कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

कृषिमन्त्रीसँग एडीबीका देशीय निर्देशकको शिष्टाचार भेट

भाद्र १७, २०८१
कृषिमन्त्रीसँग एडीबीका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक आर्नौड काउचोइसले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । 

भेटमा मन्त्री अधिकारीले एडिबीको सहयोगमा सञ्चालित आयोजनाले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताए । उनले आयोजनाबाट राम्रो उपलब्धि हुँदाहुँदै पनि केही समस्या रहेकाले उक्त समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गरे ।

मन्त्री अधिकारीले भने, 'आगामी दिनमा सञ्चालन हुने आयोजनामा क्रमशः समस्या सुधार गर्न मेरो चासो रहने छ ।' सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उनले बताए।

उत्पादनदेखि बजारीकरणसम्म कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एसियाली विकास बैंकबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा रहेको उनले बताए ।

'कृषि सम्बन्धी उपजहरूको मूल्य शृङ्खला विकास तथा प्रशोधनमा गरिने सहयोगले मूल्य शृङ्खलामा विकास भई कृषि उपजको मूल्य अभिवृद्विका साथै मुल्य शृङ्खलामा किसानको पहुँच वृद्धि हुनेछ', उनले भने, 'एडिबीको सहयोगमा किसानको प्रत्यक्ष हित हुने र ग्रामीण रोजगारी सृजना हुने नयाँ परियोजना सञ्चालन हुने आशा गरेको छु ।'

बैंकका देशीय निर्देशक काउचोइसले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिँदै थप परियोजनाका सम्भावना खोज्न तयार रहेको बताए ।

प्रकाशित : भाद्र १७, २०८१ २२:५०
x
×