सात गाउँपालिका र एक नगरपालिका रहेको पाँचथर जिल्लामा स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधारमा असन्तुलन देखिएको छ भने वैदेशिक रोजगारी र बसाइँसराइको लहर तीव्र बढेको छ।
What you should know
पाँचथर — कोशी प्रदेशको उच्च पहाडी जिल्ला हो पाँचथर । १ हजार २ सय ४१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो जिल्ला छिमेकी मुलुक भारतको पश्चिम बंगाल र सिक्किम हुँदै छिमेकी जिल्ला ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा र मोरङसित जोडिएको छ ।
सात गाउँपालिका र एउटा नगरपालिका गरी आठ स्थानीय तहका ६० वडामा विभिाजित यो जिल्लाको सदरमुकाम फिदिम हो । पहाडी भूगोलमा अवस्थित यो जिल्ला राजनीतिक चेतनाका दृष्टिकोणले अगाडि छ । यद्यपि विकासका संरचना भने जिल्लाका सबै स्थानीय तह र वडासम्म सन्तुलित छैनन् ।
पछिल्ला तीन वटा जनगणनाको तथ्यांक केलाउँदा यहाँको जनसंख्या ऋणात्मक छ । जिल्लाबाट वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या दैनन्दिन बढिरहेको छ । जिल्लाको आर्थिक मेरुदण्डको अर्को स्रोत रेमिट्यान्स बनेको छ । हाल यो जिल्लाको ६० हजार भन्दा बढी जनशक्ति वैदेशिक रोजगारीमा छ । स्वास्थ्य शिक्षा, खानेपानी र रोजगारीको अभावका कारण बसाइँसराईको क्रम तीब्र छ ।
२०७८ सालको जनगणनाको तथ्यांक अनुसार जिल्लाको जनसंख्या १ लाख ७२ हजार ४ सय हो । जसमा महिला ८६ हजार ७ सय १७ र पुरुषको संख्या ८५ हजार ६सय ५३ छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा कुल मतदाता संख्या १ लाख ४३ हजार ४ सय ८ छ । जसमा महिला ६७ हजार ३ सय ३० र पुरुष ७६ हजार ७८ छन । पाँचथरका ८ स्थानीय तहमध्ये मतदाता संख्या कुम्मायकमा ११ हजार ६२८, तुम्बेवामा ९ हजार २४९, फालेलुङमा १७ हजार ८९६, फाल्गुनन्दमा १८ हजार ९४४, फिदिममा ३५ हजार ९९५, मिक्लाजुङमा १८ हजार ५२०, याङवरकमा १४ हजार ५२७, हिलिहाङमा १६ हजार ६४९ छ ।
जीविकाको मेरुदण्ड कृषि
जिल्लाको अर्थतन्त्र र जनजीविकाको मुख्य आधार कृषि नै हो । उत्पादनका दृष्टिले यहाँ धान, मकै र कोदोलगायतका अन्न र अलैंची, अदुवा, अम्रिसो, चिराइतो र फलफूलसँगै तरकारी उत्पादन हुन्छ । उत्पादन भएका सामग्री स्थानीय बजार हुँदै सदरमुकाम भएर विभिन्न जिल्ला निर्यात हुन्छन् । अलैंची भने झापाको काँकडभिट्टा नाका भएर भारत हुँदै तेस्रो मुलुक पुग्छ । यहाँ चौंरी, गाई, भैंसी, बाख्रा र कुखुरा जस्ता पशुपन्छीपालन गरिन्छ । जिल्लामा दुग्ध उत्पादन पनि उल्लेख्य मात्रामा हुन्छ ।
यो जिल्लालाई मेची राजमार्ग, तमोर करिडोर, पुष्पलाल मध्यपहाडी राजमार्ग जस्ता ठूला आयोजनाले छोएको छ । मुख्य राजमार्गको पहुँच भए पनि ग्रामीण सडकको अवस्था भने दयनीय नै छ । निर्माणाधीन तमोर करिडोरले तमोर तटीय क्षेत्रमा पर्ने तुम्वेवा, कुम्माक, फिदिम र हिलिहाङलाई छोएको छ । यस्तै पुष्पलाल मध्यपहाडी राजमार्गले सदरमुकाम फिदिम, हिलिहाङ र याङवरक हुँदै सिक्किमसँगको सिमावर्ती चिवा भञ्ज्याङलाई जोड्छ ।
यो सडकको फिदिमदेखि दारिम्बा खण्ड कालोपत्र भइसकेको छ भने दारिम्बादेखि चिवा भञ्ज्याङसम्मको ५१ किलोमिटर सडक लथालिङ्ग छ । पाँचथरमा मध्यपहाडी राजमार्गको दुरी १ सय १४ किलोमिटर पर्छ । जसमध्ये तमोर नदीदेखि दारिम्बासम्मको ६३ किलोमिटर कालोपत्र भइसकेको छ ।
झापाको चारआलीदेखि इलाम हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्गले जिल्लाको फाल्गुनन्द, फिदिम र हिलिहाङ गाउँपालिकालाई जोड्छ । मेची राजमार्ग भने पूर्णरुपमा कालोपत्र भइसकेको छ । सदरमुकामलाई विभिन्न स्थानसँग जोड्ने फिदिम फालौट, राँके रवि भेडेटार र सल्लेरी सुभाङ अमरपुर जस्ता दर्जन बढी निर्माणाधीन आयोजना यहाँ चलिरहेका छन् । तुम्वेवा, लुम्फावुङ र कुम्मायकलाई सदरमुकामसँग जोड्ने सडक कालोपत्र गरिएको छ भने दशमीदेखि यासोक जोड्ने सडक पनि कालोपत्र गर्ने काम भर्खर सकिएको छ । जिल्लाका ६० वटै वडामा सडक सञ्जाल विस्तार गरिए पनि बाह्रै महिना गाडी चल्ने अवस्थाका छैनन् । यहाँ हिउँदयाममा जेनतेन सवारी र ढुवानीका साधन चले पनि वर्षायाममा ठप्प प्रायः हुन्छन् ।
हेवा र फेमेको बाढी प्रमुख चुनौती
तीन वर्षयता जिल्लाका हेवा र फेमे खोलामा आएको बाढी विकास निर्माणमा बाधकसँगै किसानका लागि चुनौतीको विषय बनेको छ । २०८० असार २ को बाढीले हेवा खोला अन्तरगत तमोर करिडोरमा पर्ने फिदिम र हिलिहाङलाई जोड्ने हेवा खोलाको बेलिब्रिज, मेची राजमार्गमा पर्ने हेवा खोला पक्की पुल, फिदिमदेखि फालेलुङ गाउँपालिका केन्द्र जाने हेवा खोलास्थित घुमाउनेटार, फालेलुङ ३ र ५ लाई सिमाना जोड्ने लुमाङदिन र वडा ४ को सोमबारे घाटका पुल बगाइदियो । त्योबेला बाढीले बगाएकामध्ये सोही वर्ष मेची राजमार्गमा पर्ने हेवा खोलामा लगाइएको बेलिब्रिज पुनः २०८१ असोज १२ को बाढीले बगायो भने तेस्रो पटक जोड्दा जोड्दै सोही ठाउँको मोडुलर ब्रिज भत्केर ३ जना श्रमिकको ज्यान गयो ।
बाढीले बगाए मध्ये मेची राजमार्ग र लुमाङदिनमा पुल बनाइए पनि अन्य खोलानालामा डाइभर्सन गरेर हिँउदयाम सवारी र ढुवानीका साधन वारपार गराँइदैछ । यस्तै २०८१ असोज १२ को फेमे र मुवा खोलामा आएको बाढीले बगाएका पुल हालसम्म्म निर्माण भइसकेका छैनन् । बाढी र पहिरोले फिदिम, फालेलुङ, फाल्गुनन्द मिक्लाजुङ र तुम्वेवामा ठूलो परिमाणमा जनधनको क्षति पुगेको छ ।
स्वास्थ्यमा बलिया पूर्वाधार, कमजोर उपचार
पाँचथर जिल्ला अस्पतालमा ५० वेड क्षमताको पूर्वाधार छ । तर यो सञ्चाललनका लागि सरकारले दिएको स्विकृत १५ शय्याको मात्रै हो । जिल्ला अस्पतालहरुलाई ५० वेडमा स्तरोन्नति गर्ने प्रदेश सरकारले घोषणा गरेसँगै यो अस्पताललाई १५ देखि ५० शय्यामा लैजान सरकारले २०७४ सालमा बजेट उपलव्ध गराएको थियो। २२ करोड लगानीमा भवन र अन्य पूर्वाधार निर्माण सम्पन्न भएर २०८० मङ्सिर २९ मा उद्घाटन गरिएको यो अस्पतालमा अझैसम्म आवश्यक उपकरण र दक्ष जनशक्तिको अभाव छ ।
हाल यहाँ अस्फताल विकास समितिले नियुक्ति दिएका र सरकारी दरबन्दीसँगै करारका गरी ९७ जना जनशत्ति छन् । तीमध्ये ४० जना अस्पताल विकास समितिबाट नियुक्त हुन् । जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा, जनरल सर्जन, बाल रोग र एनेस्थेसिया गरी ५ जना विशेषज्ञ छन् । तीमध्ये ३ जना सरकारी दरबन्दी र २ जना अस्फताल विकास समितिले नियुक्त गरेको हो । यत्तिका जनशत्तिले हाल पाँचथर जिल्ला अस्पतालमा ६६ शय्या सञ्चालन भइरहेको छ ।
सरकारले स्विकृती दिएको भन्दा चार गुणा बढी विरामी भर्ना गरेर उपचार गर्दै आएको यो अस्पतालमा कार्यरत कर्मचारीले जतिसुकै बलबुता लगाएर उपचार गरिरहेको बताए पनि यसले प्रवाह गर्ने सेवा भने चित्तबुझ्दो नरहेको सेवाग्राहीहरु गुनासो गर्छन् । ‘सामान्य समस्याको परीक्षण गर्न जाँदा घण्टौं कुर्नुपर्छ, ब्लड र युरिनलगायतको परीक्षण रिपोर्ट आउन बिहान १० बजेदेखि अपरान्ह तीन बजेसम्म लाग्छ, सामान्य अवस्थाका विरामीलाई रेफर गरेर पठाइन्छ, जतिसुकै बेड सञ्चालन गरे पनि चाहिने उपकरण र विशेषज्ञ चिकित्सक नभएसम्म भवनले मात्रै काम गर्दैन,’ फिदिम-१२ का मनबहादुर लिम्बूले भने ।
फालेलुङ गाउँपालिकामा ५ शय्याको अस्पताल सञ्चालनका लागि भवन निर्माण भएको एक वर्ष बित्यो । तर यहाँ आवश्यक जनशक्ति र उपकरण नहुँदा सेवा संचालन भएको छैन । यो भव्य भवनमा उपस्वास्थ्य चौकी सञ्चालन भइरहेको छ ।
पाँचथर जिल्ला अस्पतालसँगै मिक्लाजुङ र हिलिहाङमा आधारभूत अस्पताल सञ्चालन भइरहेका छन् । ती दुवै अस्पतालमा एक–एक जना डाक्टरसहितका स्वास्थ्यकर्मी छन् भने कुम्मायक गाउँपालिकाले निर्माणाधीन १५ शय्या अस्पताल सञ्चालनका लागि डाक्टरको पदपुर्ती गरेको छ । यस्तै फाल्गुनन्द गाउँपालिकाले ५ शय्याको अस्पताल सञ्चालनका लागि भवन निर्माण गरेर स्वास्थ्यकर्मी नियुक्तीका लागि दरखास्त आहृवान गरिसकेको छ । हिलिहाङ र याङवरकमा अस्पताल सञ्चालनका लागि भवन निर्माण भइरहेका छन् । यद्यपि भवन निर्माणमा निर्माण व्यवसायीको ढिलासुस्तीसँगै बजेटको अभावले कामले गति लिन सकेको छैन । गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी निर्माणाधीन भवनलाई तीब्र रुपमा अगाडि बढाउन कार्यपालिकाले समेत तकेता गरिसकेकाले अब असारभित्र काम सकिनेमा आशावादी छन् ।
आठ स्थानीय तहमध्ये तुम्वेवा गाउँपालिकाले भने अस्पताल निर्माण प्रक्रिया नै थालेको छैन । यहाँ ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्नका लागि सिलान्यास गरिए पनि जग्गा व्यवस्थापनमा कठिनाइ हुँदा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । जिल्लाका स्वास्थ्य संस्थाहरुले सवै किसिमका सेवा दिन नसक्दा आफुहरु धरान, विराटनटर र बिर्तामोड मात्रै नभएर भारतको सिलिगुडीसम्म पुगेर उपचार गराउन बाध्य रहेको नागरिक समाजका अगुवा सूर्यकुमार निरौलाको गुनासो छ ।
शिक्षा र खानेपानी पहुँच बाहिर
जिल्ला सदरमुकामको पाँचथर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहसम्म अध्यापन हुन्छ भने रवि यासोक र थर्पुमा स्नातकसम्म पढाइ हुने क्याम्पस छन् । यी क्याम्पसमा प्राविधिक धार सञ्चालन भएका छैनन् । तसर्थ स्वास्थ प्राविधिक विषय पढ्नका लागि जिल्लाबाट बाहिरै जानुपर्ने अवस्था यथावत छ ।
जिल्लाको कुम्मायक, तुम्बेवा र हिलिहाङ गाउँपालिकामा खानेपानीको चरम अभाव छ । यी स्थानमा तमोर नदीबाट लिफ्ट प्रणालीबाट पानी ल्याइए पनि दिगो रुपमा सञ्चालन हुन सकेको छैन । कुम्मायक गाउँपालिकाले लिफ्ट सिष्टमबाट पानी ल्याउँदा लागेको विद्युत महसुल तिरेर नागरिकलाई राहत दिइरहे पनि तुम्वेवा र हिलिहाङमा आयोजना अधुरै छन् । पानी स्वास्थ्य र शिक्षाको भरपर्दो पहुँच नहुँदा हुने बसाइँसराइले बस्ती रित्ता हुने क्रम तीब्र छ । हिलिहाङ गाउँपालिकामा मात्रै गत वर्ष ३ सय बढी परिवारले बसाइँसराइको सिफारिस लगेको तथ्यांक छ । बसाइँ सर्ने अधिकांश सुक्खा क्षेत्रका नागरिक रहेको हिलिहाङ-२ का वडाध्यक्ष भीमबहादुर हेम्ब्या बताँउछन् ।
अघि बढ्न नसकेको बहुप्रतिक्षित तमोर जलासययुक्त आयोजना
तमोर जलासययुक्त आयोजना जापान सरकारको सहयोगमा सन् १९८५ मा गरिएको कोसी बेसिन गुरुयोजनामा उल्लेखित १३ ठूला आयोजना मध्येको एक महत्त्वपूर्ण जलाशय आयोजना हो। तमोर पाँचथर र तेह्रथुम जिल्लाको सीमा नदीको रूपमा बग्दछ । आयोजनाको प्रस्तावित बाँधस्थल तेह्रथुमको साविक ओख्रे गाविस र पाँचथरको साबिक स्याबरुम्बा गाविसमा पर्दछ ।
बाँधस्थल कोशी राजमार्गको धनकुटा–धरान सडक खण्डको मुलघाटदेखि ३० किलोिमटरमा पर्दछ । विद्युत प्राधिकरणले पूर्वी नेपाल प्रदेश १ को राजधानी विराटनगर र सोही आसपासको दुहबी, विराटनगर औद्योगिक करिडोरमा बढ्दो विद्युत मागलाई पूरा गर्नका लागि विगतका वर्षदेखि नै सम्भाव्यता अध्ययन गरिरहेको छ ।
सरकारले मन्त्रिपरिषबाट पारित गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र, २०७२ मा प्रस्तावित ११ जलासय आयोजनाको ८ औं प्राथमिकता सूचीमा यो आयोजना छ । जसमा यसको क्षमता ६९२ मेगावाट रहने र २०८२ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यद्यपि आयोजनाको काम हालसम्म थालिएको छैन ।
प्राधिकरणले तयार पारेको ७६३ मेगावाट क्षमताको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार लुम्बुघाटभन्दा १.५ किलोमिटर तल २५० मिटर अग्लो बाँध बनाउँदा नदीको पानी बाँधस्थलबाट तमोर नदीमा ३८ किलोमिटर पछाडिसम्म फर्किएर ३८.६५ वर्ग किलोिमटर क्षेत्रफलको तलाउ बन्ने छ । यसरी नदीको पानी तलाउ बन्दा तेह्रथुमका साविक १२ गाविस क्रमशः ओख्रे, सुङ्नाम, सोल्मा, म्याङ्लुङ्, तम्फुला, जलजले, सिम्ले, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, ईवा र हृवाकु पाँचथरका साविक १२ गाविस स्याबरुम्बा, रानीगाउँ, लुम्फावुङ , नवमीडाँडा, चोकमागु, फिदिम, नागिन, भारपा, सुभाङ्, पञ्चमी, अमरपुर र नागी ताप्लेजुङका निगुरादिन, फूलबारी, हाङ्पाङ्, फुङलिङ, दोखु, नाखोल्याङ्, थेचम्बु, र चाक्सीबोटेसम्म फैलिने छ ।
तमोरमा ३८.६५ वर्ग किलोमिटर क्षेत्रफलको बन्ने तलाउको आकर्षणका कारण जल–पर्यटन बढ्न गई तलाउको छेउछाउ पर्यटकलाई आवश्यक होटल, लज, रेष्टुरेन्टको विकास हुने अध्ययनहरुले देखाएका छन् ।
अध्ययन अनुसार तलाउको करिब ३८ किलोिमटरमा जलयातायात सञ्चालन गर्न सकिन्छ । यसमा हुने जलयातायातले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्, पाँचथर सदरमुकाम फिदिम र ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जोड्दछ ।
यसरी जलमार्गबाट कोशीका १४ मध्ये ३ जिल्ला सदरमुकाम जोड्नु आफैंमा यो आयोजनाको आकर्षण हो । आयोजना निर्माणका क्रममा बन्ने मूलघाट–लुम्बुघाट ३० किलोमिटर सडक निर्माणपछि मूलघाट–लुम्बुघाट–म्याङ्लुङ–बसन्तपुर–हिले–धनकुटा–मुलघाट चक्रपथ बन्ने छ । यो चक्रपथ सडक पूर्व–पश्चिम मध्यपहाडी राजमार्गको म्याङ्लुङ–बसन्तपुर–हिले तथा उत्तर–दक्षिण रानी–किमाथांका राजमार्गको मुलघाट–बसन्तपुर खण्डसँग पनि जोडिन्छ ।
यो आयोजनाको ड्यामको फैलावट पूर्व–पश्चिम मध्यपहाडी राजमार्गमा सरकारले प्रस्ताव गरेको ११ नयाँ सहरमध्ये पाँचथरको फिदिमबाट १४ किलोमिटर र तेह्रथुमको बसन्तपुरबाट ४० किलोमिटरमा रहेको छ । उता नेपालको अधिक जनसंख्या भएका तराईका जिल्ला झापा, मोरङ र सुनसरीबाट नजिक पर्छ । जसका कारण यो आयोजनामा बन्ने तलाउमा जल–पर्यटन आकर्षण बढ्न गई पर्यटकीयरूपमा समेत आकर्षण हुने देखिए पनि यो काम अगाडि बढाउन सरकारले प्रक्रिया थालेको छैन । आयोजना अघि बढाउने यस क्षेत्रका राजनैतिक दल, प्रदेश सरकार र स्थानीय नागरिक विशेष चासो रहेको पाइन्छ ।
तमोर जलाशय सन् १९८५ मा जाइकाले पहिचान गरेको तमोरको जडित क्षमता ६९६ मेगावाट थियो । २ अर्ब ७५ करोड युनिट बिजुली तमोरबाट उत्पादन हुने उसको अध्ययनको निचोड थियो । सोही अनुरूप विद्युत् प्राधिकरणले २०६८ सालमा ५३० मेगावाटका लागि लाइसेन्स लिन आवेदन दिएको थियो । प्राधिकरणले तीन वर्ष लगाएर अध्ययन गर्दा यो क्षमतामा तमोर आयोजना निर्माण गर्दा प्राविधिक र आर्थिक हिसाबले अयोग्य देखिएको छ । हिउँदमा ६ घन्टा र वर्षामा २४ घन्टा बिजुली उत्पादन गर्ने आधारमा भएको अध्ययनले ५५० एफएसएलमा ३ अर्ब ३५ करोड युनिट बिजुली उत्पादन हुने देखाएको छ ।
देशको दीर्घकालीन ऊर्जा आवश्यकता सम्बोधन र जलस्रोतको उच्चतम उपयोग गर्ने हो भने यो विकल्प सबैभन्दा उत्तम देखिन्छ । अर्को विकल्प, बाँध उचाई २०५ मिटर र ५५० एफएसएल गर्दा आयोजनाको जडित क्षमता ७६२ मेगावाट र कूल ऊर्जा उत्पादन तीन अर्ब ३५ करोड युनिट हुन्छ । अझ २५५ मिटर अग्लो बाँध बनाउने हो भने तमोरबाट १२५० मेगावाट बिजुली उत्पादन हुन्छ । यसरी प्राधिकरणले विभिन्न विकल्पका साथ गरेको अध्ययनमा वर्तमान सन्दर्भमा ७६२ मेगावाटलाई उत्तम भन्दै लाइसेन्सको लागि निवेदन दिएको छ । हाल सो निवेदन ऊर्जा मन्त्रालयमा विचाराधीन छ । आर्थिक तथा प्राविधिक हिसाबले उपयुक्त क्षमतामा निर्माण गर्न सर्वेक्षण अनुमति प्राप्त नहुँदा आयोजनाले सोचे अनुसार गति लिन नसकेको देखिन्छ यसलाई अघि बढाउन तीन तहकै सरकार र जनप्रतिनिधिले चासो राख्नुपर्ने कुम्मायकका टंक पौडेल बताउँछन् ।
यहाँ फालेलुङको चारराते, सन्दकुपुर, तीनसिमाना, फालौट, चिवा भञ्ज्याङ, हस्तपुर, हिलिहाङ दरबार, तिम्बु पोखरी, आगेजुङ गुम्बा, शिलौती, साधुटार सुके पोखरी, कुम्मायक कुस्सायक, मिक्लाजुङ र सेहोनाम्लाङसहित दर्जनौं पर्यटकीय स्थल छन् । यी स्थलमा पूर्वाधार निर्माण नहुँदा आन्तरिक र बाहृय पर्यटकबाट उल्लेख फाइदा लिन नसकिएको फालेलुङ-४ चाररातेस्थित याक लजका सञ्चालक डिल्ली केरुङ सुनाउँछन् ।
केन्द्रीय राजनीतिमा सधैं पहुँच
प्रजातन्त्र प्राप्ति पश्चात पाँचथरले केन्द्रीय राजनीतिमा भने प्रभाव राख्दै आएको छ । यो जिल्लाका प्रेमराज आङदेम्वे २०१५ सालको मन्त्रिपरिषदमा समेटिएका थिए । त्यसपछि पद्मसुन्दर लावती पञ्चायतकालमा पटकपटक मन्त्री बने । २०५१ को मध्यावधि निर्वाचनपछि दिपकप्रकाश बास्कोटा गृह राज्यमन्त्री बने भने डम्बरसिंह सम्वाहाम्फे पनि राज्यमन्त्री बन्न सफल भए । २०६४ को संविधानसभा निर्वाचन पश्चात यो जिल्लाबाट निर्वाचित पूर्णकुमार सेर्मा स्थानीय विकास मन्त्री र २०७४ पछि वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने ।
विगतका परिणाम नियाल्दा पाँचथरमा कांग्रेस र एमालेले प्राप्त गर्ने मतान्तर फराकिलो थिएन । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४६ मतको झिनो अन्तरले हराँउदै एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका थिए । त्योबेला आङदेम्बेले ३२ हजार ८९ मत प्राप्त गर्दा नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याएका थिए । त्यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका गणेशकुमार काम्बाङलाई ७ मतको झिनो अन्तरले हराउँदै कांग्रेसका पूर्णकुमार सेर्मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । त्योबेला काम्बाङले १२ हजार ९ सय १३ मत ल्याउँदा सेर्मालाई १२ हजार ९ सय २० मत प्राप्त भएको थियो । यसपाली पनि कांग्रेस, एमाले र नेकपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
२०७४ र २०७९ सालमा यहाँ विभिन्न राजनैतिक दलले प्रत्यक्ष तर्फ गठबन्धन र तालमेल गरेर उम्मेदवारी दिएका कारण कुन दलको वास्तविक मत कति भन्ने आँकलन गर्न कठिन हुन्छ । यद्यपि २०७९ सालमा यहाँबाट समानुपातिक प्रणालीमा विभिन्न दलले प्राप्त गरेको मतलाई आधार मान्दा त्यो बेला प्रतिस्पर्धामा रहेका दलहरुको वास्तविक आकार कत्रो थियो ? भनेर सजिलै खुट्याउन सकिन्छ ।
यसअघि भएका प्रतिनिधिसभा र प्रदेशका उम्मेदवारहरुले जिल्लाका सडकको स्तरोन्नति, खानेपानी, गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, विद्युतीकरण, उद्योग कलकारखाना खोल्ने, कृषि उत्पादनको बजारीकरण र एयरपोर्ट सञ्चालनसम्मका एजेण्डा उठाउँदै आएका छन् । यद्यपि उम्मेदवारहरुले उठाएका मुद्दा प्रायः अधुरा रहने गरेको फालेलुङ-५ का मनदीप राइले सुनाए ।
पाँचथरले सामाजिक अभियानमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यहाँ साक्षरता, खुल्ला दिसामुक्त र पूर्ण खोपलगायतका अभियानमा पाँचथर अग्रणी स्थानमा छ । शैक्षिक जागरण र राजनैतिक चेतनाका दृष्टिकोणमा अगाडि रहे पनि यो जिल्ला विकास र पूर्वाधारमा भने निकै पछाडि छ ।
सम्बन्धित अन्य समाचारहरु
बर्दियामा सधैंको चुनावी एजेन्डा: मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण र मल-बीउको व्यवस्थापन
आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको दोबाटोमा झापा
‘विपन्न’को परिचय फेरिने पर्खाइमा बाजुराबासी
सुनसरीका दुई मुहार: विकसित सहर, पछाडि परेका गाउँ
रामेछापमा जनसंख्या घट्दै, विकासका पूर्वाधार अधुरै
बझाङ: सम्भावनाको खानीभित्र समस्याले जेलिएको जिल्ला
रोजगारी र पूर्वाधार अभावले रित्तिँदै गोरखाका गाउँ
मधेश र हिमाल जोड्ने सेतु बन्दै धनकुटा
मधेशको महोत्तरीमा सधैंको एउटै मार- डुवान र खडेरी
खेतीमा बाँदरको अवरोध खेपिरहेको बागलुङ मासु चीन निर्यात गर्ने तयारीमा
पूर्वाधारकै अभावमा प्रदेश राजधानी सुर्खेत
बाँदर आतंक र पूर्वाधार अभावले रित्तिँदै स्याङ्जाका गाउँ
विकासका पूर्वाधार बढिरहेको मकवानपुरमा युवा टिकाउन सकस
लुम्बिनीको राजधानी दाङमा विकास अपुग
