कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

उज्यालो खोज्दै प्रकाश

जेष्ठ ८, २०७१
उज्यालो खोज्दै प्रकाश

चितवन — दृष्टिविहीन गायक प्रकाश तिमिल्सिना हँसिलो मुद्रामा गफिँदै थिए । मनभरिको पीडालाई छिनछिनको हाँसोमार्फत भुलाउँदै थिए । नारायणगढमा मंगलबार यी २७ वर्षे आफ्ना प्रशंसकहरूलाई गीत सुनाइरहेका थिए ।


गीतमार्फत अरूलाई मनोरञ्जन प्रदान गर्ने प्रकाशको जीवन ट्राजिक फिल्मको कथाजस्तै लाग्छ । २०४५ सालमा भूकम्प आयो । सुनसरी प्रकाशपुरका उनी एक वर्षका थिए । कोसीनजिक उनको घर थियो । कोसीमा ठूलो बाढी आयो । बाढीले घर मात्र बगाएन, उनको सिंगो परिवार बगायो । उनी पनि बगे । नदी छेउमा माछा मारिरहेका माझीको जालमा परे । जालमा माछो भनेर झिक्दा उनी फेला परे । जाल हान्ने माझीदाइ उनका मीतबुवा रहेछन् । मीतबुवाले उनको उद्धार गरे । परिवारका सबै गुमाए पनि हजुरआमाको साथ पाए । बाढीमा परेकी हजुरआमाले भने उपचारपछि नयाँ जीवन पाइन् ।
'बाढीमा परेर मैले दुवै आँखा गुमाएँ,' प्रकाशले भने, 'त्यसैले संसार कस्तो छ, अहिलेसम्म देख्न पाएको छैन ।'  
उनलाई बाल्यकालमा गीत गाउने आँखा नदेख्ने भाइ भनेर चिन्ने धेरै थिए । १२ कक्षासम्म अध्ययन गरेका उनले त्यसपछिको शिक्षालाई अघि बढाउन सकेनन् । 'मेरो अंग्रेजी राम्रो छ,' उनले भने, 'तर पैसा नहुँदा राम्रो कलेजमा पढ्न सकिनँ ।' बाल्यकालदेखि गीत गाउन सुरु गरेका उनले २०६५ मा 'दिव्य दृष्टि' एल्बम ल्याए । पछि कलेक्सन एल्बम 'आरती ६६' मा गाएको गीत 'पि्रय तिम्रो सिउँदोमा....' ले उनलाई राम्ररी चिनाउन थाल्यो । उनले कालिका र अन्नपूर्ण अवार्ड जिते । उनले २०६८ मा 'प्रकाश' एल्बम ल्याए । त्यसको 'तिम्रै हातको सिन्दुर लाउँछुु....' ले पनि राम्रै चर्चा बटुल्यो ।
सांगीतिक क्षेत्रमा उनको सक्रियता जारी रह्यो । उनको नयाँ एल्बम 'प्रकाश २' मा रहेको 'मान्छे रै'छे खली....' श्रोतामाझ लोकपि्रय छ । 'स्वरबिनाको मान्छेको संगीतमा काम छैन,' उनले भने, 'स्वर हुनेका लागि मात्र संगीत हो, जसले गीत गाएर भविष्य बनाउन सक्छ ।'
उनी १४ भाषामा गीत गाउन सक्छन् । सांगीतिक कार्यक्रमको सिलसिलामा ५५ मुलुक घुमिसकेका छन् । उनले दक्षिण कोरिया गएको बेला त्यहाँको पुसान अस्पतालका चिकित्सकलाई आँखा देखाएका थिए । चिकित्सकले उनलाई संसार देख्न सक्ने आश्वासन दिए ।
'आँखाको नसा सुकेको उपचार हुँदैन रैछ,' उनले भने, 'मेरो नसा सुकेको हैन, चुँडिएकोले उपचारपछि आँखा देख्न सक्ने चिकित्सकले भनेका छन् ।' उनले उपचारका लागि ४५ लाख खर्च लाग्ने भए पनि बल्लतल्ल आधा रकम जम्मा गर्न सकेको बताए ।
'कसैले सहयोग गरिदिए यो संसार मैले पनि हेर्न पाउने थिएँ,' उनले भने ।



 

प्रकाशित : जेष्ठ ८, २०७१ ०९:३७
×