अन्नपूर्ण : जीवनसँग मौन संवाद

चारैतिर हिउँले ढाकिएका हिमालको विशालता, बीचमा सानो खुला मैदान र हिउँसँग पौठेजोरी खेलिरहेको देखिने सूर्यका किरणहरू– यी दृश्यले मनमा अनौठो शान्ति भरिदिन्छ ।

कार्तिक १५, २०८२

दीपकराज जोशी

Annapurna: Silent dialogue with life

अन्नपूर्ण केवल हिमाल होइन, अनुभूति पनि हो । जहाँ सेताम्मे हिउँ, खैरो रङ बोकेर उडिरहेको अल्छी बादल र घामका किरणहरू मिलेर आत्माको चित्र कोर्छन् ।

अन्नपूर्णको उच्चारण गर्नेबित्तिकै हिउँको घुम्टो ओडेको हिमालको मौनता र रंगीन सपना बोकेका मानिसहरू दृश्यमा आउँछन् । मानौं, अन्नपूर्ण कुनै भूगोल होइन, एउटा जीवित आत्मा पनि हो, जो हरेक यात्रुको भित्री संसारमा जन्मिन्छ, उसले पाइला चाल्नुअघि नै । त्यस संसारमा मान्छे र प्रकृति एउटै लयमा बाँचिरहेका छन् । यात्रु जब यात्रा सुरु गर्छ, ऊ केवल बाटो नाप्दैन, उसले आफ्नो डर, थकान र स्वप्नलाई नापिरहेको हुन्छ । अन्नपूर्ण मान्छे र प्रकृतिको सहअस्तित्वको कथा हो । यो कथा ढुंगाका सिँढीहरूमा, गुरुङ बस्तीका छानामुनि, बाटो छेउको किनारका टी–हाउसहरूमा बाँचिरहेको छ– जहाँ हरेक पाइलाले दशकौंदेखि यस पदमार्गलाई अर्थ, लय र आत्मा दिएका छन् ।

मान्छे र मिथक

अन्नपूर्ण आधार शिविरका पदयात्रीका साक्षी र समयका मौन कथाकार हुन् । साँझ ढल्कँदा गुरुङ बूढाबूढी आगो वरिपरि बस्छन् र उनीहरूका स्वरमा हिमाल, हावा र इतिहास मिसिन्छन् । ती कथाहरू केवल मनोरञ्जन होइनन्, जीवन र श्रद्धाका व्याख्या हुन् । ‘हामी अन्नपूर्ण देवीको आँगनमा बस्छौं,’ घान्द्रुककी आमा गर्वसाथ भन्छिन्, ‘देवी रिसाइन् भने हिमपात हुन्छ, खुसी भइन् भने सूर्य हाँस्छ ।’

यी विश्वासहरू वैज्ञानिक प्रमाणभन्दा गहिरा छन्, किनकि यिनले मानिस र प्रकृतिबीचको सम्बन्धलाई अनुशासन र सम्मानमा बाँधेका छन् । अन्नपूर्ण देवीलाई पूजा नगरी हिउँचुली छुन जाने मानिस फर्किंदैन भन्ने पुरानो भनाइ अझै जीवित छ । ती मिथकहरू, जुन कहिलेकाहीं अन्धविश्वासझैं लाग्छन्, वास्तवमा सहअस्तित्व र आचरणका पाठ हुन्– जुन हिमालसँग प्रतिस्पर्धा होइन, सहजीवनको चेतनाको उच्चतम बुझाइ हो । पर्यटन केवल दृश्यको कुरा होइन, विश्वासको पनि कुरा हो । मिथक र मान्छेका कथा नै गन्तव्यको आत्मा हुन् । र, साँच्चै, अन्नपूर्णको आत्मा ती मान्छेका कथा र उनीहरूको निःस्वार्थ विश्वासमै बाँचिरहेको छ, जसले हिमाललाई चट्टानको समग्रता होइन, सतत् संवादका रूपमा स्विकारेको छ ।

संस्कृति, सम्पदा र प्रकृति

अन्नपूर्णमा पाइला टेक्नेबित्तिकै संस्कृति सुगन्ध बनेर श्वासनलीमार्फत शरीरका नसा–नसा बग्न थाल्छ । ढुंगाका घरका सेता छाना, काठका बरन्डा र यात्रुको स्वागतका लागि नै फुलिरहेको जस्तो देखिने लालीगुराँस । घान्द्रुक, छोमरोङ र देउरालीका गाउँहरूलाई कुनै निश्चित भूगोल, निश्चित ठेगाना अथवा बस्तीका रूपमा मात्र बुझिए अन्याय हुन सक्छ । यी गाउँ यात्रुका लागि आत्मीयता बिछ्याइरहेका आँगन हुन्, जहाँ मान्छेहरू प्रकृतिसँग मिलेर जीवनको अर्थ लेखिरहेका छन् ।

Annapurna: Silent dialogue with life

साँझ पर्नासाथ बालबालिकाको स्वच्छन्द हाँसो, पाहुनाको ‘नमस्ते’ सहितको न्यानो आतिथ्य र चुलोबाट निस्किएको धूवाँ मिसिएर यात्राको आत्मा बन्छ । गुरुङ महिलाले चलाएका होम–स्टेमा पाहुनाले बास मात्र पाउँदैनन्, आत्मीयता पनि महसुस गर्छन् । डल्ले ढिँडो र सुकुटीको स्वाद, गुन्द्रुकको र सेल–रक्सीले थकान मेटाइदिन्छ । फेदीको हरियालीदेखि हिउँले ढाकिएको शिखरसम्म प्रत्येक पाइला प्रकृतिको क्यानभासजस्तै लाग्छ । झरनाको कलकल, लयमा बगिरहेका खोला र हिमालको मौनता ! जसले हृदय शान्त पार्छ भने स्वागत र सत्कारको शैलीले त्यस मस्तिष्कमा अर्थ भरिदिन्छ । वास्तवमै, अन्नपूर्णको सौन्दर्य दृश्यमा मात्र होइन, त्यहाँ बाँचिरहेका मान्छेका मुस्कान र संस्कृतिको सुगन्धमा भेटिन्छ ।

अन्नपूर्णवासीको अर्थतन्त्र

अन्नपूर्ण प्रकृतिको उपहार र हिमालको सौन्दर्यमात्र होइन, हजारौं जीवनको धड्कन र स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो । यहाँका गाइड, पोर्टर, होम–स्टे सञ्चालकदेखि हस्तकलाका सामग्री बनाउने र बेच्नेहरूसम्म सबैको जीविका पर्यटनसँग गाँसिएको छ । ट्रेकिङ सिजन (फागुन–जेठ र असोज–मंसिर) मा गाउँहरू जीवन्त देखिन्छन् । पाहुनाको आगमनसँगै होम–स्टेका चुलाहरूमा आगो बल्छ, विद्यालयहरू चल्छन्, बजार क्षेत्रमा चहलपहल देखिन्छ र हरेक ओडारमा हाँसोको प्रतिध्वनि गुन्जिन्छ र सपनाहरूले उडानका लागि पखेटा थप्छन् । सिजनमा एउटा सानो बस्तीको आम्दानी लाखौं रुपैयाँसम्म पुग्छ, तर अफ–सिजनमा त्यही गाउँ शान्त हुन्छ, हिमालको छायामा विश्राम लिन्छ, अर्को यात्रुको प्रतीक्षामा ।

Annapurna: Silent dialogue with life

अन्नपूर्णको बाटो ट्रेकिङ मार्ग मात्र होइन, रोजगारीको पदमार्ग पनि हो, जहाँ मान्छेले प्रकृतिसँग सहअस्तित्वका बीचमा आत्मगौरव पाउँछ । पोखराबाट सुरु हुने अन्नपूर्ण आधार शिविरको यात्रा बाटोको दूरी मात्र होइन, आत्माको पनि यात्रा हो । नयाँ पुलदेखि घान्द्रुक, छोमरोङ हुँदै देउराली र अन्ततः अन्नपूर्णको काखसम्म पुग्दा हरेक बिसौनी फरक–फरक बोकेर कुरिरहेको जस्तो देखिन्छ । अन्नपूर्णले मानिसलाई रोजगारी मात्र होइन, आँगनमै अवसर दिँदै जीवनको अर्थ सिकाएको छ । युवा अब विदेशको भन्दा अन्नपूर्णकै बाटो रोज्न थालेका छन्, किनकि यहाँ आम्दानीसँगै आत्मगौरव, स्वाभिमान र आफू जन्मिएको माटोसँगको प्रेम पनि बाँचिरहेको छ ।

बाटो, बसाइ अनुभव र मौसमको लय

अन्नपूर्ण बेस क्याम्पको यात्रा जीवनको एउटा रूपक हो, जहाँ प्रत्येक पाइलाको चाल आत्मासँगको लयात्मक संवाद हो । सातदेखि दस दिनसम्ममा सम्पन्न हुने यस यात्राको प्रत्येक दिन फरक–फरक अनुभवको अध्याय हो । पहिलो दिन हरियो खेत र जंगलको यात्रा, दोस्रो दिन झरनाको संगीत, तेस्रो दिन हिमालको उज्यालो झल्को र अन्तिम दिन आधार शिविरको मौन सौन्दर्य । अन्नपूर्णको बाटो कहिले सिँढीजस्तो उकालो, कहिले खोला पार गर्ने वायुको गतिमा हल्लरहेका झोलुंगे पुलको रोमाञ्चकताले भरिएको हुन्छ । जंगलको हरियाली, चराहरूको चिरबिराहट र हिमालको झल्कोले यात्रालाई निरन्तर जीवित राख्छ ।

यस यात्राका लागि मार्च–मे र सेप्टेम्बर–नोभेम्बर उत्तम मानिन्छ । यति बेला खुलाको मौसममा छर्लङ्ग देखिने दृश्यले मन मोहित पार्छ । हिउँदमा चिसो र हिमपातले बाटो कठिन बनाउँछ, तर शान्ति खोज्नेहरूका लागि त्यो मौसम उपयुक्त हुन सक्छ ।

दैनिक खर्च नेपाली यात्रुका लागि करिब ४–५ हजार रुपैयाँ र विदेशीका लागि ८०–१०० अमेरिकी डलरसम्म पर्छ । खर्चभन्दा महत्त्वपूर्ण शारीरिक फिटनेस, मानसिक दृढता र जिम्मेवार ट्रेकिङका सिद्धान्त लगायतको तयारी हो । यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन ‘एक्याप कार्ड’ अनिवार्य छन्, जुन पोखरा वा काठमाडौंका पर्यटन कार्यालयमा सजिलै पाइन्छ ।

पर्यटनको मूल्य पैसाले होइन, अनुभवले मापन गर्नुपर्छ । योजनाबद्ध यात्राले हरेक पैसाको मोल फिर्ता गर्छ । अन्नपूर्ण पदमार्गमा खर्चिएको हरेक रुपैयाँ, फेरिएको हरेक सास र हरेक पाइला जीवनकै एउटा लगानी हो । किनकि यहाँको यात्रा केवल शिखर पुग्ने र हेर्ने लक्ष्य होइन, ‘यात्रुहरूको मभित्रको मेरो’ मौनता भेट्ने अवसर हो, जसको मूल्य कुनै मुद्रा वा नक्सामा नाप्न सकिँदैन । अन्नपूर्णको बाटोमा हिँड्नेहरू गन्तव्यमा त पुग्छन् नै, उनीहरूले मौनता, आत्मगौरव र जीवनको साँचो सुन्दरता पनि भेट्छन् ।

वन्यजन्तु र सम्पदा

अन्नपूर्ण क्षेत्रले नेपालका पहाडी र हिमाली क्षेत्रमा पैदल यात्रा गर्न आउने विदेशी र आन्तरिक पर्यटकका लागि अविस्मरणीय प्राकृतिक अनुभव प्रदान गरेको छ । यहाँका वन्यजन्तु आँखा र क्यामेराको लेन्समा कैद गरेर रोमाञ्चकता महसुस गर्ने विषय त हुन् नै, यिनले पर्यटन उद्योगलाई समृद्ध बनाउने कडीका रूपमा पनि योगदान गरेका छन् । हिमाली खोच, घना फाँट र खोलाका किनारमा पाइने हिउँचितुवा, कस्तुरी मृग, चिरु, रंगीला मुनाल, माकुरे बाँदर, लजालु हाब्रे र विभिन्न चरा प्रजातिले पर्यटकको मन जित्छन् । कहिलेकाहीं यात्रु यिनीहरूलाई देखेर खुसीले चिच्याउँछन् तर स्थानीय गाइडहरू सम्झाउँछन्, ‘हेर्नुहोस्, तर छुनुहोस् है ।’ त्यो नै जिम्मेवार पर्यटनको पहिलो पाठ हो ।

Annapurna: Silent dialogue with life

अन्नपूर्ण क्षेत्रका वन्यजन्तु जैविक विविधता र पारिस्थितिक सन्तुलनका जीवन्त उदाहरण हुन् । हिमाली वनस्पतिका विभिन्न प्रजातिले पर्यटकलाई प्रकृतिसँग साक्षात्कार गराउँछन् ।

अन्नपूर्ण क्षेत्र धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण छ । मुक्तिनाथ र दामोदर कुण्ड जस्ता धार्मिक स्थल र लोमानथाङ जस्ता सांस्कृतिक धरोहरहरूले यस क्षेत्रमा यात्रा र आध्यात्मिक अनुभवलाई जोड दिन्छन् । हामी पर्यटक ल्याउँछौं, तर प्रकृतिलाई सम्मान गरेर मात्र यसको सुन्दरता जीवित राख्न सकिन्छ । अन्नपूर्ण क्षेत्र समग्र रूपमा जीवनको संवेदनशीलता, जैविक विविधता, सांस्कृतिक सम्पदा र पर्यटनको एक अविभाज्य संयोजनको प्रतीक बनेको छ । यसले यात्रुलाई प्रकृतिसँग जोड्ने अवसर प्रदान गर्नुका साथै प्राकृतिक संरक्षण र जिम्मेवार पर्यटनको महत्त्व पनि सिकाउँछ ।

हिमाल र इतिहास

अन्नपूर्ण प्रथम (८,०९१ मिटर) विश्वको दसौं उच्चतम शिखर हो । अन्नपूर्णको अस्तित्व मान्छे र प्रकृतिबीचको सन्तुलनको दर्शन हो । यसको शिखर र हिमालको कठोरता मानव साहसको प्रतीक बनेको छ । सन् १९५० मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अक्सिजनको सहयोगबिनै पहिलो पटक अन्नपूर्णको शिखरमा पाइला राखे, जसले प्रकृतिको कठोरतम् चुनौतीलाई मानिसले जित्ने विश्वास देखायो । अन्नपूर्ण आरोहण संसारकै सबैभन्दा जोखिमपूर्ण पर्वतारोहणमध्ये एक मानिन्छ । यस पर्वतमा मृत्यु दर करिब ३२ प्रतिशत छ, जुन ८ हजार मिटरभन्दा माथिका अन्य हिमालको तुलनामा बढी हो ।

हरेक यात्रु र आरोहीले हिमालसँग धीरता, शान्ति, डर, उत्साह र आत्म–अन्वेषणमिश्रित संवाद गर्छ । अन्नपूर्णले मानिसलाई आफ्नो शारीरिक र मानसिक सिमाना तोड्न प्रेरित गर्छ । आरोहणको प्रत्येक पाइला साहस र धैर्यको परीक्षा हो । यस यात्रामा पाइला राख्नेले केवल शिखर प्राप्त गर्दैन, आफ्नो आत्मविश्वास, सहनशीलता र जीवनप्रतिको दृष्टिकोणलाई पनि नयाँ रूप दिन्छ ।

पर्यटक संख्या र पदयात्रीको मनोभिराम

अन्नपूर्ण क्षेत्र वार्षिक डेढ लाखभन्दा बढी पर्यटकको गन्तव्य बनिरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र कार्यक्रम (एक्याप) को तथ्यांकअनुसार, असोज–कात्तिक र चैत–वैशाखमा सबैभन्दा धेरै पर्यटकलाई अन्नपूर्णले स्वागत गर्छ । अन्नपूर्णको पदमार्गमा जसले एक पटक पाइला राख्छ, उसले शिखरको दृश्यावलोकन मात्र होइन, आफूभित्रको अर्को ‘म’ पाउँछ । हिउँ, हावा र हिँडाइको त्रिकोणमा आत्मा घुल्छ । घान्द्रुकमा गुरुङसेनी आमाको हाँसो, देउरालीमा बालबालिकाका सपनाका गीत र आधार शिविरमा रातको समयमा देखिने तारामय आकाश– यी सबै यात्रुको डायरीका पाना जस्तै हुन्छन् । चारैतिर हिमालले घेरेको, मध्यभागमा सुनौलो घाम– त्यो क्षणमा हिमाल बोल्दैन तर मौनतालाई सुन्न सिकाउँछ ।

अन्नपूर्णको पर्यटन संख्या र आगमनमा भन्दा पनि गुणस्तरमा ध्यान दिने समय आएको छ । कम तर दीर्घकालीन पर्यटक, वातावरणमैत्री ट्रेकिङ र स्थानीय समुदायलाई प्रत्यक्ष फाइदा पुर्‍याउने पर्यटकीय मोडेल नै भविष्यको दिशा हो । अन्नपूर्णको यात्रा अनुभवको गहिराइ हो– जहाँ सौन्दर्य, चुनौती र आत्म–अन्वेषण घोलिएको हुन्छ । हरेक दृश्य र अन्तरमनको आवाजले यात्रुलाई हिमालसँग संवाद गराउँछ र अन्ततः सिकाउँछ : सुन्दरता केवल दृष्टिमा होइन, अनुभूति र संवेदनामा बाँच्छ । यही भावनाले अन्नपूर्णलाई ट्रेकिङ प्रेमीका लागि अविस्मरणीय गन्तव्य बनाएको छ ।

अन्त्यमा,

अन्नपूर्ण आधार शिविर पुग्दा यात्रु आफ्नो भित्री संसारसँग संवाद गर्न बाध्य हुन्छ । चारैतिर हिउँले ढाकिएका हिमालको विशालता, बीचमा सानो खुला मैदान र हिउँसँग पौठेजोरी खेलिरहेको देखिने सूर्यका किरणहरू– यी दृश्यले मनमा अनौठो शान्ति भरिदिन्छ । सूर्यको किरणले हिउँको सतह सुनमा परिणत हुन्छ । हावा पातलिँदै जान्छ, तर मन अझ भारी हुन्छ– सौन्दर्य र सन्तुष्टिले, अनि यात्राको गहिरो अनुभवले । अन्नपूर्णको यात्राले मान्छे र प्रकृति अलग छैनन्, उनीहरू एउटै सन्तुलनका दुई पक्ष हुन् भन्ने बोध गराउँछ । नेपालका हजारौं सम्भावनाबीच अन्नपूर्ण एउटा प्रतीक बनेको छ । आकाश टेकेर उभिएका हिमालहरू मान्छेको सपना जस्तै देखिन्छन् र ती सपनाहरू सदियौंदेखि हिमालभित्र गुन्जिरहेका छन् । यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक गहिराइले यात्रुलाई केवल बाहिरी दृश्य होइन, भित्री अनुभूतिको आभास गराउँछ ।

- जाेशी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन् 

दीपकराज

Link copied successfully