कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक

सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक भएको छ । 

काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र लेखक राउतले लोकार्पण गरेका हुन् । आत्मकथाले राउतको जीवन संघर्ष र अविछिन्न राजनीतिको पाटोलाई उजिल्याएको भट्टराईले बताए । उनले भने, ‘कुनै समय मधेशलाई स्वायत्त राज्य माग गर्ने सीकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ । किताबमा सीकेजीको मात्रै संस्मरण नभएर समग्र मधेश र मधेशीप्रति राज्यले

सदियौंदेखि गरेको फेहरिस्त समेटिएको छ ।’ साथै भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न यो किताब विशेषगरी युवापुस्ताले पढ्नुपर्ने बताए ।

आफ्नो पुस्तक इतिहासको कालखण्डको एउटा तस्वीर भएको राउतले बताए । यो पुस्तक कुनै समयमा प्रकाशन गरेपछि राज्यविप्लवको अभियोगमा जेल गएको संस्मरण उनले सुनाए । उनले भने, ‘पढाइ सकाएर अध्यापनमा रहँदासमेत हेपिएको, उत्कृष्ट अंक ल्याएर राजाबाट महेन्द्र विद्याभूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउँछ । वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान कसरी बन्न पुगें भन्ने रुचीकर कथा यस पुस्तकमा छन् ।’

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको राउतले बताए । समाज उन्नतिको लागि तत्कालमा राजनीति गरे पनि दीर्घकालीन बोध अध्यात्म रहेको उनले बताए ।

जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो । यसको पाठक मूल्य पातलो गाता ५९९ रुपैयाँ र मोटो गाता ७९९ रुपैयाँ रहेको छ ।

प्रकाशित : भाद्र ७, २०८१ २०:४१
x
×