बाटाबाटामा उठाइएका माने, लुंदर अनि फैलिएको उपत्यका र त्यसको पृष्ठभूमिमा सुन्दर सेता हिमाल ! पूर्व र दक्षिण भेगमा दोर्जे लाक्मा र याला पिक थिए, उत्तरतिर लाङटाङ लिरुङ र गङचम्पो !
काठमाडौँ — मलाई लेकतिरको लामो यात्रामा निस्कनु एकान्तमा आफ्नो अन्तरमनलाई गहिरिएर हेर्न ध्यानमा बस्नुजस्तै लाग्छ । आफ्ना सारा तन्तुहरू फुक्का छोडिदिनु अनि खुकुलिएका तन्तुहरू पुनः समेट्नु र जोडजाड गर्नुजस्तै लाग्छ । खिया लागेका जोर्नीहरू लेकाली माटोले मस्काउनु, ध्वाँसो पोतिएका फोक्सोका भित्ताहरू भुइँ–धुपीको बास्नाले माझ्नु, गरुङ्गा सम्बन्धका आयामहरूलाई जोख्नु, तौलनु र कुदिहिँड्ने भुइँकुइरो जस्तै फुक्काफाल छोडिदिनु अनि बोकेर हजार उल्झनै सही, हिउँखोलाजस्तै अबिराम कुदिहिँड्नु ।
मलाई जीवनलाई जीवनजस्तै बाँच्न जब चाहिन्छ मानसिक सामल म पहाडतिरको लामो यात्रामा निस्कन्छु । यात्रामा म घोटिन्छु, निचोरिन्छु, कतै भरिन्छु, छरिन्छु, पुनः बटुलिन्छु र सग्लो मान्छे भएर घर फर्कन्छु । घरकाले मेरो थकित, क्लान्त शरीर देख्छन् तर म आफूमा उड्दै, तैरँदै गएको सग्लो ‘म’ देख्छु । जो संसारसँग पुनः केही दिन, केही महिना धक्कामुक्की गर्न तयार भएर आएको छ ।
मन र मगजले ऊर्जा खोजिरहेको थियो । म यात्रामा निस्कन साथी खोजिरहेको थिएँ । पुसको छोटो दिन घर्कंदै गर्दा ३ बजे अनिल बीसी र म मोटरसाइकलमा टोखाको बाटो हुँदै स्याफ्रुबेंसी लाग्यौं । काठमाडौंको भीडलाई यतै रुमल्लिन छोडेर मोटरसाइकल शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र छिरेपछि मात्रै लाङटाङ पदयात्राको रोमाञ्चक सुरुवात भएझैं लाग्यो । बालाजु माछापोखरी चोकतिर स्याफ्रुबेंसी जाने टिकट काउन्टरमा आफ्नो रुचिअनुसारका बस/जिपका ९ सयदेखि १४ सयसम्मका टिकट लिएर बस कुर्ने झन्झटबाट मुक्त म साथीले कुदाएको मोटरसाइकल पछाडि जंगलको आनन्द लिँदै थिएँ । कतै–कतै भत्के–बिग्रेको, नत्र राम्रो कालोपत्र सडक हुँदै काठमाडौं छोडेर नुवाकोट झर्न थालेदेखि बस्तीहरू देखिए । पहिले पनि निकै पटक झरेको यो बाटोले गुर्जे भन्ज्याङबाट बादलमा लुकामारी खेल्दै गरेका गणेश र लाङटाङ हिमशृंखला देखायो । हामी तिनै हिमालनजिक जाँदै थियौं । अतः लोभिएर रोकिने फुर्सद हामीलाई थिएन । दृश्यसँगै बग्दै हामी छहरेलाई छोडेर घट्टेखोलाका फाँटहरू कट्यौं र बट्टार पुग्यौं । अँध्यारो–उज्यालोको भुलभुलैयामा मग्न त्रिशूली बजारबाट अगाडि बढेपछि साढे ६ बजेतिर हामी बेत्रावती पुग्यौं । यहींबाट एउटा बाटो धुन्चे हुँदै स्याफ्रुबेंसी झर्थ्यो भने अर्को बाटो त्रिशूलीको किनारै किनार स्याफ्रुबेंसी । यो त्रिशूलीको किनारै किनार मैलुङ, हाकुबेंसी हुँदै स्याफ्रुबेंसी पुग्ने बाटो छोटो थियो, तर कच्ची बाटो भएकाले अप्ठ्यारो पनि उत्तिकै थियो । समय घर्किसकेकाले अप्ठ्यारो भए पनि हामीले छोटो बाटो रोज्यौं ।
केही समय कालोपत्र सडकमा कुदेपछि हामी धुले बाटोमा थियौं । अँध्यारो, तल खोंचमा सुसाइरहेको त्रिशूली र यदाकदा आउने ट्रकले उडाएको निसासिने धूलोका पत्रहरू एकपछि अर्को थप्दै हामी अगाडि बढिरह्यौं । कतै मोटरसाइकल भास्सिने धूलो, कतै हिलाम्मे बाटो, कतै पहिरोमा अल्झिएका झर्न ठिक्क ढुंगाको त्रासलाई छिचोल्दै राति ९ बजे हामी सुत्ने तरखरमा रहेको स्याफ्रुबेंसी पुग्यौं ।
लाङटाङ खोला र तिब्बतमा ल्हेन्दे खोलाको नामले चिनिने भोटेकोसीको संगममा रहेको स्याफ्रुबेंसी बजार छोडेर, मोटरसाइकल जाने ठाउँसम्म गएर, त्यतै होटलमा बस्ने सुरले हामी अझै अगाडि बढ्यौं । त्यो हाम्रा लागि नयाँ ठाउँ थियो, त्यसमाथि अँध्यारो भएकाले हामीले केही मेसो पाएनौं । हामी तिवारी भन्ने ठाउँमा पुग्यौं । झोलुंगे पुलपारि देखिने बत्ती नबालेको होटल हुने सम्भावनाको घरलाई छोडी अझै अगाडि गयौं । टाढाबाट झलमल्ल बत्ती बलेको घर देखियो । पुग्न हतारिँदै गयौं । त्यो त लाङटाङ खोलामा ड्याम बनाउन बस्ने कामदारको क्वाटर पो रहेछ । स्याफ्रुबेंसी छोडेर यति टाढा आएर हिस्स पर्नुपर्दा हामीलाई बल्ल दुखेको शरीर याद भयो । भोक, थकाइ र निद्रा याद भयो । उता स्याफ्रुबेंसीमा पनि होटल बन्द होलान् भन्ने डरले हामी छिटोछिटो फर्कियौं र ‘होटल ओल्ड नमस्ते’ को आँगनमा मोटरसाइकल रोकेर भित्र पस्यौं । यो अफ–सिजनमा लाङटाङ जाने यात्रीलाई पाउँदा खुसी हुँदै होटलका मालिक सोनाम छिरिङ तामाङले हतारहतार मीठो खाना खुवाए । यात्राको सिजन नभएकाले माथिका होटल सप्पै खाली–खाली हुने हुनाले बस्ने बासको चिन्ता नलिएरै जाँदा हुन्छ भने । तल बगिरहेको भोटेकोसीको मधुर स्वर, मोटरसाइकलमा पछाडि बस्दा–बस्दा कुँजिएको शरीर, भोलिको यात्राको सुखद कल्पनाको सम्मिश्रण र सहयात्रीको गन्थनले निकैबेर तन्द्राको अवस्थामा बहेली खेल्दै कति बेला निदाएछु पत्तो पाइनँ ।
भोटेकोसीको खोंचमाथिको डिलमा उभिएको होटलको झ्यालबाट उज्यालो छिरेपछि उठेर बिहानको खाजा खाई हामी हिँड्यौं । मोटरसाइकल होटलमै राखेर आएका थियौं । अब राति होटल खोज्दा छिचोलेको कच्ची सडक हामीले पैदलै हिँड्नु थियो । हिउँदको फुस्रो पहाडको काखमा बसेको यो सानो बजारलाई छोड्न हामीले पुल पार गर्यौं र पहाडलाई सिमेन्टले लिपेर सुरुङमार्ग र हाइड्रोपावरको काम भइरहेको छेवैबाट लाङटाङ खोलालाई पछ्याउँदै बढ्यौं । दुवैतिरका चट्टाने भिराला पहाडका बीचबाट बगिरहेको खोलाले आफ्नो वर्षौंको कहानी भनिरहेको थियो । उसको अनवरत खनीखोस्रीले काटेका पहाड, कुँदेका ढुंगा र सिँचेको बगरका उर्वर कथाहरू हामी हेर्दै हिँडिरह्यौं । खोलालाई हेर्दै माथि चट्टाने पहाडमा जब्बर आँटले टाँसिएर बसेका सल्लाका पोथ्राहरू खोलाजस्तै सुसाउँदै थिए । हामी तिवारी (१५५३ मि.) हुँदै खोलाको किनारमाथिको बाटैबाटो साढे १ घण्टामा दोमेन (१५६५ मि.) पुग्यौं । हाइड्रोपावरको ड्याम बन्दै गरेको ठाउँसम्म आएको कच्ची मोटर बाटो अब सकिएको थियो । केहीबेर माथि उक्लेपछि हामी झोलुंगे पुल तरेर ३/४ वटा साना घर भएको सुन्दर पहाडी खोलाको छेउमा बसेको बस्तीमा पुगेका थियौं । त्यहाँ एउटा चिटिक्कको दोमेन रिभरसाइड गेस्टहाउस थियो । त्यो फेदीको चिया पसलजस्तै गेस्टहाउसबाट बल्ल हाम्रो असली यात्रा सुरु भयो । हाम्रा अगाडि अब उकालो थियो ।
निगालाको घारी हुँदै माथि उचालिएको बाटोबाट मैले तल फेदका घरहरू हेरें । माथिबाट हेर्दा कर्कटपाताका टोपी लगाएका ती घरहरू आपसमा कुनै महत्त्वपूर्ण विषयमा छलफल गर्न लागे जस्ता देखिन्थे । लाङटाङ खोलामा अर्को लेकाली खोला मिसिएको ठाउँको बस्ती भएकाले दोभानलाई दोमेन भनिएको हो कि जस्तो लाग्यो । यहाँ उकालो धेरै चढ्नु परेन । म तेर्सो बाटोमा साथीलाई छोडेर अगाडि लागें । केही समयपछि नै रूखहरूका बीचमा बिहानको खाजा पकाइरहेको पहिरो (१७२२ मि.) देखियो । कुनै समय ठूलो पहिरो गएको ठाउँमा बसेको बस्ती हुनाले त्यस ठाउँको नाम पहिरो राखिएको रहेछ । म खोलालाई पछ्याउँदै धूवाँ आइरहेको पहिरोतिर लागें । पहिरो नजिक पुग्दा लाङटाङ खोला तर्ने काठे साँघु देखियो र त्यो तरेपछि तातोपानीको मुहान पुगिने कुरा स्थानीय ‘नमस्ते गेस्टहाउस’ का सञ्चालकले सुनाए । फर्कंदा समय भएमा यात्राको पूरा थकान तातोपानीको दहमा बसेर मेट्ने सोचें । पहिरोबाट माथि डाँडामा ठूलो स्याफ्रुका घरहरू देखिए । त्यहाँबाट च्योलाङपाटी, लौरीबिना हुँदै गोसाइँकुण्ड जाने बाटो रहेछ । पत्थरिलो भीरमा टाँसिएर बसेको पहिरोको होटललाई आफ्ना सुसेधन्दामा व्यस्त रहने समय दिएर म अगाडि बढें । पहिरोमाथिको बाटोबाट हिँड्दै गर्दा खोलापारि भीरमा महका नाङ्ला जत्रा चाका देखिए । कल्पनु र फोटो खिच्नु अनि बेन नाइटको निर्देशनमा बनेको ‘द लास्ट हनिहन्टर’ सम्झनु सिवाय अरू केही गर्न नसकिने देखेपछि साथीलाई फोटो खिचाइमाग्न कुरें । फोटोपछि पत्थरमा झुन्डिएका महका चाकालाई त्यतै छोडेर जंगलको यात्राले निरन्तरता पायो ।
मैले साथीलाई अगाडि हिँड्न पर्याप्त समय दिएँ र आफू केही पछि बसें । अब घना जंगलमा म थिएँ । पारि सेता झरना थिए, तल खोंचको खोलाको सिम्फोनी, उत्तिस, कटुस र चिलाउनेका रूख थिए । म आफैंसँग दोहोरो संवाद गर्दै, आफैंलाई खोतल्दै, बिथोल्दै, थुमथुम्याउँदै हिँडिरहें । मसँग मेरा लागि समय हुने भनेकै यस्तै फुक्काफाल हिँड्दा त हो । म नितान्त मी–टाइममा रमाउँदै हिँडे । बिस्तारै बाटो तल खोलातिर झर्न थाल्दा निगालाका झाडी देखिन थाले र पर खोलाका किनारमा घरहरू देखिए । अन्नपूर्ण आधार शिविर जाँदा पनि निगालाको घारीछेउका होटल भएको ठाउँको नाम बम्बु थियो । यहाँ पनि बम्बु (१९८४ मि.) रहेछ । निगाला र बाँसले गुजारा गर्ने रेडपान्डा अर्थात् हाब्रे कतै देखिन्छ कि भनेर चनाखो हुँदै म बम्बुतिर लागें । पहिरोबाट लगभग साढे एक घण्टामा आइपुगेछौं ।
अनिलले शेर्पा गेस्ट हाउसमा खाना भनिसकेका रहेछन् । लाङटाङ खोलाका चिल्ला ढुंगामा ठोक्किएर निस्कने सेता फिँजमा हराउँदै हामीले खाना खायौं । राजकुमार तामाङ भाइले शेर्पा, तामाङ भन्न रुचाउने लाङटाङ भेगका तामाङको कथा सुनाए । तिब्बती संस्कृतिसँग नजिकको साइनो भएको यताको शेर्पाले नागरिकतामा किचकिच भएर तामाङ लेखाएको त स्याफ्रुकै होटलमा कुरा भएको थियो । खाना खाएर गह्रौं जीउ लिएर हामी रिम्चेतिर बढ्यौं । बम्बुमाथि उत्तिसका रूखहरूसँग पहाडी खोला कुरा गर्दै रहेछ । हामीले केहीबेर काठको फट्के पुलमा बसेर खोलाको कुरा बुझ्ने जमर्को गर्यौं । उसको चालढालका केही फोटो खिचेपछि हामीले निगालो, देवदारका झ्याउ उम्रिएका रूख र खस्रुका हरिया पातले स्वागत गर्दै गरेको बाटो पछ्यायौं । हामीलाई पारि तार्न तम्तयार झोलुंगे पुलबाट तल बग्दै गरेको लाङटाङ अपलक हेरेर बस्यौं ।
कतैबाट बगिआएको हतारिएको पानी टाढा कतै जाँदै गरेको हामी सँगसँगै झोलुंगे पुलले पनि हेरिरह्यो । हामीजस्तै पुलमा बाँधिएका लुङ्दाले पनि हुत्तिँदै गइरहेको लाङटाङलाई बिदाइको हात हल्लाए । उकालो बाटोका दुवैतिर लहलहउँदा सिस्नुघारी थिए । हामी गरुङ्गो भारीमा थिचिएर उकालोमा घस्रिरह्यौं । त्यतिबेलै सिस्नु टिप्दै झरिरहेका भरिया दाइहरू भेटिए । भारी बोकेर आकाशमा पुगेर आएका दाइहरू सिस्नो तरकारी जुटाउँदै झरिरहेका थिए । अगाडि केही तेर्सो बाटो आयो, जहाँ एउटा चिटिक्कको बिसाउने चिया घर भेटियो । हामी खल्तीमा रहेको बाटोको खाजा खाँदै अगाडि बढिरह्यौं । रिम्चे पहिरो (२२५२ मि.) को संकेत चिह्नबाट अगाडि बढ्दा हामीले यसलाई हल्का लिएका थियौं । भर्खर उकालो बाटो काटेर आएको ज्यान, आँखाले नभ्याउने पहाड मास्तिरबाट खसेको सुक्खा पहिरो, पहिरोमा अझै अल्झिरहेका ढुंगाहरू, सुस्त माटो सर्दै आइरहेको देख्दा लगभग काम्ने रहेछ । माथि हेर्दै गरुङ्गो झोला बोकेर छिटोछिटो बिग्रेको बाटो काट्दा मुटु बाहिर निस्केलाझैं बज्ने रहेछ । भूकम्पको समयमा यस पहिरोमा इजरायली नागरिक परेका रहेछन् । पहिरो कटेर अलि माथि पुगेपछि त्यहाँ भित्तामा विवरण लेखिएको पढ्दा झनै सातो गयो । बाँचेर आइयो जस्तो लाग्यो । केही अगाडि रूखमा मुख कालो भएका लंगुरहरूको हूल थियो । टाढैबाट फोटो खिच्दै त्यो हूललाई छोडेर हामी दुई घण्टा १० मिनेटमा रिम्चे पुग्यौं । उकालो सकिएपछि आउने रिम्चे (२५०९ मि.) बाट हामी एक कप कफी पिएर तेर्सो लाग्यौं । यहाँबाट लामा होटल पुग्न हामीलाई ५० मिनेट लाग्यो । उत्तिसको घारीमा रहेको लामा होटल २५१५ मिटर उचाइमा रहेको छ । स्याफ्रुबाट हिँडेका मानिस बास बस्न यहीं आइपुग्छन् । हामी त्यहाँ ४ः३० बजे पुगेका थियौं । हामीले बाँकी भएको समयलाई सदुपयोग गर्ने विचार गर्यौं । आजको बास रिभरसाइड बस्ने गरी हामीले यात्रालाई निरन्तरता दियौं ।
‘रात विरात नहिँड है, भालु आउँछ,’ यतै बस भन्ने चेतावनी मिसिएको ‘लामा होटल’ का साहुजीको भनाइले हामीलाई रोक्न सकेन । ढुंगा बिछ्याइएको गोरेटोले हामीलाई बिस्तारै डोर्याउँदै लग्यो । हामी खोलालाई दाहिने पारेर हिँडिरह्यौं । लामा होटल छाडेपछि बल्ल हामीले सुन्दर हिमाल देख्यौं । मधुरो घाम देवदारका हाँगाहरूमा अल्झिएको थियो । हामी जंगलै–जंगल अँध्यारोलाई पछ्याउँदै अगाडि बढ्यौं । बिस्तारै आकाशमा जून उदायो । बत्ती नबालीकन बाटो नदेखिने भयो । हामी चुपचाप हिँडिरहेका थियौं । एक मनमा ‘लामा होटल’ मै बसेको भए पनि हुने भन्ने भाव थियो । अब हिँड्नुको कुनै विकल्प थिएन । लगभग पौने तीन घण्टा हिँडेपछि कतै पर अँध्यारोमा बत्ती देखियो । मन कुदेरै त्यहाँ पुगौं गर्दै थियो । हामी बिस्तारै उज्यालोतिर बढ्यौं र अन्तमा ‘रिभरसाइड’ (२७७० मि.) पुग्यौं ।
रिभरसाइडलाई गम्नाचोक पनि भनिँदो रहेछ । लाङटाङ खोलाको किनारमा रहेको यस होटलमा हामीले झोला बिसायौं । हामी अगेनाको वरिपरि बस्यौं । तामाङ दाइ आज त्यति बोल्ने मुडमा थिएनन् सायद । हामीले सोधेका लामा प्रश्नको उत्तर दाइले मुन्टो हल्लाएर दिएपछि झटपट दालभात र आलुको तरकारी खाएर सुत्नु नै उत्तम लाग्यो । रातभरि खोला सुसाए पनि हामी गहिरो निद्रामा परेकाले केही पत्तो पाएनौं ।
बिहान उठ्नेबित्तिकै म बाहिर निस्किएँ । हामी बसेको होटलमाथि देवदारको जंगल रहेछ र अझै माथि रूखविहीन खैरो चट्टाने पहाड । होटल अगाडिको लाङटाङ खोलाको बगरबाट केहीबेर वरिपरि हेरेपछि म फर्किएँ । चना र रोटी खाजा खाएर निस्कँदा बिहानको ८ः३२ भएको थियो । केही पर खच्चडहरू पनि हामीजस्तै बिहानको खाजा खाँदै थिए । उनीहरूले खाने चना र मकै उनीहरूकै मुखमा ट्याप्प मिल्ने बोराको झोलामा हालेर कानमाथि सिउरिदिने रहेछ । त्यसपछि उनीहरू त्यो नपोखी खाने रहेछन् । यहाँबाट अगाडि बढ्दा एउटा होटल आयो अनि ढुंगाहरूको संग्रहालय जस्तो ठाउँबाट हामी अगाडि बढ्यौं । साना पहाडी खोल्साहरूले लोभ्याएर हाम्रो गति रोकिदिए । हामी अपलक हेरिबस्यौं अनि बलैले पाइला सार्यौं । अगाडि सुन्दर खर्क आयो, जहाँबाट लाङटाङ लिरुङ झनै सुन्दर देखियो ।
हिमालको टाकुरामा घाम लागेको थियो । त्यसभन्दा मुनि खैरा, काला पहाडमा पनि घाम थियो । हामी हिँड्दै गरेको खर्क र पर देवदारका अग्ला रूखमा भने घाम आइपुगेको थिएन । यो घाम–छायाको लुकामारीले जादुयी दुनियाँको रचना गरेको थियो । खर्कमा चौंरी गाई चरिरहेका थिए । हामी १०ः५० मा घोडातबेला (३००८ मि.) पुग्यौं । विसं २०७२ को भूकम्पले घोडातबेला, थाङ्स्यापदेखि लाङटाङ गाउँसम्म असर गरेको रहेछ । पहिरोले गर्दा घरहरूमा क्षति पुगेकाले केही सारेर बस्ती पुनर्निर्माण भएको रहेछ । हामी चिसोले गर्दा जमेको हिलो माटोमा होसियारीपूर्वक हिँड्दै थियौं । पानीका खोल्साहरू जमेको किनारासँग झगडै गरेजसरी सकी नसकी जबर्जस्ती बग्दै थिए । हामी पातविहीन अनौठो देखिने रूखमुनिको प्राकृतिक स्वागतद्वार भएर १२ः२० बजे थाङ्स्याप (३२०५ मि.) पुग्यौं । यहाँ अमिलो न अमिलो डालेचुकको जुस खायौं अनि ‘खाना अर्डर’ दिएर आराम गर्न थाल्यौं । काला चट्टानको पहाडसँगै जोडिन खोज्दै बसेको यो बस्ती प्राकृतिक प्रकोपबाट सुरक्षित थिएन । दाल, भात र आलुको तरकारी थपीथपी खाएर हामी बाटो लाग्यौं । हिउँदे सुकेका पहेंला/खैरा घाँसले लाङटाङ उपत्यकालाई आफ्नो अँगालोमा बाँधेका थिए । हामी छम्कीको छिरिङ थेन्दुको ‘पिसफुल रेस्टुरेन्ट’ मा पस्यौं ।
८९ वर्षका छिरिङ थेन्दुले चौरीको दूध तताउँदै लाङटाङको कथा सुनाए । तिब्बतको केरुङमा चाड मनाउन मानिसहरू जम्मा भएका थिए । गोरु र नाक (ब्री) मारेर मासु खाने तयारी हुँदा दाम्लो छिनालेर गोरु र नाक (ब्री) त्यहाँबाट भागे । त्यो देखेर थुर्पु गेन्जेन नामको मानिस त्यहाँबाट तिनलाई समात्न पछ्याउँदै आए । लाङटाङ नाम लाङ (याक/गोरु) र ‘टाङ (पछ्याउनु) भन्ने अर्थबाट आएको हो । उनै थुर्पु गेन्जेनका सन्तान लाङटाङका बासिन्दा हुन् । यति कथा सुनाएर उनले हामीलाई कपमा दूध दिए । हामीले चौंरीको दूध खायौं । ‘अब त चौंरी निकै कम भइसके, आफू बूढो भइगैयो, नयाँले दुःख गरेर पाल्दैनन्,’ उनले दुखेसो पोखे । ‘विदेश जान तयार, नभए भारी बोक्न तयार, तर आफ्नो पुर्ख्यौली पेसा अपनाउन पछि हटिरहेका नयाँ पुस्ता नेपालका तराईदेखि हिमालसम्मै भइसकेका छन्,’ यति भन्दै म उठें । हामीले ३ सय तिर्यौं र फर्कंदा फेरि पस्छौं भनेर निस्कियौं ।
लाङटाङ गाउँ आउनुभन्दा अगाडि पहिरोले सारा गाउँलाई छोपेको ठाउँ आयो । भूकम्पमा माथिबाट हिमपहिरो झर्दा १७६ जना स्थानीय, ८० जना विदेशी, १० जना सेनाको मृत्यु भएको रहेछ । हामी गाउँ नै सखाप भएको त्यस स्थानबाट चुपचाप हिँडेर अहिले बसेको लाङटाङ (३२२० मि.) ४ः११ बजे पुग्यौं । पत्थरका दुई पहाडबीच लाङटाङ गाउँ शान्त थियो । बिस्तारै हुस्सुले ढाक्दै लगेकाले हामी यहाँ नरोकिई मुन्डु लाग्यौं । मुन्डु उक्लने क्रममा पुनः एक पटक फर्केर लाङटाङ गाउँलाई हेरें । सूर्यास्त हुँदै गरेको आकाश, हुस्सुले क्रमशः आफ्नो अँगालोमा बेर्दै लागेको पहाड र आफ्नो हृदयमा उमारेर राता भुइँ झार ! हजार पीडा लुकाएर यो सुन्दर बस्ती मुस्कुराउने चेष्टा गर्दै थियो । बुद्धका मन्त्र कुँदेका पवित्र ढुंगाको बाटो भएर हामी ‘एभरेस्ट एको लज’ मुन्डु (३२१३ मि.) पुग्यौं । भूकम्पपछि यताका लगभग सबै संरचना नयाँ बनेका रहेछन्, त्यो वैभवशाली संस्कृति सिमेन्ट र छडमा साटिएको रहेछ । अब बसेपछि मात्र चिसोको महसुस भयो । म आफ्नो कोठामा सिरकमा घुस्रिएँ भने अनिल न्यानो भान्सातिर आगो ताप्न गए । हामी नेपालीको प्रिय खाना त्यही दाल, भात खाएर त्यो रात सिरक खापेर सुतियो । झ्यालबाहिर माइनस ८ डिग्रीको चिसोको साम्राज्य थियो ।
बिहान ७ बजे उठेर शौचालय जाँदा सबै पनि जमेको रहेछ । धुवाइरहेको भान्छामा पसेर भनें । छुट्टै भाँडामा तातोपानी लिएर शौचालय गएँ । अनिल उठेपछि ब्याग कसेर तातो भान्छामै गएर बस्यौं । अब हिमपात सुरु भएपछि लगभग शून्य हुनेरहेछ गाउँ । तातोपानी दिँदै होटलकी दिदीले भनिन्, ‘कोही काठमाडौं जान्छन्, कोही स्याफ्रुतिर झर्छन् । गाउँमा बस्नै कर पर्नेबाहेक कोही हुँदैन । अहिल्यै आधा मानिस हिँडिसके ।’
चिया, खाजा खाएर हामी ८ः१६ बजे क्यान्जिन गुम्बातिर लाग्यौं । मौसम सफा थियो । पन्जाले पनि हातलाई जोगाउन हम्मे परेकाले मैले दुवै हात ज्याकेटमा हालेको थिएँ । रातिको शीत झाडीमै जमेर झाडीहरू सिसाको खेलौनाजस्ता बनेका थिए । चिसोले पाइप फुटेका ठाउँमा पानी माथिसम्म पुगेर अचम्मका हिउँका आकृति बनेका थिए । हामी घामको कलिलो किरणमा नुहाउँदै पुसको लेकको सुन्दरतामा रमाएर हिँडिरहेका थियौं ।
लगभग आधा घण्टापछि सिन्दुम (३५५५ मि.) आयो । घामको आनन्द लिँदै चरिरहेका घोडा, खच्चड र याकले हाम्रो यात्रालाई साथ दिए । ती पहेंला घाँस र झिक्राझिक्री जे भेटिन्छ, खोज्दै खाइरहेका थिए । हाम्रो बायाँ माथि विशाल पत्थरे पहाड, त्यहाँ माथि हिमाल थियो भने दायाँ तल खोंचमा खोला र अर्को पहाडको शृंखला फैलिएको थियो । हिमालको फरक भूबनोटमा हामी रमाउँदै ११ः३० बजे क्यान्जिन गुम्बा (३८७० मि.) पुग्यौं । बाटाबाटामा उठाएका माने, लुंदर अनि फैलिएको उपत्यका र त्यसको पृष्ठभूमिमा सुन्दर सेता हिमाल ! अब हिमाल हाम्रा हातैले छुने दूरीमा जत्तिकै नजिक थिए । हाम्रो पूर्व र दक्षिण भेगमा दोर्जे लाक्मा र याला पिक थिए, उत्तरतिर लाङटाङ लिरुङ, गङचम्पो थिए ।
हामी होटलतिर नछिरी सिधै लाङटाङ लिरुङ ग्लेसिएर तालतिर लाग्यौं । लगभग डेढ घण्टाको उकालो चढेपछि हामी तालमा पुग्यौं । मेरो आँखा अगाडि विशाल जमेको ताल थियो । झोला किनारामा बिसाएर म तालमा हिँड्न थालें । ठूलो र मोटो सिसाको पत्रले ताललाई ठोस बनाएको थियो । यो ग्लेसियर ताल बनेको त्यस्तै ४०/४५ वर्ष मात्र भएको एभरेस्ट एको लज मुन्डुकी साहुनीले भनेकी थिइन् । पृथ्वीको तापक्रम बढेर जन्मिरहेका यस्ता ताल फुटेर तलका बस्ती जोखिममा पनि पर्ने हुन्छन् तर यहाँ ताल पनि नफुट्ने र मज्जाले तालको प्रयोग पनि हुने काइदाको उपाय गरिएको रहेछ । यो तालबाट लाङटाङ माइक्रोहाइड्रो परियोजना चलाइएको रहेछ, जसले ११० किलोवाट बिजुली निकाल्दो रहेछ । लाङटाङ ग्लेसियरमाथिको लाङटाङ लिरुङ, अर्कोपट्टिको याला पिक अनि दोर्जे लाक्पा हिमाल हेर्दै हामीले खाना बिर्सेर दिउँसोभरि त्यही तालमा समय बितायौं । मेरो लगाम मैले मभित्रको बाल्यावस्थालाई दिएँ । मैले तालमा सुस्त हिँड्ने, कसरत गर्नेदेखि बस्ने र लडिबुडी खेल्नेसम्मका क्रीडाकौतुक गरें । बिस्तारै साँझपखको चिसो हावा र हुस्सुको आगमनले हामी तल झर्न बाध्य भयौं ।
माथिबाट देखिने रंगीन आधुनिक घरहरूको क्यान्जिन गुम्बा झरेर हामी वर्षौं पुरानो मानिने गुम्बा गयौं । स्थानीय तामाङ समुदायको धार्मिक तथा सांस्कृतिकको केन्द्र मानिने यस गुम्बाको दर्शनपछि विसं २००९ सालतिर खोलिएको चीज उत्पादन केन्द्र हुँदै होटलमा पुग्यौं । क्यान्जिन गाउँको सिरानबाट क्यान्जिन रि (४,७७३ मि.) हामीलाई हेर्दै बसिरहेको थियो । भोलि बिहान ४ बजे नै क्यान्जिन रि सूर्योदय हेर्न जाने तय भयो । होटलकी साहुनी आमा पर्सि होटल बन्द गरेर काठमाडौं जान मालताल मिलाउँदै थिइन् । उनले शेर्पा लवजमा ‘अब एक/डेढ महिना यो गाउँ खाली हुन्छ’ भनिरहँदा म सुनसान क्यान्जिन गुम्बाको कल्पना गर्न थालेको थिएँ । सेतो हिउँको बर्को ओढेको सुनसान क्यान्जिन गुम्बामा सायद हिमचितुवाको राज हुन्छ होला त्यो बेला ! खाना खाएर पैसा तिरेको एक थर्मस पानी सिराननेर राखेर हामी सुत्यौं ।
बिहान अँध्यारैमा पानी, खाजा बोकेर हामी बिहान ४ः३० बजे उकालो लाग्यौं । बिस्तारै उज्यालो हुँदै गर्दा हिमालहरूले आफ्नो चमक देखाउन थाले । हाम्रो शरीरबाट भने शक्ति निचोरिएर हामी एक–दुई पाइलापश्चात् आराम खोज्ने भइसकेका थियौं । जत्ति हिँड्दा पनि नआउने शिखर, जत्ति जोगाउँदा पनि न्यानो नहुने हात अनि जत्ति लिँदा पनि नपुग्ने प्राण वायुसँग अघोरै रिसाउँदै हामी घस्रँदै थियौं । बल्ल–बल्ल ६ः३० बजे हामी क्यान्जिन रिमा पुग्यौं ।
सूर्योदयको आभाले लाङटाङ लिरुङ हिमालमा घामका किरण पोतिए । सुनौलो आभाले यो चम्किएको देख्दा मन प्रफुल्ल भयो । लाङटाङ लिरुङ, याला पिक, दोर्जेलाक्पा अनि हिमनदी र जमेको हिमतालका साथै पूरा उपत्यका यहाँबाट देख्दा हामीले निद्रा माया मारेर यहाँ आएको सार्थक भएको थियो । हामी यात्राको समीक्षा गर्दै फोटाहरू पनि खिच्दै थियौं । दिनको २००० देखि २५०० खर्चमा ५/६ दिनमा आरामले पूरा गर्न सकिने यो यात्राको शिखरमा हामी थियौं ।
आजै हामीलाई फर्कनुपर्ने भएकाले अर्को जानैपर्ने गन्तव्य सेर्गो रि जाने योजनालाई बलैले दबायौं र तलतिर झर्न थाल्यौं । शिखरमा पुगेपछि केही क्षण रोकिने मात्रै हो, अन्ततः तल झर्नैपर्ने सत्य मनन गर्दै हामी बिस्तारै चारैतिरको सुन्दरता आँखामा कैद गर्दै झर्न थाल्यौं ।
