कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

त्रिविले माग्यो क्याम्पस प्रमुखदेखि डीनका लागि आवेदन

भाद्र १७, २०८१
त्रिविले माग्यो क्याम्पस प्रमुखदेखि डीनका लागि आवेदन

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले ११ क्याम्पसमा क्याम्पस प्रमुख, ८ संकायमा डीन लगायत केही विभागीय प्रमुख, सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि आवेदन माग गरेको छ । 

सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै शिक्षाध्यक्ष (रेक्टर) कार्यालयले ११ क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो । मेरिटका आधारमा पदाधिकारी नियुक्ति गर्ने भन्दै त्रिविले यसअघि नै सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ जारी गरिसकेको छ । विनियमका आधारमा नियुक्तिका लागि इच्छुक अध्यापकबाट दरखास्त माग गरिएको हो । क्याम्पस प्रमुखका लागि आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिन भनिएको छ ।

सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौं, पृथ्वीनारायण क्याम्पस पोखरा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, बुटबल बहुमुखी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस डोटी, पाटन संयुक्त बहुमुखी क्याम्पस ललितपुर, विश्वभाषा क्याम्पस काठमाडौं, सुर्खेत क्याम्पस (शिक्षा) र जुम्ला क्याम्पसको प्रमुखका लागि दरखास्त माग गरिएको हो ।

त्यस्तै त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयले ८ वटा संकायको डीन नियुक्तिका लागि पनि आवेदन माग गरेको छ । विनियमअनुसार नै चिकित्सा शिक्षा अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र र शिक्षा शास्त्र संकायको डीन नियुक्तिका लागि आवेदन माग गरिएको छ । कार्यकारी परिषद्ले गत साता ३/३ सदस्यीय छनोट समिति गठन गरेको थियो । सूचना अनुसार इच्छुक उमेद्‍वारले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक नियुक्तिका लागि समेत आवेदन माग गरिएको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयसहित क्षेत्रिय कार्यालयमा ६ जना सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि समेत रजिष्ट्रार कार्यालय अन्तर्गतको छनोट समितिले दरखास्त माग गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुमा २ जना तथा क्षेत्रीय कार्यालयहरु विराटनगर, पोखरा, नेपालगञ्ज र मधेस प्रदेश कार्यालयका लागि १/१ जना सहपरीक्षा नियन्त्रकका लागि आवेदन माग गरिएको हो । त्रिवि प्रिन्सिपल कार्यालय अन्तर्गत छनोट समितिले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग, द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग, लैङ्गिक अध्ययन विभाग र सामाजिक कार्य विभागका प्रमुख नियुक्तिका लागि समेत आवेदन माग गरेको छ । यी पद रिक्त रहेका र पुससम्म रिक्त हुने पदका लागि आवेदन माग गरिएको उपकुलपति कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०८१ १४:४६
x
×