कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

प्रधानमन्त्री ओलीले गराए सरकारका प्रवक्ता गुरुङलाई सचेत

भाद्र १७, २०८१
प्रधानमन्त्री ओलीले गराए सरकारका प्रवक्ता गुरुङलाई सचेत

Highlights

  • विवादास्पद अभिव्यक्ति नदिन सञ्चारमन्त्री गुरुङलाई ओलीको निर्देशन

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई विवादास्पद अभिव्यक्ति नदिन सचेत गराएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पोखरामा शनिबार प्रेस चौतारी नेपालको कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई लक्षित गरी दिएको आपत्तिजनक अभिव्यक्तिपछि ओलीले उनलाई साेमबार सचेत गराएका हुन् ।

गुरुङले प्रहरी समायोजन गर्ने विषयमा प्रहरी महानिरीक्षकले अवरोध गरेको भन्दै ‘जिब्रो थुत्नुपर्ने’ भनी अशोभनीय र अमर्यादित अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीले साेमबार बालुवाटारमा बोलाएर ‘अब बोल्दा विचार गर्नु’ भन्दै उनलाई सचेत गराएका हुन् ।

मन्त्री गुरुङले आफूले पोखरामा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले चासो राख्दै ‘अब बोल्दा विचार गर्न’ सचेत गराएको बताए । ‘प्रधानमन्त्रीज्यूले मैले पोखरामा दिएको अभिव्यक्तिबारे के हो भनेर सोध्नु भयो । मैले सैद्धान्तिक रूपमा प्रहरी समायोजनबारे बोलेको थिएँ । प्रहरी महानिरीक्षकले संविधानमा उल्लेख भएको विषय कार्यान्वयन गर्दिन भन्न मिल्छ र ? भनी प्रश्न उठाएको जानकारी दिएँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सोधेका प्रश्नको छोटो उत्तर दिन सुझाव दिनुभएको र अब विवाद आउने विषय ख्याल गरेर बोल्न सचेत गराउनु भयो ।’

सरकारको प्रवक्ता भएको हुनाले आगामी दिनमा सन्तुलित अभिव्यक्ति दिनेमा आफू सचेत रहेको पनि मन्त्री गुरुङले बताए ।

प्रकाशित : भाद्र १७, २०८१ २२:२७
x
×