बोलिरहँदा, रात–दिन बोलिरहँदा सकिएपछि शब्द, रड्किएपछि जिब्रो, अड्किएपछि विचारको शृङ्खला एउटा अत्यासलाग्दो शून्यताले बास गरिरहेको अनुहार लिएर उभिइरहेको छ– भित्तामा एक नेताको पूर्णकदको जुलुङ्गो । म दैनिक चारा जुटाउन ओहोरदोहोर गर्नुपर्ने बाटाको भित्तामा भएकाले जुलुङ्गो र मेरो हेराहेर साटासाट हुन्छ । उसको आशाविपरीत न सलाम–नमस्ते न कृतज्ञताको भाव, न रिस, न उत्साहमा त्यसै हिँडिदिन्छु म चुपचाप । मेरो दैनिक आगमन र प्रस्थान उसका लागि असह्य हुँदै गएको अनुमान गर्न सक्छु । यो अनुमानले पनि मेरो दैनिकी फेरिनेवाला छैन । जुलङुगो मेरा लागि फगत भित्तो भएको छ । मैले भित्तोको गौरवगानमा दुई शब्द नखर्चिएको साँचो हो । मैले भित्तोको निर्लज्जता अझ अरूलाई टड्कारो नदेखाइदिएको पनि साँचो हो ।