कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

'जनयुद्ध' जस्तै समाजवादी क्रान्तिको तयारीमा छु : अध्यक्ष दाहाल

भाद्र १, २०८१
'जनयुद्ध' जस्तै समाजवादी क्रान्तिको तयारीमा छु : अध्यक्ष दाहाल

Highlights

  • ‘प्रतिक्रियावादीहरु पार्टी फुटाउन लागेकै छन् । प्रतिक्रियावादी षड्यन्त्र खारेज भएको छ । प्रभाकर (जनार्दन शर्मा) ले पार्टी फुटाउँदै भन्ने भ्रम चिरिइसकेको छ’

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र युद्धजस्तै समाजवादी क्रान्तिको तयारीमा लागेको बताएका छन् । उनले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थित गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने दाबी गरे । 

शनिबार राजधानीमा भएको कार्यक्रममा दाहालले माओवादीले ‘जनयुद्ध’ सुरु गर्दा पार्टीभित्र नेतृत्व, विचारको बहस गर्दै अघि बढेको स्मरण गर्दै पछिल्लो समय पार्टीको अन्तरसंघर्षलाई समाधान गरी समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने बताए ।

‘हामी नयाँ समाजवादी क्रान्तिको तयारीमा छौँ । जसरी जनयुद्धको तयारी अवस्थामा थियौँ । त्यतिबेला आवश्यक विचार, राजनीतिक, संगठन, प्राविधिक तयारी जसरी गरिएको छ,’ उनले भने, ‘समाजवादी क्रान्ति गर्ने तयारीका साथ अघि बढेको छु । त्यतिबेला विचार, लाइन र बहसको विवाद थियो । विवादबीच जनयुद्ध यहाँसम्म आइपुग्यो । अहिले आत्तिनुपर्ने कारण छैन । यो बहसले पार्टीलाई अझै एकताबद्ध बनाउने छ । माओवादीले समाजवादी क्रान्तिको नेतृत्व गर्छ भन्ने विश्वास छ ।’

उनले स्थायी समितिमा आफू र उपमहासचिव जनार्दन शर्माबीच भएका आशंका समाधान भएको दाबी गर्दै शर्माले पार्टी विभाजन गर्ने भ्रमको अन्त्य भइसकेको बताए । आफू र शर्माबीच विवाद हुनुलाई ‘अगुल्टो ठोसेर आगो बाल्ने’ नीतिको रुपमा लिन कार्यकर्तालाई आग्रह गरे ।

‘मेरो र प्रभाकर (शर्मा) बीच बेलाबेला अगुल्टो ठोसिएझैँ हुने गरेकै छ । यो आगो बाल्नु, खाना पकाउनका लागि भएको छ,’ उनले भने, ‘मेरो अघि हुँदा मलाई महान् नेतृत्व भन्ने, बाहिर गएपछि धारे हात लगाउने प्रवृत्ति बढेको छ । यसपटक प्रभाकरजीको मनको कुरा बाहिर आओस् भन्ने थियो । मैले प्रभाकरले पार्टी फुटाउँदैछ भनेको होइन ।’

उनले शर्माले पार्टी निर्माणका लागि राखेका नेतृत्व हस्तान्तरण, पार्टीको नाम र चुनाव चिहृन परिवर्तनलगायत विषय केन्द्रीय समितिमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख गर्ने बताए । ‘दस्तावेज बनाउँदै गर्दा प्रभाकरले उठाएका मत आत्मसाथ गर्ने स्थायी समितिबाट स्वीकृत भएको छ,’ उनले यो बीचमा दुई नेताबीच गम्भीर आशंका भए पनि निराकरण भएको दाबी गर्दै भने, ‘हामीबीच केही गम्भीर आशंका थिए । केही कुरा अध्यक्ष र प्रभाकरले सँगै बसेर अध्ययन/अनुसन्धान गर्ने भन्ने भयो । जरुरी परे पार्टी केन्द्रबाट टीम बनाएर त्यस आशंका निराकरण गर्ने निर्णय भएपछि जे भ्रम थिए, मूलभूत रुपमा चिरिएको छ ।’

उनले पार्टीमा विधिको बारेमा पनि समझदारी बनेको उल्लेख गर्दै शर्माले पार्टी फुटाउँदै भन्ने खारेज भएको बताए । ‘पार्टी फुटको भ्रम खारेज गरिएको छ । त्यो भ्रममा कोही नपरौँ । अब देशैभरि सन्देश सभा गर्नुपर्ने छ,’ उनले भने, ‘आगामी दिनमा विभाजित माओवादी एकताबद्ध गर्ने प्रयास छ । हामी एकताबद्ध छौँ, एकताबद्ध रहन्छौँ । पार्टी एकताबद्ध छ, प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने गलत सिद्ध भइसकेको छ ।’

उनले आफ्नो सरकारका बेला सुशासन, भ्रष्टाचार नियन्त्रण, सरकारी जग्गा फिर्ता गर्ने प्रयास समाजवादी क्रान्तिको आधार निर्माणका लागि गरेको बताए ।

‘हामी क्रान्ति र जनताप्रति इमान्दार भएर जाने संकल्प गर्नै हो । अहिले पनि वर्गसंघर्षमै छौं । हामीले १८ महिना सरकारको नेतृत्व गर्दा सुशासन र समाजिक न्यायसहित समाजवादको आधार बनाउने संकल्प लिएको हो’ उनले भने, ‘भ्रष्टाचारीहरुलाई कारबाही भयो, ललिता निवास सरकारको जग्गा सरकारको ल्याउने कम भयो ।’

उनले भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा प्रतिपक्षमा पुगेको बताए । ‘भ्रष्टाचारीलाई कारबाही गर्नेक्रममा तथाकथित संख्याको आधारमा निकालियो । यो चुनौतीपूर्ण अवसर हो,’ उनले भने, ‘हामीले दलालसामु आत्मसमर्पण गरेनौँ।’

उनले फेरि समाजवादी क्रान्तिका लागि आवश्यक तयारीमा लाग्नुपर्ने बताए । ‘हामी जनताको बीचमा गएर नयाँ क्रान्तिको तयारीको संकल्प गर्नुपर्ने बेला छ । ढिलो वा छिटो नेपालमा ठूलो रेडिकल मुभमेन्ट हुन्छ । गुणात्मक आन्दोलन हुन्छ,’ उनले भने । उनले आफूले चुनवाङ बैठकमा गणतन्त्रका लागि ठूलो क्रान्ति हुने गरेको स्मरण गर्दै अब समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्ने बताए ।

उनले भने, ‘मैले त्यतिबेला चुनवाङ बैठकमा नेपालमा गणतन्त्र आयो आयो भनेको थिएँ । मैले चुनावाङमा भविष्यवाणी गरेको थिएँ, त्यही भयो । अहिले ठीक त्यही अवस्थामा लडाइँमा आइपुगेको छ । हामीले फेरि एकपटक समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्छ ।’ उनले कांग्रेस एमालेको पक्षमा संसद्मा‌ संख्या भए पनि जनमत आफ्नो पक्षमा भएको दाबी गरे । बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको बहुमत भए पनि जनमतका कारण पछिल्लो परिणाम भोग्नु परेको बताए ।

‘संख्या तिन (कांग्रेस, एमाले) को पक्षमा छ तर जनमत हाम्रो पक्षमा छ । जसरी बंगलादेशलगायत दक्षिण एसियामा घटनाक्रम अगाडि आएका छन्, संख्या नै सबै कुरा सरकारमा बस्नेहरुले सोचे भने विडम्बना हुनेछ ।’ उनले विगतमा संविधानमा हस्तक्षेप हुँदा, संविधान मिचेर संविधान विघटन हुँदा जनतालाई सडकमा ल्याएर परास्त गरेको बताए ।

प्रकाशित : भाद्र १, २०८१ १७:५८
x
×