कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सहकारी ठगी प्रकरण : छानबिन समितिको कार्यादेशमा भएन दलहरूबीच सहमति

जेष्ठ ११, २०८१
सहकारी ठगी प्रकरण : छानबिन समितिको कार्यादेशमा भएन दलहरूबीच सहमति

काठमाडौँ — सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिनानिष्कर्ष सकिएको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रूपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने कुराबाट कांग्रेस केही पछि हटेको र गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको बर्तौलाको भनाइ छ ।

‘हामीले बैठक समापन गरेका छैनौँ, केही साइड छलफल भइरहेको छ । गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ । बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ । गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ । नेपाली कांग्रेसबाट निरन्तर उठाउँदै आएको गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर अनुसन्धान गर्नुपर्छ भन्ने विषय संसद्‍बाट यस प्रकारबाट व्यक्तिका नाममा किटान गरेर सकिँदैन भन्ने भएको छ । नेपाली कांग्रेस यसमा थप लचकता अपनाएर आएको छ । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीको बारेमा नाम किटान गरेर जाऔँ भन्नेकुरामा लचकताका साथ आएको छ । त्यसबारेमा गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ । हाउस अघि बढ्छ,’ उनले भने ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले आजै दिनभरमा सहमति हुने दाबी गरे । गृहमन्त्री लामिछानेका विषयमा मात्र भन्दा पनि समग्र सहकारीको समस्या समाधानका लागि दलहरूबीच सहमति हुने मन्त्री गिरीले बताए । प्रतिपक्ष दलले भाषामा तलमाथि भए पनि संसद्‍मा उठाएको विषयमा सम्झौता नगर्ने जनाएको उनले बताए ।

प्रकाशित : जेष्ठ ११, २०८१ १२:२६
x
×