भएपछि जनतामा उकुसमुकुस, असन्तुष्टि र विद्रोहको भावना बढेको पनि पुनको भनाइ थियो ।

प्रकाशित : भाद्र १७, २०८१ १९:५६
x
×