कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

शक्तिकेन्द्रको उक्साहटमा जसपालाई कमजोर बनाइयो : उपेन्द्र यादव

श्रावण ३२, २०८१
शक्तिकेन्द्रको उक्साहटमा जसपालाई कमजोर बनाइयो : उपेन्द्र यादव

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई थप कमजोर बनाउन ‘विभिन्न शक्ति केन्द्र’बाट अझै चलखेल भइरहेको बताएका छन् । तर, त्यस्ता सबैखाले चलखेललाई परास्त गरेर हालै सम्पन्न पार्टी महाधिवेशनमार्फत एकढिक्का भएर अघि बढेको उनले बताए ।

पार्टी विभाजन गर्नेहरुले कुनै विचार, सिद्धान्त र निष्ठाभन्दा पद लोलुपता तथा अरुको उक्साहटमा काम गरेको उनले आरोप लगाए ।

प्रतिनिधि सभामा १२ सिट रहेको जसपाबाट २०८१ वैशाख २३ मा अशोक राईको नेतृत्वमा ७ सांसद अलग भई छुट्टै जसपा नेपाल गठन गरेका थिए । जसपा विभाजन हुँदा एमाले–माओवादी, रास्वपा तथा जसपासहितको सत्ता गठबन्धन थियो । पुष्पकमल दाहाल नेतृत्वमा गठबन्धनमा आबद्ध दलहरु सरकारमा थिए ।

एमाले र माओवादीका शीर्ष नेताहरुको योजनामा पार्टी विभाजन गरिएको भन्दै त्यसबेला जसपा अध्यक्ष यादवले सार्बजनिक रुपमै आक्रोश पोखेका थिए । पार्टी विभाजनको अर्को महिना जेठ २८ देखि ३० सम्म जसपाको जनकपुरमा सम्पन्न महाधिवेशनमार्फत यादव पुन जसपा अध्यक्षमा सर्वसम्मत निर्वाचित भइसकेका छन् । महाधिवेशनले पार्टी पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारी चयन नहुँदै जसपाको काठमाडौंमा साउन २७ देखि ३० सम्म केन्द्रीय समिति बैठक र पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महाधिवेशन, पार्टी प्रशिक्षण र केन्द्रीय समिति बैठकबारे कान्तिपुरसँगको कुराकानीमा अध्यक्ष यादवले पार्टी अब गतिशील भएर संगठन निर्माण र परिवर्तनका एजेण्डा संस्थागत गर्ने गरी अघि बढेको बताए ।

‘विभिन्न शक्तिकेन्द्रको स्वार्थमा पार्टी विभाजन गरिएको हो । त्यसमा कुनै शंकै छैन । विभाजनले पार्टीलाई संख्याका आधारमा कमजोर त बनाएको छ । तर, जो–जो विभाजनमा लागे, उनीहरुमा पार्टी प्रतिको निष्ठा, विचार, सिद्दान्त र गन्तव्य केही थिएन,’ यादवले कान्तिपुरसँग भने, ‘अहिले हामी केन्द्रदेखि स्थानीय स्तरसम्म जो जो पार्टीमा छौं, सबैले पार्टीले लिएको विचार र सिद्धान्तप्रति निष्ठावान भएर अघि बढ्नेमा एक छौं ।’

उनले बहुमतको आडमा परिवर्तनबाट प्राप्त उपलब्धी सिध्याउने प्रपञ्च रचिए आफूहरु आन्दोलनमा जाने बताए । बहुमतको आडमा अघि बढेमा हालै बंगलादेशमा भएको विद्यार्थी आन्दोलन र त्यसले सत्तालाई विस्थापित गरेको विषय नभुल्न ठूला दलहरुलाई स्मरण पनि गराए ।

मधेसी जनअधिकार फोरम राजनीतिक शक्तिका उदाएसँगै विभिन्न राजनीतिक दलको आस्था र विश्वास राख्नेहरु आएको र उनीहरुमा परिवर्तनलाई आत्मसाथ गर्ने र मधेसलाई अधिकारसम्पन्न बनाउनेमा खासै रुची नभएको यादवको टिप्पणी छ ।

‘फोरम राजनीतिक शक्तिका रुपमा उदाउँदा ताका विभिन्न विचार र आस्थाराख्नेहरु यो पार्टीमा आए, त्यसपछि निरन्तर सत्ता र शक्तिमा पुगे,’ यादवले भने, ‘अहिले पनि शक्तिकेन्द्रले हरियो घाँस देखाएर पार्टी विभाजन गरेका हुन् ।’

सरकारबाहिर रहेका माओवादी, नेकपा समाजवादी र जसपाबीच कार्यगत एकता गरेर अघि बढ्ने भन्ने विषय चर्चामा आइरहेका बेला यादवले भने तत्कालै कार्यगत एकता गरेर जाने सम्भावना नरहेको बताए । उनले विभिन्न दलहरुबीच मुद्दामा आधारित रहेर सहकार्य हुनसक्ने तर कार्यगत एकता वा पार्टी एकताको सम्भावना नरहेको बताए । उनले माओवादीले पार्टी नाम र विचार परिवर्तन गरे एकता गरेर अघि बढ्न सक्ने सम्भावना भने रहेको बताए ।

पार्टी विभाजन भएपछिका दुवै जसपा हाल केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेका छन् । त्यसमध्ये विभाजित पछि बनेको जसपा नेपाल सरकारमै सामेल छ । यादवले अहिले आफूहरुले सरकारई सर्मर्थन दिएपनि सरकार बाहिरै बसेर पार्टी र जनताको पक्षमा काम गर्ने बताए ।

उनले आगामी भदौ ९ देखि मंसिर मसान्तसम्मै पार्टीको ‘आधारभूत संगठन निर्माण अभियान’ सञ्चालन गर्ने र त्यसपछि पनि निरन्तर पार्टी सुदृढिकरणमै लाग्ने बताए । जसपाले महाधिवेशन र केन्द्रीय समिति बैठक सम्पन्न गरेपनि अध्यक्ष बाहेक पदाधिकारी चयन गर्न सकेको छैन ।

अध्यक्ष यादवले महाधिवेशनले पदाधिकारी चयनको जिम्मा अध्यक्षलाई दिएको र छिट्टै यसबारै सबैको भावना समेटेर चयन गरिने बताए । जसपामा सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २ जना, उपमहासचिव ३, सचिव ७ जना, कोषाध्यक्ष तथा २ सय १५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।

पछिल्लो केन्द्रीय समिति बैठक २ दिन र त्यसपछि २ दिनसम्म संघीयता कार्यान्वयन, सिकाई र अनुभव, भूराजनीति र परराष्ट्र नीति, संघीयताको आर्थिक तथा सामाजिक लोकतन्त्रलगायत विषयमा नेताहरुलाई प्रशिक्षण दिइएको थियो ।

प्रकाशित : श्रावण ३२, २०८१ १७:१९
x
×