कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

चार नेटवर्किङ कम्पनीको इजाजत रद्द

काठमाडौ — सरकारले देशभर पिरामिड शैलीको नेटवर्किङ व्यवसाय गर्दै आएका चार कम्पनीको इजाजत खारेज गरेको छ ।


वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेटवर्क मार्केटिङ व्यवसायसम्बन्धी निर्देशिका- २०६६ खारेज गरी त्यसअन्तर्गत सञ्चालित कम्पनीहरूको इजाजतसमेत खारेज गरेको हो ।
वाणिज्य मन्त्रालयले सबै प्रकारका नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएको जानकारी गराउँदै नेटवर्किङ कम्पनीहरूबाट ठगी र गैरकानुनी काम भएको पाए कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । उसले गृहलाई सोमबार पत्र पठाएर त्यस्तो आग्रह गरेको हो । 'युनिटीलगायत अरू सबै कम्पनीका ठगीबारे अध्ययन गरी कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेका छौं,' वाणिज्यका एक अधिकारीले भने ।
गैरकानुनी सञ्जाल बनाई बैंकिङ, बिमा, स्वास्थ्यसम्बन्धी सेवा सञ्चालन गर्दै आएको युनिटी लाइफका सम्बन्धमा छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समितिले नेटवर्क मार्केटिङ व्यवसायसम्बन्धी निर्देशिका गैरकानुनी भएको प्रतिवेदन दिएपछि वाणिज्य मन्त्रालयले त्यसलाई खारेज गरेको हो । समितिकै सिफारिसमा नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लगाइएको हो ।
वाणिज्य मन्त्रालयले समितिको सिफारिसमा हर्बो इन्टरनेसनल प्रालि, वेस्ट वल्र्ड बिजनेस लिंक, क्रिस्टल भिजन इन्टरनेसनल लिमिटेड, रोबियस इन्टरनेसनल प्रालिलाई नेटवर्किङ व्यवसाय गर्न दिएको इजाजत खारेज गरेको छ । वाणिज्य विभागले सोमबार ती कम्पनीलाई पत्र पठाई नेटवर्किङ व्यवसाय गर्न दिएको इजाजत खारेज भएको भन्दै कारोबार बन्द गर्न निर्देशन दिएको हो ।
'नेटवर्किङ व्यवसाय गर्न दिने निर्देशिका खारेज भएपछि ती कम्पनीलाई दिइएको इजाजत स्वतः खारेज भएको छ,' वाणिज्य मन्त्रालयका सहसचिव सूर्यप्रसाद सिलवालले कान्तिपुरसित भने । ती कम्पनीले निर्देशिकाविपरीत सदस्यता शुल्क लिएको र नेटवर्किङ व्यवसाय गर्न दिने कानुन नभएकाले निर्देशिका र खारेज इजाजत खारेज गरिएको वाणिज्यका अधिकारीले जनाए ।
सहसचिव सिलवालका अनुसार ती कम्पनीले ठगी गरेको उजुरी सदस्यहरूबाट आएमा वाणिज्य विभागले कानुनबमोजिम कारबाही गर्ने र पीडितको रकम फिर्ता गर्ने कार्य गर्नेछ । ती चार कम्पनीले विभागमा २५/२५ लाख रुपैयाँ धरौटी राखेका छन् । ठगीको दाबीसहित उजुरी आए ती कम्पनीको धरौटी रोकिने र उजुरी नआए विभागले धरौटी फिर्ता गरिदिने सिलवालले जनाए ।
ती कम्पनीले ७/८ वर्षदेखि नेटवर्किङ व्यवसाय गर्दै आएका थिए । वाणिज्य मन्त्रालयले कानुन नभए पनि गत माघमा निर्देशिका जारी गरी ती कम्पनीको व्यवसायलाई वैधता दिएको थियो । कानुन नभई निर्देशिकाका भरमा मात्र नेटवर्किङ व्यवसाय गर्न दिनु गैरकानुनी भएको आवाज उठेपछि वाणिज्य मन्त्रालय निर्देशिका खारेज गर्न बाध्य भएको हो ।
निर्देशिका खारेज भएका कारण नेटवर्किङ व्यवसाय गर्न इजाजत लिन अरू थप चार कम्पनीले गरिरहेको प्रयाससमेत अवरुद्ध भएको छ । इजी मल्टी ट्रेड, ओरिफ्लेम कस्मेटिक प्रालि र न्यु विवेक इन्टरप्राइजेजले आफ्नो कम्पनीको उद्देश्यमा नेटवर्किङ व्यवसाय राखी इजाजत लिने प्रक्रिया अघि बढाएका थिए । तर यी कम्पनीले नेटवर्किङ व्यवसाय भने पहिल्यैदेखि गर्दै आएका छन् । अर्को नयाँ कम्पनी क्वान्टम एक्सेल प्रालिले समेत नेटवर्किङ व्यवसाय गर्न दिन माग गर्दै वाणिज्य विभागमा आवेदन दिएको छ ।
नेटवर्किङ व्यवसायमाथि नै प्रतिबन्ध लागेका कारण अब ती चार कम्पनीले इजाजत पाउने छैनन् । विभागले तीनवटा कम्पनीलाई इजाजतअघि नै सुरु गरेको नेटवर्किङ व्यवसायसमेत बन्द गर्न निर्देशन दिने र नगरे कारबाही गर्ने जानकारी वाणिज्यका अधिकारीले दिए । नेटवर्किङ व्यवसाय गर्ने इजाजत खारेज भएको हर्बो इन्टरनेसनल प्रालिमा अध्यक्ष गोकुल श्रेष्ठ, उपाध्यक्ष पुष्पराज पौडेल, निर्देशकहरूमा नेत्रपाणी बाँस्तोला, वसन्त पण्डित, पुनप्रभात सुवेदी, शम्भुकुमार छेत्री र विष्णुकुमार श्रेष्ठ छन् ।
हर्बोले पिरामिड शैलीको नेटवर्किङ बनाई हर्बल चिया, साबुन, सौन्दर्य प्रसाधन बेच्दै आएको थियो । उसले इजाजत लिँदा वाणिज्य विभागमा आफ्नो जारी पुँजी १ करोड र अधिकृत पुँजी १० करोड रुपैयाँ तथा देशभर ८१ हजार सदस्य रहेको उल्लेख गरेको छ । हर्बो स्रोतका अनुसार उसका एक लाख सदस्य छन् ।
रोबियस इन्टरनेसनल प्रालिका सञ्चालकमा सन्तोष तामाङ, कुमार तामाङ, सुमन श्रेष्ठ र अम्बिका कोइराला छन् । उसले वाणिज्य विभागमा इजाजत लिँदा आफ्ना १७ हजार सदस्य रहेको र जारी पुँजी २५ लाख तथा अधिकृत पुँजी १ करोड रुपैयाँ रहेको उल्लेख गरेको छ । रोबियस स्रोतका अनुसार उसका ४० हजार सदस्य छन् । उसले आफ्ना सदस्यबीच एलोबेरा (घीउकुमारी) का विभिन्न उत्पादन बिक्री गर्दै आएको छ ।
क्रिस्टल भिजनमा एक जनामात्र सञ्चालक सुरेन्द्रकुमार कुरुङवाङ छन् । उसले इजाजत लिँदा विभागलाई दिएको जानकारीअनुसार उसका २५ हजार ५ सदस्य र जारी तथा चुक्ता पुँजी १०/१० करोड रुपैयाँ रहेको उल्लेख गरेको छ । क्रिस्टलले विभिन्न जडीबुटीका उत्पादन क्रिस्टल शक्तिप्रास, गि्रन टी, फेसियल क्रिम, टुथपेस्ट, सर्बतलगायतका सामान बिक्री गर्दै आएको छ ।
वेस्ट वल्र्ड बिजनेस
लिंक (बीडब्लूबीएल) मा रुककुमार छेत्री र हेमराज आचार्य सञ्चालक छन् । उसले विभागमा इजाजत लिँदा १६ हजार सदस्य र जारी पुँजी ४० लाख र अधिकृत पुँजी करोड रुपैयाँ रहेको उल्लेख गरेको छ । उसले आफ्ना सदस्यबीचमा फ्रिज, रेफ्रिजेरेटर, भान्साका सामान बिक्री गर्ने गरेको छ । बीडब्लूबीएल स्रोतका अनुसार उसका ८० हजार सदस्य छन् । नेटवर्किङ व्यवसाय गर्ने सानाठूला गरी ७० वटा कम्पनी छन् ।
वाणिज्य विभागका अधिकारीले नेटवर्किङ कम्पनीहरूले सदस्यलाई यथार्थ मूल्यभन्दा ७५ प्रतिशतसम्म बढीमा सामान भिडाउने गरेको बताए । ती अधिकारीका अनुसार नेटवर्किङ कम्पनीले सदस्यलाई भिडाउने सामानबापत पुराना सदस्यहरूलाई दिने कमिसन ७५ प्रतिशतसम्म हुन्छ । इजाजत पाएका चार कम्पनीले पिरामिड शैलीमा सदस्य बनाई विभिन्न किसिमका सामान चर्को मूल्यमा बेच्दै आएका छन् । पिरामिड शैलीमा सदस्य थपिँदै जाँदा ती कम्पनीका पुराना सदस्यले कुनै काम नगरी दैनिक ४० हजार रुपैयाँसम्म कमाउने गरेको हर्बोसित संलग्न एक अधिकारीले जानकारी दिए ।

 

प्रकाशित : जेष्ठ ११, २०६७ ०८:२६
x
×